January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोनाले स्वरूप फेर्‍यो – कुनै लक्षण नदेखिए पनि कोरोनासंक्रमण देखिने, यस्तो छ फेरिएको स्वरूप

1 min read

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालीमा कोरोना संक्रमणसंग लड्ने इम्युनिटी पावर बढी छ -१. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ । नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन् । घरलाई हिटिंग र कुलिंग गर्ने प्रचलन छैन । जाडोमा काम्दै हिंड्ने, गर्मीमा पसिना बगाउँदै हिंड्ने तथा बर्षामा भिज्दै हिंड्ने, हुरी चल्दा पनि हुरीसंगै हिंड्ने, धुलो/ धुँवालाई सहेर पचाउने लगायतको बानी छ ।

२. बिदेशमा घाँस पलाउने बेलामा, फूल फुल्ने मौसममा तथा पानी पर्ने समयमा अधिकांश मान्छेलाई घाँस, फूल, मौसम आदिको एलर्जी हुन्छ । तर नेपालीलाई प्राय हुँदैन । हामीले ती एलर्जी पचाएका हुन्छौं ।

३. मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा लगायतले विश्वका बार्षिक ४ लाख ५० हजार देखि ६ लाख व्यक्तिको मृत्यु हुन्छ । नेपालमा रुघाखोकीले खासै मृत्यु हुँदैन ।

४. रुघाखोकी लागेको बेला हामीहरुले आराम गर्ने चलन छैन न त उपचार गर्ने । हामीले घरेलु उपचारको रुपमा ज्वानो, बेसार, अदुवा, मरिच, ल्वांग, सुकमेल, कागती पानी पकाएर खान्छौं । कागतीक बोक्रा चपाउने गर्छौं, बोझो चुस्छौँ ।

५. नेपालको कुल परिप्रेक्ष्य हेर्ने हो भने साबुनपानीले मिचिमिची हात धुने चलन छैन भन्दा हुन्छ । आधि गिलास पानीले हात भिजाएर खाना खाने प्रचलन अझै छ । यसको मतलब हामीहरुले किटाणु पनि पचाएका हुन्छौं ।

६. धामी, झाँक्री, जान्ने, लामा, गुरु आदिसंग फुकाउन जाने, खरानी पानी खाने, मन्त्र गरेको चामलका दाना खाने अनि ‘ अलि अथवा भएको छ ‘ भन्दै रोगलाई पेल्ने हाम्रो संस्कार छ ।

७. ज्वरो आयो भने चिराइतो, निम आदिको झोल खाने तर औषधि नखाने हाम्रो बानी छ । पखाला लाग्यो भने ज्वानो, बिरेनुन, आँपको बोक्रा, अनारक बोक्रा खाने हाम्रो बानी छ । जुनसुकै रोग लागेपनि २-४ गोली खाएर अलिकति लक्षण शान्त भएपछि औषधि नखाने हाम्रो बानी छ । जसले गर्दा औषधिको दुष्प्रभावबाट हामीहरु बचेका हुन्छौं, यद्यपी यो राम्रो प्राक्टिस हैन । सकि नसकी रोगसँग जुध्ने हाम्रो बानी छ ।

८. फलफुल खाँदा आफुले लगाएको कपडामा पुछेर खाने बानी हाम्रो अधिकांश ठाउँमा छ ।

९. हामीले सरकारले निशुल्क लगाउने आबश्यक / अनाबश्यक खोप लगाएका छौं, केहि नभएपनि जुकाको औषधि, हात्तीपाइलेको औषधि बाँढेको बेला खाएका छौं । तराइ क्षेत्रमा मलेरिया, कालाजार तथा सबै क्षेत्रमा डेंगुसंग बर्षेनी जुधेका छौं ।

१०. हामीले घरमा जे जस्तो छ ताजा खाना खान्छौं । बिहान पकाउने सागसब्जी बिहान टिप्ने, बेलुका पकाउने सागसब्जी बेलुका टिप्ने हाम्रो बानी छ । बासी खाए रोग लाग्छ भनेर हामीले सिकाइरहेका हुन्छौं । बाहिरको खाना खाने प्रचलन अत्यन्तै न्यून छ ।

११. हामीले शारीरिक परिश्रम धेरै गर्छौं । उकालो, ओरालो दिनभर हिंड्न सक्ने हाम्रो बानी छ । त्यो बानी नहुँदो हो त लक डाउनको बेला ८-१० दिन हिंडेर सोलुखुम्बुबाट बर्दिया पुग्ने आत्मबल र शक्ति कहाँबाट आउँदो हो ।

