September 24, 2021

Halkhabar kura

Entertainment Site

डाक्टरहरुले दिए चेतावनी – अन्धभक्तेहरुको कारण कोरोनाको तेश्रो चरण भयावह हुनसक्ने (भिडियो)

1 min read

काठमाडौँ – काठमाडौँ उपत्यकामा केही दिनयता विभिन्न बहानामा आन्दोलन र विरोध प्रदर्शन गर्ने क्रम बढेको छ ।

पछिल्लो समय बढेको कोरोना संक्रमणको दरलाई वेवास्ता गरी राजनीतिक दलका संगठन नै प्रदर्शनमा उत्रिएका छन् । जसले संक्रमणको जोखिमलाई पुनः फैलिन मद्दत गर्ने जनस्वास्थ्यविद्हरुको चेतावानी छ ।

सरकारले निषेधाज्ञा खुकुलो बनाएसंगै कोरोना महामारीकोसंक्रमण फेरि तीब्र रूपमा फैलिन थालेको छ । अधिकांश बजार, व्यवसाय तथा कामकाजका क्षेत्र खुलेर बढेको भीडभाड र स्वास्थ्य मापदण्ड पालनामा वेवास्ता गर्दा संक्रमण बढीरहेका बेला राजनीतिक दलका संगठनहरुले सडकमै उत्रिएर विरोध प्रदर्शनहरु गर्न थालेपछि समस्या झनै विकराल बन्न थालेको हो ।

नयाँ स्वरूपको भाइरस भित्रिएको भनेर जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिइरहेका बेला फेरि पनि प्रदर्शन र आन्दोलनको लहर चलेको छ ।गतवर्ष पनि कोरोना नियन्त्रणमा नआउँदै राजनीतिक दलहरु सडक प्रदर्शन र नाराजुलुसमा उत्रिएपछि कोरोनाको दोस्रो लहरले भयावह रुप लिएको थियो । जसको असर नसकिदै अहिले फेरि राजनीतिक दलका नेता कार्यकर्ता पुनः आन्दोलन र भिडभाड गर्न लागिपरेका हुन् । सडकका दैनिक दृश्य हेर्ने हो भने लाग्छ, कोरोना संक्रमण निर्मूल भइसक्यो । अब डराउनुपर्ने स्थिति नै छैन ।

यो क्रम सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधिसभा पुनःस्थापना गरेपछि झनै बढेको छ ।  त्यसबाहेक सार्वजनिक यातायात अन्तर्गत सबै प्रकारका भाडाका सवारीहरु अहिले आन्दोलन गर्न सडकमा उत्रिएका छन् ।

यता, स्वास्थ्य मन्त्रालयले तेस्रो लहर आउन सक्ने जोखिम उच्च रहेको भन्दै चेतावनी दिइरहेको छ । संक्रमण बढ्दै गएमा अबका दिन चुनौतीपूर्ण हुन सक्ने भन्दै प्रदर्शन, सभा सम्मेलन र भिडभाड नगर्न आग्रह मन्त्रालयले गरिरहेको छ ।

संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्नु नै अहिलेको उपयुक्त विकल्प भएकोचिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार भौतिक दूरी कायम गर्न सकियो भने संक्रमण फैलिन सक्ने सम्भावना कम रहन्छ । तर कोरोना भाइरस संक्रमणकोग्राफ बढ्दै गईरहेकाले जमघट र भीडभाड गर्दा स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनीउनीहरुको छ ।

पछिल्लो एक सातामा मात्रै काठमाडौं उपत्यकामा करिब ५ हजार संक्रमित देखिएका छन् । जुन दैनिक सात सय भन्दा माथिको संख्या हो ।काठमाडौँ उपत्यका त्यसैपनि संक्रमणको जोखिममा रहेको छ । त्यसमाथि दिनै प्रदर्शन र सर्वसाधारणको हेलचेक्राई बढ्दा संक्रमण तीव्र गतिमा फैलिने देखिएको छ ।

आफ्ना विमति प्रकट गर्ने अनेक माध्यम होलान् ।अहिलेको भर्चुअल युगमा आन्दोलन वा प्रदर्शनका लागि सडकमा ओर्लिनैपर्छ भन्ने पनि छैन ।त्यसैले राजनीतिक दल र तिनका कार्यकर्ताहरुले आन्दोलनको स्वरुप परिवर्तन गरि आफु पनि सुरक्षित बन्ने र अरुलाई पनि सुरक्षित बनाउने वातावरणको निर्माण गरे भयावह अवस्थाआउनबाट जोगिन सकिन्छ ।