November 28, 2021

Halkhabar kura

Entertainment Site

सम्धीको आज साइत

1 min read

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको बैठक आज अपरान्ह डाकिएको छ । हिजो अर्थमन्त्री युवराज खतिवडाको मन्त्रीस्तरीय निर्णयबाट बैंक सञ्चालकमा नियुक्त रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी डा.उपेन्द्रकुमार कोइरालालाई औपचारिक रूपमा अध्यक्ष बनाउने प्रस्ताव आजको बैठकमा प्रस्तुत हुने बुझिएको छ ।

यसअघि अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई राजश्व बोर्डको सदस्यमा हुत्याएर रिक्त बनाएपछि हतार हतारमा कोइरालालाई नियुक्त गरिएको हो । ढिलोमा भदौ २० गतेसम्म पदमा रहने सम्भावना बढ्दै गएका अर्थमन्त्री र मन्त्रीमण्डल पुनर्गठनमा बाहिरिनसक्ने आँकलन गरिएका रक्षामन्त्रीको ग्राण्ड डिजाइनमा अधिकारीलाई हुत्याइएको र सम्धीलाई भित्र्याइएको स्रोतको दाबी छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को दफा १४ (५) मा ‘सञ्चालकले आफूमध्ये बहुमतबाट छानेको व्यक्ति सञ्चालक समितिको सदस्य हुने’ व्यवस्था रहेकाले बैंकले अर्थ मन्त्रालयको ग्रिन सिग्नल आएपछि आजै समितिको बैठक डाकेको हो ।
सरकार नियन्त्रित बैंकमा मन्त्रीको चाहनाबमोजिम नियुक्त भएका समितिका अधिकांश सदस्य उनीहरूको आदेश शिरोधार्य गर्न बाध्य हुने भएकाले आजको बैठकबाट औपचारिक रूपमा कोईराला अध्यक्ष बन्नेमा कुनै शंका छैन । सञ्चालकको कार्यकाल चार वर्ष हुने भएकाले अब कोइरालाले पनि चार वर्ष सरकारी बैंकको अध्यक्षमा रजगज गर्नेछन् ।

यतिखेर सञ्चालक समितिमा अर्थ मन्त्रालयको बजेट महाशाखाका हाकिम धनीराम शर्मा, चार्टर्ड एकाउण्टेण्ट जनककुमार बराल, प्रोफेसर डा. राजनबहादुर पौडेल, प्रोफेसर डा. माधवप्रसाद दाहाल, श्रीमती रोमिला ढकाल उप्रेती र सीईओ किरणकुमार श्रेष्ठ छन् ।

पौडेल र खतिवडा कुनै जमानामा महेन्द्र मोरङ्ग क्याम्पस, बिराटनगरमा सँगै पढाउँथे । चार दशकअघि खतिवडा नेपाल राष्ट्र बैंकमा छिर्नुअघि त्यहाँ पौडेलसँगै पढाउँथे । त्यहि नाताले खतिवडाले रिटायर्ड प्रोफेसरलाई सदस्यमा नियुक्त गरिदिएर बुढेशकालमा यसो टहलिने मेसो मिलाइदिएका हुन् । रोमिला पनि झापातिरैकी भएकीले त्यहाँ लगिएको स्रोतले बताएको छ ।

अध्यक्षलाई बैठक भत्ता, महँगो सवारी साधन, टेलिफोन, पत्रपत्रिकालगायत अन्य केही सुविधा मात्र प्रदान गरिन्छ । तर, दुष्कर्म गर्न खोज्नेलाई भने सरकारी बैंकको अध्यक्षको पद मालामाल हुने विगतले समेत पुष्टि गरिसकेको छ । दुई खर्ब २० अर्ब रूपैयाँभन्दा बढीको निक्षेपमा नजर लगाउँदै लगिएका र गएका कोइरालाको विगत समेत विवादास्पद देखिएकाले हिजो साँझदेखि त्यहाँका कर्मचारीलाई बैंकको दुई नम्बरी कर्जा बढ्नसक्ने भयले गाँजेको छ ।janaaastha

Leave a Reply

Your email address will not be published.