१२. नचिनेको खाना तथा काँचो मासु खाने हाम्रो बानी छैन । त्यसैले नयाँ रोग लाग्ने जोखिम हुँदैन ।

१३. हामीलाई बोइल गरेको खाना पटक्कै मन पर्दैन । तरकारी, दाल, मासु, झोल आदि पकाउँदा ट्वाक्क अमिलो, पिरो, चिल्लो, नुनिलो, पर्पराउँदो खालको खाना हामीलाई मन पर्छ । त्यसैले हामीले प्याज, लसुन, बेसार, जिरा, खुर्सानी, मरिच, टिमुर, ज्वानो, कागती, अमिलो, च्यांपेको अचार, ताजा अचार, पुदिना / मरौटी आदि राखेको चटनी, भांगोको चटनी, जिम्मुले झानेको दाल आदि के के हो के के ठाउँ अनुसार खाने गर्छौं । हाम्रो परिवारको आधा जनशक्ति खाना पकाउने काममा निरन्तर लागेको हुन्छ । हामीले जति धेरै भेराइटी अरुले सायदै खान्छन् होला ।

१४. हामीले हावा, पानी, माटो, घाम, तातो, चिसोले उपचार गर्छौं, धेरैजसोले अनेक जडिबुटी चिनेका छौं । सकभर आयुर्वेदिक औषधि सेवन गर्छौं । सर्पले टोके त झारले ठिक पार्छौं भने अरु साना रोगको के कुरा भो र ?

१५. अनुसन्धानले भनेको छ भिटामिन सि र डी ले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । हामीले सबैभन्दा धेरै अमिलो खान्छौं । सुन्तला, कागती, अमिलो, जुनार, मौसम, खुर्सानी, गुन्द्रुक आदिमा प्रचुर भिटामिन सि पाइन्छ । घाम ताप्नाले भिटामिन डी पाइन्छ । घाममा त हामीले छाला कालो हुनेगरि काम गरिरहेका हुन्छौं ।

१६. कागती पानी, अमिलो, भुँइकटहर, स्याउ, दालचिनी, अदुवा , खुर्सानी, मरिच, लसुन , अमला, सित्तलचिनी आदिले रगत पातलो बनाउँछ । कोरोना संक्रमणमा हुने स्ट्रोक, थ्रोम्बोसिस आदिमा हाम्रा खाना उपयोगी छन् ।

१७. कोरोना संक्रमणको उपचारमा मलेरियाको औषधि सफल रुपमा प्रयोग भइरहेको छ । गुर्जो, हर्रो, अदुवा,हरियो धनियाँ, बेल आदि एन्टी मलेरियल हुन् ।

१८. लसुन, कागती, मरिच, पुदिना, अदुवा, सख्खरखण्ड,प्याज, भुँइ अमला, दही आदि भाइरसको वृद्धि रोक्न उपयोगी हुन्छन । यी हाम्रो खानाका अभिन्न अंग हुन् ।

१९ . नाच्ने, गाउने, देउसीभैलो खेल्ने, सराएं खेल्ने, मेलापात जाने, रोदी बस्ने, अनेक बाजा बजाउने, इन्द्रको पुजा गरेर पानी पार्ने, शिबरात्रिमा गाँजा तान्ने, भांग खाने, लुतो फालेपछि आरुबखडा खाने, ब्रत बस्ने, बिरामी हुँदा मुख बार्ने, नागको पुजा गर्ने, मौसमी फलफुल खाने, टाढादेखि पानी बोक्ने, घाँस/ दाउराका भारी बोक्ने, खेतबारीमा हिलो तथा धुलोसंग खेल्ने, गाईबाख्रा पाल्ने, जनावरसंग खेल्ने, टाढा जाँदा आफै खाजा बोकेर हिंड्ने लगायत हजारौं हाम्रा सांस्कृतिक अभ्यास संसारमै अनौठा मानिन्छ ।

२०. घाम ताप्ने, घाममा मालिस गर्ने, अदुवा र मरिच मिसाएको चिया खाने, प्राणायाम गर्ने, पुदिनाको अचार खाने, तुलसी प्रयोग गर्ने, पिपल तथा सल्लाको हावा सेवन गर्ने, बिदेशीको तुलनामा कम चुरोट खाने, उद्योगको प्रदुषण कम हुने, मोटोपना धेरै नहुने, ऊकालो ओह्रालो हिंड्ने, समयमा सुत्ने, ब्रह्म मुहुर्त्मा उठ्ने आदि बानीले हाम्रो फोक्सो बलियो हुन्छ । कोरोना भाइरसले सुरुमा एट्याक गर्ने फोक्सोलाई नै हो ।

