October 19, 2021

Halkhabar kura

Entertainment Site

केपी ओलीले सोधे, ‘गोप्य सूचना चुहाउने को हो ?’

1 min read

कुसुम भट्टराई – यो प्रसँग त्यतिबेलाको हो, जब केपी शर्मा ओली नेकपा (एमाले)को पोलिटब्युरो सदस्य थिए । एमालेमा तात्कालीन महासचिव मदन भण्डारी र अर्का नेता सीपी मैनालीबीच कार्यनीतिक र रणनीतिक सवालमा बैचारिक मतभेद चलीरहे पनि टनकपुर सन्धीका हकमा दुबै नेताको एउटै स्वर थियो, ‘यो राष्ट्रघाती हो ।’

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणका क्रममा टनकपुर सन्धी गरेका थिए । तात्कालीन ‘नेपाल अधिराज्यको संविधान–२०४७’को धारा १२६ मा कुनै पनि विदेशी मुलुकसँग दिर्घकालीन सन्धी गर्दा प्रतिनिधिसभाको दुई तिहाई बहुमत आवश्यक पर्ने प्रावधान थियो ।

सोही कारण कोइरालाले ‘टनकपुर सन्धी हैन, समझदारी हो’ भन्ने दाबी गरी रहे । सर्वोच्च अदालतले ‘टनकपुर समझदारी नभई सन्धी नै भएको’ ठहर गरेपछि कोइराला संकटमा परे । तैपनि उनले समझदारी नै दाबी गर्दै त्यसलाई संसदको सामान्य बहुमतले पारित गर्ने प्रक्रिया थाले ।

मदन भण्डारी टसको मस भएनन् । २०४९ सालतिर तात्कालीन जलश्रोत मन्त्री लक्ष्मणप्रसाद घिमिरेले सामान्य बहुमतबाट पारित गराउने उद्देश्यले संसदमा टनकपुर सन्धीको प्रस्ताव पेश गर्ने कार्यसूची संसद सचिवालयमा टाँसियो । त्यो बिहीबारको दिन थियो ।

यो पँक्तिकार त्यसबेला जनार्दन आचार्यको सम्पादकत्वमा प्रकाशित हुने ‘नेपालीपत्र साप्ताहिक’मा केन्द्रीय प्रतिनिधि थियो । नेपाली मिडियामा तिनताक मोफसलका पत्रकारलाई ‘हाम्रा जिल्ला प्रतिनिधि’ र काठमाडौंमा कार्यरत पत्रकारलाई ‘केन्द्रीय प्रतिनिधि’ भन्ने आम प्रचलन थियो ।

हरेक शुक्रवार प्रकाशित हुने नेपालीपत्रका लागि बिहीबार राति अबेरसम्म खटिनुपथ्र्यो । सरकारले टनकपुर सन्धी सामान्य बहुमतले पारित गर्ने गरी कार्यसूची ल्याएपछि प्रमुख प्रतिपक्षी एमालेको पोलिटब्युरो बैठक बस्यो । अपराह्ण चार बजेतिर समाप्त भएको पोलिटब्युरो बैठकले शुक्रवार संसदमा अपनाइने रणनीतिबारे बडा गोप्य, तर महत्वपूर्ण निर्णय गरेको थियो ।

‘कुसुम आज केही समाचार छैन ?’, जनार्दन दाइले सोधे ।
‘६ बजेसम्म केही आउलाजस्तो छ दाई’, पँक्तिकारले भन्यो ।

६ बजेतिर पँक्तिकारले ‘विश्वस्त सूत्र’ अर्थात पोलिटब्युरोकै एक सदस्यलाई फोन ग¥यो । तिनले ‘स्कुप न्यूज’ नै दिए । पोलिटब्युरोले शुक्रबारको संसद बैठकमा टनकपुर सन्धी सामान्य बहुमतले पारित गर्न जलश्रोत मन्त्री घिमिरे रोष्ट्रममा उभिनासाथ होहल्ला गर्ने, प्रस्ताव पेस गर्नै नदिने, नाराबाजी गर्ने, परेमा तोडफोडदेखि व्यापक लफडा मच्चाउने निर्णय गरेको रहेछ ।

पँक्तिकारले न्यूजप्रिन्ट कागजमा निलो डटपेनले करिब चार पृष्ठ समाचार लेखेर स्टीच मारी सम्पादक जनार्दन आचार्यको टेबलमा राखिदियो र भन्यो, ‘शीर्षक दाजुले नै राख्नुहोला ।’

