November 28, 2021

Halkhabar kura

Entertainment Site

बाबुरामले आज संसदबाट प्रधानमन्त्रीलाई चुनौती दिने, मन्त्री—सांसद प्रश्नोत्तर हुने

1 min read

काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज प्रतिनिधि सभाको बैठकमा मातातीर्थको जग्गाका बारेमा स्पष्टीकरण दिनुहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि भट्टराईप्रति संकेत गर्दै मातातीर्थको जग्गाका बारेमा प्रश्न उठाएकाले भट्टराईले आज संसदबाटै जवाफ दिनु लाग्नु भएको हो ।

भट्टराईले जग्गाका बारेमा कानुनी, राजनीतिक र नैतिक कोणबाट जवाफ दिने तयारी गरेको बताउनु भएको छ । उहाँले ‘कम्युनिष्ट’ सरकारले जनताको जोत, यति होल्डिङ्सको पोत बनाउन खोजे पनि आफुहरुले त्यसो हुन नदिने दावी गर्नुभएको छ ।

समाजवादी पार्टीका नेता विश्वदिप पाण्डेले प्रधानमन्त्री ओली आफू डुब्ने निश्चितप्रायः देखेपछि आफूलाई मन नपर्नेजति सबैलाई डुबाउन सकिन्छ कि भनेर असफल प्रयास गरिराख्नुभएको आरोप लगाउनु भएको छ । भट्टराईमाथी लगाउन खोजिएको आरोपको जवाफ सुन्न र प्रश्नहरुको सामना गर्न दिउसो १ बजे मन बलियो बनाएर संसदमा आउन उहाँले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतसँग सांसदहरुले प्रश्नोत्तर गर्ने भएका छन् । संसदहरुले मन्त्रालयसंग सम्बन्धीत मौखिक प्रश्नहरु सोध्ने र मन्त्री बस्नेतले उत्तर दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले राष्ट्रिय खेलकुद विकास विधेयक सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश गर्नुहुने भएको छ ।

बैठकमा सभामुख अग्नी सापकोटाले “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि र गृह मन्त्री रामबहादुर थापाले “कारागार विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस् र पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

त्यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री श्री घनश्याम भुषालले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ र “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” र पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सन्धि सम्झौता गृह मन्त्री श्री रामबहादुर थापाले “अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पार्लेमो अभिसन्धि माथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्नुहुने छ ।

Leave a Reply

Your email address will not be published.