यी र यस्तै धेरै आहार, बिहार, आचार तथा ब्यबहारको कारण नेपालीसंग इम्युनिटी पावर धेरै हुन्छ । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । कोरोना संक्रमण फैलिएको खण्डमा नेपालीको मृत्यु एकदम कम हुन्छ । हाम्रो जिनमै अलौकिक शक्ति छ । हाम्रा हरेक घर प्राकृतिक अस्पताल हुन् ।

कोरोना संक्रमणले रुप फेर्दैछ : – चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए – उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने । त्यो बेला स्वस्थ व्यक्तिले मास्क लगाउनु नपर्ने, १ फिटको दुरी कायम गर्नुपर्ने, N 95 खालका मास्क मात्र उपयोगी हुने जनाइएको थियो । एकपटक कोरोना संक्रमण निको भएपछि अर्कोपटक यो रोग नलाग्ने धारणा ल्याइएको थियो । त्यस्तै २-१० दिन संक्रमण काल हुने जनाइएको थियो ।

जब यो संक्रमण बुहानबाट युरोप र अमेरिका पुग्यो, यसका केहि मान्यता परिवर्तन भए । कोरोना संक्रमण लागेका व्यक्तिलाई माथिका लक्षण बाहेक पखाला लाग्ने, बान्ता आउने, टाउको दुख्ने, असाध्यै थकाइ लाग्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिए । इटाली, स्पेन, फ्रान्स, अमेरिकाको न्युयोर्क लगायतका सहरमा कोरोना संक्रमण ब्यापक भएपछि सबै व्यक्तिले मास्क लगाउनु पर्ने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्नुपर्ने, संक्रमण काल २-१४ दिन हुनसक्ने तथा मलेरिया, जापानी इन्फ्लुएन्जा, एचाइभी /एड्स, इबोला रोगमा प्रयोग हुने औषधि प्रभावकारी भएको बताइयो । यो बेलासम्म WHO ले ती औषधि प्रयोग नगर्न बारम्बार भनिरहेको थियो । अति संक्रमित देशले यी औषधि र एन्टिबायोटिक चलाएर धेरै बिरामीलाई निको बनाएपछि WHO ले यी ४ वटा रोगका औषधि चलाउन सकिने भनेर आफ्नो धारणा परिवर्तन गर्यो ।

कोरोना संक्रमण अरब, दक्षिण एसिया, तथा अफ्रिकामा बढ्दै गएपछि सुरुमा बायु तथा पानी प्रदुषण भएका देशमा रोगसँग लड्ने क्षमता एकदम न्यून हुने बताइएकोमा त्यस्ता देशहरुमा कोरोना संक्रमण न्यून देखिएपछि यो धारणा सहि नभएको देखियो । त्यस्तै अति संक्रमित युरोप र अमेरिकामा यो पुष्टि भयो कि अस्पतालभित्र १३ फिटसम्म कोरोना भाइरस जान सक्छ । यहि बेला बुहानका अस्पतालको भित्तामा तथा स्वास्थ्यकर्मीको चप्पल, जुत्तामा भाइरस रहेको पाइयो । भारत लगायतका देशमा कोरोना संक्रमणको उपचारमा माथि उल्लेखित औषधिभन्दा प्लाज्मा थेरापी प्रभावकारी भएको पाइयो । त्यस्तै सुरुमा ब्यापक प्रयोग गरिएको RDT किट रोग पत्ता लगाउन उपयोगी नभएको भनेर धेरै देशले र्यापिड टेस्ट बन्द गरेका छन् ।

हाल आएर कोरोना संक्रमण Asymptomatic अर्थात लक्षणबिहिन रुपमा देखा परेको छ । लक्षणबिहिन कोरोना संक्रमण एकदम घातक भएको WHO ले जनाएको छ । लक्षण भएमा व्यक्ति उपचार खोज्दछ तर लक्षण नदेखिने किसिमको कोभिडको कारण लकडाउन नभएका देशमा ठूलो जोखिम भएको WHO ले जनाएको छ । भारतमा पनि ८५ % संक्रमित लक्षणबिहिन भएको जनाइएको छ ।