सरर समाचार पढिसकेपछि सम्पादक आचार्य चकित परे । विश्वास गरेर समाचार प्रकाशन गर्न सहमत पनि भए । अनि शीर्षक राखिदिए, ‘आज सांसदले मन्त्रीको माइक खोस्ने, रोष्ट्रम घेराउ र नाराबाजी हुने ।’

शुक्रबार नेपालीपत्रको ब्यानर न्यूजले सनसनी फैलायो । तिनताक कान्तिपुर दैनिकलगायत अहिलेका कुनै पनि मिडिया प्रकाशनमा आइसकेका थिएनन् । सरकारी संचारमाध्यम गोरखापत्र र नेपाल टेलिभिजन अनि केही साप्ताहिक पत्रिकाहरु मात्र थिए ।

नेपाली पत्रकारितामा त्योबेला शुक्रबार प्रकाशित हुने ‘नेपालीपत्र’ र ‘विमर्श’ नै मुलधारका मानिन्थे । ‘विमर्श’मा एमाले पोलिटब्युरोका निर्णयबारे कुनै खबर थिएन । नेपालीपत्रले बाजी मारेको थियो ।

नेपालीपत्रका अर्का जल्दाबल्दा पत्रकार राजकुमार रेग्मी र यो पँक्तिकार बिहान ११ बजेबाट प्रारम्भ हुने प्रतिनिधिसभा वैठकमा गइयो । पँक्तिकारको मुटु ढुकढुक गरिरहेको थियो, कतै समाचार झूठो साबित हुने त हैन ?

तत्कालीन सभामुख दमननाथ ढुँगानाले संसदको कारबाही सुरु गरे । जलश्रोत मन्त्री घिमिरेलाई टनकपुर सन्धीसम्बन्धी प्रस्ताव पेस गर्न भने । जसै मन्त्री रोष्ट्रममा पुगे, एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर नारा लगाउन थाले, ‘देश बेच्न पाँइदैन, टनकपुर सन्धी चाहिँदैन’

नाराबाजीका साथ रोष्ट्रम घेर्दै एमालेका सांसदहरुले मन्त्रीलाई प्रस्ताव पेस गर्नै दिएनन् । सभामुख ढुँगाना चुपचाप आफ्नो कु्र्सीमा बसीरहे, उनले कुनै रुलीङ पनि गरेनन् । संसदमा लगातार आठ घन्टासम्म नाराबाजी चलीरह्यो । मन्त्री घिमिरेले प्रस्ताव पेश गर्नै पाएनन् । संसद चल्नै सकेन । राति करीब १२ बजेसम्म नाराबाजी भयो । सभामुखले नाराबाजी सुनीरहे । मध्यरातमा संसद स्थगित भयो ।

नेपालीपत्र हाइहाइ भयो । सबैले पँक्तिकारलाई बधाई पनि दिए । सम्पादक आचार्यको सिफारिशमा प्रकाश कमल जोशीले मेरो मासिक तलब १२ सयबाट १५ सय बनाइदिए । त्यो बेला मासिक ३ सय बढ्नु चानचुने कुरा थिएन, किनकी घरभाडा नै अढाइ सय थियो । अनि ३५ रुपैयाँमा आउँथ्यो, एक क्वार्टर भोड्का ।

जे होस्, अर्को दिन एमाले नेताहरुबीच एउटा बिषयले निकै चर्चा पायो । तिनताक एमाले पोलिटब्युरोमा त्यस्तै आठ–दश जना मात्र सदस्य हुन्थे । निकै गोप्य भनिएको निर्णय नेपालीपत्रको प्रमुख समाचार कसरी बन्यो ? भन्ने प्रश्नले नेताहरुबीच आपसमै शंका उपशंकाको वातावरण उत्पन्न गरिदियो । त्यसपछि पोलिटब्युरो सदस्य केपी शर्मा ओलीको संयोजकत्वमा ‘गोप्यता भंग अनुसन्धान समिति’ गठन गरियो । ओली पार्टीका गोप्य सूचना चुहाउने ‘विभिषण’हरुको खोजीमा जुटे ।

केही दिनपछि प्रतिनिधिसभा भवन (ग्यालरी बैठक)भन्दा पूर्वतर्फ राष्ट्रियसभा भवन मुनी बिएल शर्माले ठेक्कामा चलाइरहेको सांसदहरुको चमेनागृहमा यो पँक्तिकारसँग एमाले गोप्यता भंग अनुसन्धान समितिका संयोजक केपी ओलीको जम्काभेट भयो ।

