November 28, 2021

Halkhabar kura

Entertainment Site

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

1 min read

एजेन्सी । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। मुख्य सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका छन्। स्वास्थ्य अधिकारीले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ४६१ जनाको अवस्था चिन्ताजनक छ।

पाँच हजार ७९४ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। कोरोना भाइरसका कारण मृत्यु हुने अधिकांश उहान र हुबेई प्रान्तका छन्। यसैबीच अन्य देशहरुमा पनि कोरोनाका संक्रमितहरु लगातार बढ्दै गएका छन्। थाइल्याण्डमा आठजना कोरोना भाइरस संक्रमित भेटिएको त्यहाँका उपप्रधान एवं जनस्वास्थ्यमन्त्री अनुतिन चार्नविराकुलले पुष्टि गरेका छन्। तीमध्ये पाँचजना उपचारपछि घर फर्किएका छन् भने तीनजनाको उपचार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनबाहेक एक दर्जनबढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्ट्रेलियामा तीनजना, हङकङमा आठजना, जापानमा चारजना, मकाउमा पाँचजना, मलेसियामा चारजना, सिंगापुरमा चारजना, दक्षिण कोरियामा तीनजना, ताइवानमा चारजना, अमेरिकामा पाँचजना र भियतनाममा दुईजनामा कोरोना भाइरस पुष्टि भएको छ। नेपालमा पनि एकजनामा कोरोना भाइरस पुष्टि भएको अधिकारीहरुले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए।

विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए। चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको कडाइका साथ स्वास्थ्य परीक्षण भई रहेको छ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ । यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

Leave a Reply

Your email address will not be published.