न्युयोर्क तथा मकाउमा केहि अपवाद केस देखा परे जहाँ ७-८ जना बयस्क संक्रमण हुनेबित्तिकै मृत्युबरण गरे । उनीहरुको अटोप्सी जांच गर्दा मस्तिष्कमा रगत जमेको, पिशाबनलीमा राखिएको क्याथेटरमा रगतका ढिका देखिएको तथा फोक्सोमा रगत जमेका चोक्टा थिए । कोरोना संक्रमण भएपछि रगत बाक्लो भएर यस्तो अवस्था आएको भनेर त्यस प्रकारमा केसमा अहिले रगत पातलो गराउने औषधि प्रयोग गर्न थालिएको छ ।

चीनको वुहानमा ५ – १० % संक्रमितलाई पुन: पोजिटिभ देखिएको छ । एकपटक संक्रमण भएको व्यक्तिलाई अर्को पटक संक्रमण भएपनि खतरा हुँदैन । WHO ले संक्रमित भएको व्यक्तिलाई पुन: संक्रमण हुनसक्ने भन्दै अर्को बर्ष झन् भयानक हुनसक्ने भनेर दिएको चेतावनी बिज्ञहरुले अस्वीकार गरेका छन् । अमेरिका, युरोप, चीन, कोरिया, इजरायल, बेलायत लगायतका देशमा यो रोग बिरुद्धको खोप अन्त्तिम चरणमा पुगेको बताइएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले ५००० मान्छेमा खोपको परिक्षण गरिसकेको छ । त्यस्तै चीनले पनि मानबमा परिक्षण गरेर नतिजा पर्खेको छ । आगामी ६ महिनादेखि डेढ बर्षसम्म खोप आउने भनेर अनुमान गरिएको छ । युरोप तथा अमेरिकाले २ बर्षसम्म सामाजिक दुरी कायम गर्नुपर्ने बताएका छन् । नोबेल कोरोना भाइरस नयाँ भाइरस भएको तथा यसको हालसम्म पूर्ण जानकारी नभएकोले यी सबै अनुमान मात्र हुनसक्छन् ।

नेपालमा कोरोना संक्रमणको अवस्था झन् फरक छ । सामान्य लक्षण देखिएको कोरोना संक्रमण २ हप्तामा निको हुने तथा गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका व्यक्तिलाई निको हुन १ महिनासम्म लाग्ने बताइएको थियो । तर नेपालमा एक / डेढ महिना पहिले बाहिरबाट आएका व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । २-३ जना संक्रमितलाई छोडेर हेर्ने हो भने बाँकी सबैमा लक्षण देखिएको छैन । ६५ बर्षका २ जना र ८१ बर्षको १ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । एकजना संक्रमित पनि आइसीयुमा बस्नु परेन, भेन्टिलेटरमा रहनु परेन । अझ अर्को आश्चर्य के देखियो भने उहाँहरुबाट एकाध केस बाहेक अरु कसैलाई ( परिवारलाई समेत ) पनि कोरोना संक्रमण सरेको छैन । यसको सम्पूर्ण श्रेय लकडाउन र क्वारेन्टाइनलाई जान्छ ।

कोरोना संक्रमण बिरुद्ध लड्नको लागि धेरै देशमा बिभिन्न हर्ब्स प्रभावकारी देखिएका छन् । भिटामिन सि, भिटामिन डी तथा जिंक सप्लिमेन्ट इम्युनिटी पावर बढाउन बरदान भएका छन् । ताजा तथा पोषिलो खाना, पर्याप्त निद्रा, ब्यायाम, योग, ध्यान, मनोरंजन आदिले रोगप्रतिरोधात्मक क्षमता बढाएको छ । खानामा प्रयोग हुने मरमसला तथा जडिबुटी इम्युनिटी पावर बढाउन सामर्थ्यबान बनेको दृष्टान्त पाइएको छ । नियमित साबुनपानीले हात धुने, सकभर घरभित्र बस्ने, बाहिरबाट ल्याएका तरकारी, फलफुल आदिलाई संक्रमणरहित बनाउने तथा अन्य बिबिध स्वस्थ जीवनशैलीको कारण कोरोना संक्रमण पराजित हुँदै गएको छ । उच्च आत्मबलले यो रोगलाई सजिलोसंग जितेको अनुभव संक्रमितहरुले बताइरहेका छन् । संक्रमणको २ महिनासम्म संक्रमितमध्ये करिब २० % संक्रमित गम्भीर अवस्थामा पुगेका थिए भने अहिले रोकथामका उपाय र उपचारको कारण ३ % मात्र गम्भीर अवस्थामा पुगेका छन् । यो सुखद पक्ष हो ।

Leave a Reply

Your email address will not be published.