‘पत्रकार महोदय यहाँ आउनुस् त’, ओलीले डाके ।
पँक्तिकार ओली बसीरहेको कुर्सीनेर गयो । उनले छेउमै बस्न आग्रह गरे ।

‘त्यो सांसदले माइक भाँच्ने, नाराबाजी गर्ने भन्ने पोलिटब्युरोको समाचार तपाईलाई कसले दिएको हो, भन्नुस् त’, ओलीले सोधे ।
‘हेर्नुस् कमरेड, जसले दिए पनि मैले भन्न मिल्दैन । उनी मेरा समाचार श्रोत हुन्, समाचार श्रोतको नाम तपाईलाई बताउँदा एकातिर मेरो समाचार श्रोत सुक्छ, अर्कोतिर समाचार श्रोतप्रति मैले गद्दारी गरेको ठहर्छ’, मैले भनें ।

ओलीले लालमोहन मगाएर भने, ‘खानुस् न, निमकीन पनि मगाउँ ?’
‘मैले भर्खरै पाउरोटी र अन्डा खाइसकेको छु, लालमोहन नखाउँ क्यार’, मैले भनें ।
‘तपाई त रामचन्द्र भट्टराईको छोरा । उहाँ पार्टीमा कति मेहनतका साथ सक्रिय हुनुहुन्छ, अनि तपाइ चाहिँ त्यति पनि सहयोग नगर्ने ?’, ओलीले फकाउने लवजमा भने ।

‘मेरो बुबा एमालेमा हुनुहुन्छ, तर म एमालेको कार्यकर्ता हैन, विशुद्ध पत्रकार हुँ । पत्रकारले भोलि के हुँदैछ भनेर आफ्नो श्रोत पत्ता लगाएर समाचार लेख्छ भने त्यो त मेरो खुबी हो नी कमरेड’, मैले भनें ।

‘हेर्नुस्, सवाल गम्भीर छ, गोप्य सूचना कसले चुहायो, तपाइले भन्नैपर्छ, पार्टी, क्रान्ति र जनवादको भविष्यको सवाल छ’, ओलीले भने ।
म टसकोमस भईन । मबाट ‘विश्वस्त सूत्र’को नाम अर्थात मलाई सूचना दिने पोलिटब्युरो सदस्यको नाम फुत्काउन नसकेपछि ओली निन्याउरो मुख लगाउँदै, मलाई हल्का घुरेर आफ्नो बाटो लागे ।

त्यो दिनदेखि ओलीसँग मेरो कहिल्यै दोहोरो भेटघाट, निकटता पनि भएन । उनले आफलाई सहयोग नगरेको त्यही तुस ममाथि राखीरहे । र, एमालेले सूचना चुहाउने पोलिटब्युरो सदस्यको नाम पत्ता लगाउन पनि सकेन । त्यो रहस्य यो पँक्तिकारकै स्मृतीको ‘लकरमा सेफ’ छ, सेफ रहीरहनेछ ।

मानौं, त्योबेला समाचार श्रोत खुलाइदिएर ओलीसँग हिमचिम बढाएको भए, उनको चाकडी गरेको भए, उनको वृत्तमा घुसेको भए सायद अहिले उनी प्रधानमन्त्री भएको बेला लाभका अवसरहरु पक्कै पाउँथे होला । तर, पत्रकारिताको धर्म, सत्य, निष्ठा र समाचार श्रोतले आपूmमाथि गर्ने विश्वासलाई मैले धरमराउन दिइन ।

केही समयपछि दासढुँगामा मदन भण्डारीको रहष्यमय दुर्घटना भयो ।

कालान्तरमा टनकपुर सन्धीलाई एमालेकै नेताहरु माधव नेपाल, केपी ओली आदिले ‘महाकाली प्याकेज’का रुपमा महाकाली सन्धीका रुपमा पारित गर्ने कुरा अघि सारे । सोही विषयलाई लिएर एमालेभित्र विवाद सुरु भयो । माधव नेपाल र केपी ओली सन्धीको पक्षमा खडा भए ।

बामदेव गौतम र सीपी मैनाली सन्धीको विपक्षमा । पार्टीमा यो बिषयलाई लिएर ठुलै विवाद भयो । अन्ततः २०५३ साल असोज ४ गते नेपाली कांग्रेस र एमालेको ‘प्राविधिक बहुमत’का आधारमा संसदबाट महाकाली सन्धी पारित गरियो ।

एमालेभित्र त्योबेला रोपिएको विवाद र गुटबन्दीको वृक्ष अहिले झन् धेरै झाँगीएको छ ।

 

साभार – ईमाउन्टेन टिभीबाट