October 22, 2020

Halkhabar kura

Entertainment Site

फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीको ‘उर्जा’ परिवारको साथ

‘छोराले कोराना संक्रमितको उपचार गरेको देखेर खुशी छु’

‘मेरो छोराले बिरामी, अशक्तको सेवा गरोस् भनेर डाक्टर बनाएँ, अहिले कोरोना महामारीमा दिनरात, भोक निन्द्रा नभनेर खटिएको छ, कोरोना संक्रमितको सेवा गरेको छ, म त एकदम खुशी छु, आफूलाई भाग्यमानी ठान्छु’, रााष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका प्रमुख तालिम अधिकृत समेत रहनुभएका आयुर्वेद चिकित्सक डा. निर्मल भुसालकी आमा हिमाकुमारीको भनाइ हो ।

छोराले कोराना संक्रमितको उपचार गरेको देखेर हिमकुमारी हर्षित छिन् ।

‘मलाइ मेरो छोराको डर, पिर लागेर घरमै राखेमा बिरामीको उपचार कस्ले गर्छ ? आफूमात्रै जोगिएर भएन अरुलाई पनि जोगाउनुपर्‍यो/बचाउनुपर्‍यो त्यसैले म त आफ्नो ख्याल गरेर काम गर, बिरामीको राम्रोसँग हेरचाह गर र निको बनाउ भन्ने गर्छु’, उनले भनिन् ।

हिमकुमारी आफ्ना छोराले जस्तै कोरोना संक्रमितको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीहरुप्रति कृतज्ञ छिन् ।

‘स्वास्थ्यकर्मीको हेरचाहले सबै कोरोना संक्रमित निको होउन्, कसैको पनि दुःखद खबर सुन्नु नपरोस’, उनी भन्छिन्, ‘चिकित्सकहरु पनि संक्रमित भए भन्ने सुनेकी छु, सबैले ख्याल गरेर काम गर्नुपर्छ ।’

आमाको यस्तो साथ र कामनाले डाक्टर निर्मलको छाती फूलेर आउँछ । उनी हरेक दिन कोरोना संक्रमितको उपचारमा खटिएका छन्। । ‘आमा लगायत घरका सबै परिवारको यस्तो बोलीले मलाई झन् काम गर्ने प्रेरणा मिल्छ ।’

कोरोना संक्रमणविरुद्ध फ्रन्टलाइनमा खाटिएर काम गरिरहेका आफूहरुलाई परिवारका सदस्यको साथले आत्मबल र प्रेरणा थपेको डा. भुषाल बताउँछन्।

‘महामारीविरुद्ध लडिरहेको छोराप्रति मेरो सम्मान छ’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुनलाई पनि घरपरिवारको पूरा साथ र सहयोग छ ।

उनका बुवा हरिलाल भन्छन् ‘आफ्नो ख्याल गर्दै सुरक्षित बनेर बिरामीको उपचारमा खटिनु स्वास्थ्यकर्मीको पहिलो कर्तव्य हो, त्यो कर्तव्य मेरो छोराले पनि पूरा गरिरहेको छ । महामारीविरुद्ध लडिरहेको छोराप्रति मेरो सम्मान छ ।’

७० वर्षका उनले विषम परिस्थितिमा चिकित्सकहरुले आफ्नो पनि ख्याल गर्दै बिरामीको उपचारलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा राम्रोसँग बुझेका छन् ।

‘संकटकै बेला हो चिकित्सकले आफ्नो काम र इमान्दारिता देखाउने, यो बेला स्वास्थ्यकर्मीले काम नगरे बिरामीहरुको अवस्था के होला’, उनी भन्छन् ‘म त मेरो छोरालाई इमान्दारिताका साथ आफ्नो कर्तव्यमा होमिन भन्ने गरेको छु, सँगै सावधानी पनि अपनाउन उत्तिकै सुझाउने गरेको छु ।’

बुवाको यो उत्साह र प्रोत्साहनले आफूलाई कामप्रतिको जिम्मेबारीवोध थप बढ्ने गरेको डा. पुन बताउँछन् । ‘बुवाको प्रेरणाले मलाई कोरोनाविरुद्ध खटिन थप शक्ति मिलेको छ’, डा. पुन भन्छन् ।

‘मामु खुशी हुनुहुन्छ, म पनि खुशी छु’

‘मेरो मामुले कोरोना संक्रमितको उपचारमा दिनरात नभनी खटेर काम गरेको देख्दा मलाई ‘प्राउड फिल हुन्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी आइसीयू इन्चार्ज नर्स उषादेवी देवकोटाकी छोरी एलिसा अधिकारीले मुस्कुराउदै भनिन् ।

‘मेरो बुवा हुनुहुन्न सिंगल मम हो डर त एकदम लाग्छ तर म डराएर हुँदैन उहाँको काम नै त्यही हो, मैले मामुको काम स्विकार गरिसके । मामुले मलाई भन्दा बढी बिरामीलाई समय दिनुपर्छ र यो गर्दा मामुलाइ खुशी मिल्छ, मामुको खुशी नै मेरो खुशी हो’, २४ वर्षीया एलिसाले सुनाइन् ।

दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिने आफ्नी आमाबारे साथीहरुले गरेको तारिफ सुन्दा एलिसा झनै हर्षविभोर हुन्छिन्।

‘साथीहरुले बेला–बेला मामुको तारिफ गर्छन् त्यतीबेला त झनै खुशी लाग्छ’, उनले भनिन्, ‘साथीहरुले कोरोना लागि हाले पनि एलिसाको ममीले ख्याल गरिहाल्नु हुन्छ नि भन्दा मन चंगा हुन्छ, मामुको काम सम्झेर धेरै खुशी लाग्छ।’

कोरोना संक्रमण रोकथाममा खटिएका चिकित्सकलाई केही समययता डेराबाट निकाल्ने, छरछिमेकीले फरक व्यवहार गर्ने गरेका घटनाहरुबारे पनि एसिला जानकार छिन् । तर आफ्नो परिवारले भने त्यस्तो भोग्नु नपरेको उनले बताइन् ।

उषादेवीलाई गोरखाबाट आमाले फोन गरी बरु जागिर छाडेर घरमै आउन नभनेकी पनि होइनन् । तर आफ्नो काम र पेशाबारे राम्रोसँग बुझाएपछि आमाको चिन्ता पनि बिस्तारै हट्दै गएको उनले सुनाइन् । उषादेवीले भर्खरैमात्र १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेकी छिन् ।

‘छोराको काम नै बिरामीको उपचार गर्ने हो, गरेको छ’

‘छोरा पढेलेखेर डाक्टर बन्यो, अहिले बिरामीको सेवामा लागिरहेको छ, यो देखेर म खुशी छु’, युनिभर्सल मेडिकल कलेज भैरहवामा कार्यरत डा. प्रशान्त घिमिरेको बुवा गोपाल भन्छन्। ‘छोराको काम नै बिरामीको उपचार गर्ने हो, महामारीमा त झन डाक्टरहरुको भूमिका अपरिहार्य हुन्छ, यो बेला सजग भएर काम गर्न भनिरहेका हुन्छौँ’, ५७ वर्षका गोपालले थपे ।

उनी अगाडि भन्छन्, ‘छोरा बिरामीको उपचार सकेर घरमै आउने गरेको छ, कपडाहरु फेरेर नुहाएर मात्रै घरभित्र पस्ने गरेको छ, सावधानी अपनाएको छ।’

‘संक्रमण भएर निको भएका बिरामी पनि देखेका छौँ, केहीको दुःखद मृत्यु पनि हुने गरेको छ, डर त लाग्छ तर छोराको हौसला कम गर्ने काम हामीबाट भएको छैन’, गोपालले भने ।

‘उहाँले आफ्नो कर्तव्य पूरा गर्नै पर्छ’

जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मा पनि कोरोना संक्रमित बिरामीको उपचारमा खटिरहेका छन् । उनी पनि संविधान दिवस (असोज ३) का अवसरमा प्रदान गरिने प्रवल जनसेवा श्री (चथुर्त) द्वारा सम्मानीत भएका छन्।

डा. रुपचन्द्रलाई पनि कोरोना संक्रमितको उपचारमा खटिन परिवारको साथ छ । उनकी श्रीमती मिना भन्छिन् ‘बाजुरा भौगोलिक हिसावले दुर्गम मानिएको जिल्ला त्यहाँ रहेर संक्रमितको सेवामा अहोरात्र खटिनु गाह्रो छ तर पनि खटिनैपर्छ र उहाँले आफ्नो कर्तव्य पूरा गर्नै पर्छ’ ।

सुरुसुरुमा निकै डर लाग्ने मिनालाई आजभोलि आफ्ना श्रीमान् उपचारमा खटिएको खटिएको देख्दा निकै खुशी लाग्छ । २८ वर्षकी मिनासँग छोराछोरीलाई सुरुवातका केही दिनमा छिमेकीले विभेद गर्ने, आफ्ना छोराछोरीसँग खेल्न नदिएको नमिठो भोगाइ पनि छ ।
तर आजभोलि त्यो विभेद हट्दै गएको उनले बताइन् ।

‘समय जोखिम र डरलाग्दो आयो भनेर पेशा नै छोड्न मिलेन’

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. नवराज केसीको परिवारले पनि उनलाई राम्रो साथ दिएको छ ।

उनकी श्रीमती २९ वर्षकी अर्चना कार्की भन्छिन् ‘समय जोखिम र डरलाग्दो आयो भनेर पेशा नै छोड्न मिलेन, भाग्न मिलेन, यो समय खटेर बिरामीको सेवा गर्ने हो उहाँले पनि यसैगरी गर्नुभएको छ म खुशी नै छु ।’

स्वास्थ्यकर्मीको परिवारले यस्तो बेलामा थप साथ र हौसला दिनुपर्ने उनको सुझाव छ । ‘घरपरिवारको साथले झन् उहाँहरुलाई काममा प्रेरणा थपिन्छ’, उनी भन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *