January 24, 2022

Halkhabar kura

Entertainment Site

स्वास्थ्य उपकरण तत्कालै प्रदेश र जिल्लामा र्पुयाउन सरकारलाई प्रतिपक्षी कांग्रेसको आग्रह

1 min read

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण तथा उपाचारका लागि चीनबाट ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेश र जिल्लामा र्पुयाउन आग्रह गरेको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरि देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणको यथाशिघ्र व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।

खाणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुको आत्मबल बढाउने काम गर्न पनि स्वास्थ्यमन्त्रीलाई आग्रह गर्नुभएको छ । त्यस्तै निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराइ कोरोना रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउन सुझाव पनि खाँडले दिनुभयो ।

जवाफमा स्वास्थ्य मन्त्री ढकालले नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु आज बिहानबाट वितरण भइरहेको र साँझसम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लाहरुमा वितरण भएको बताउनुभएको थियो । त्यस्तै, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारले हालै घोषणा गरेको राहत प्याकेज अमूर्त भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाकी सदस्य समेत रहेकी डा. संग्रौलाले प्रेस विज्ञप्ति मार्फत् यस बारेमा स्पष्ट पार्न आग्रह गर्नुभएको हो ।

सांसद संग्रौलाले संगठित क्षेत्रका दैनिक ज्यालादारी मजदुरहरूका बारेमा लिएको निर्णय प्रष्ट नभएको भन्दै तत्काल यसलाई प्रष्ट पार्न आग्रह गर्नुभएको हो ।  उनले टास्क फोर्स निर्माण गरी राहत प्याकेज वडादेखि घरघरमा र्पुयाएमा मात्रै सरकारी घोषणाको वास्तविक कार्यान्वयन सम्भव रहेको उहाँले बताउनुभयो ।

यसैबिच, नेपाल प्रेस युनियले कोरोना संक्रमणका समयमा रातदिन खटिने पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।  एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना संकलन र सम्प्रेषणमा तल्लीन रहेकाले उनीहरुको राहतका लागि विशेष प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिएको छ ।

प्रेस युनियनले यस संक्रमण अवधिका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन र उक्त राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाव दिएको छ ।

दैनिक फिल्ड र कार्यालयमा कार्यरत सञ्चारकर्मीका लागि पनि कोरोना भाइरसको संक्रमणबाट सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन र आकस्मिक उद्धारको व्यवस्था गर्नसमेत प्रेस युनियनले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.