October 19, 2021

Halkhabar kura

Entertainment Site

भारतले नेपालललाई लाखौं डोज निःशुल्क भ्याक्सिन उपलब्ध गराएर विश्वलाई एउटा उदाहरण देखायो

1 min read

भ्याक्सिनका लागि धनी देश लड़िरहेको बेला भारतले नेपाललगायत केही छिमेकीलाई लाखौं डोज निःशुल्क भ्याक्सिन उपलब्ध गराएर सिङ्गो विश्वलाई एउटा उदाहरण प्रस्तुत गरेको छ ।

उल्लेख्य के छ भने भारतले अनुदान दिएको भ्याक्सिन भारतमा उत्पादितमध्ये उच्चस्तरको हो । अक्सफ़ोर्ड विश्वविद्यालयको सहकार्यमा अस्ट्राजेनेकाले विकास गरेको यो भ्याक्सिनको माग विश्वभर छ ।

भ्याक्सिनबारे केही भ्रमहरू विश्वभर नै छन् । भ्याक्सिन लगाएका मान्छे मरे, कम्पनीले कुनै जिम्मेबारी लिएको छैन, लगाए पनि काम गर्दैन आदि आदि ।

१-अहिले सबै भ्याक्सिनले पाएको अनुमति ‘आपत्कालीन प्रयोग’का लागि हो । यसले इम्युन सिस्टमलाई ट्रिगर गर्छ भन्ने त पुष्टि भयो तर यसरी बन्ने एन्टीबड़ीको प्रभावकारिता कति समयसम्म रहन्छ भन्ने डेटा आजको भोलि नै प्राप्त हुँदैन । अहिलेका भ्याक्सिनले कम्तिमा ३-४ महिना सुरक्षा दिनसक्ने बताइन्छ ।

२-कुनै परीक्षण र अनुसन्धान नै नभई भ्याक्सिन आएका होइनन् । बनाउने कम्पनीहरूसँग यस क्षेत्रमा काम गरेको लामो अनुभव छ । पूर्वाधार छ । तर, सामान्यतया वर्षौँको डेटा चाहिने भ्याक्सिनलाई जीवन रक्षाका लागि यति छिटो प्रयोगमा ल्याउनुपरेकाले यसको साइड इफेक्टबारे कम्पनीले दायित्व नलिएको मात्रै हो । तर सुरक्षित छ भन्ने तथ्यसम्मत विश्वास नभई सर्वसाधारणमा प्रयोगको अनुमति दिइँदैन ।

३-यतिबेला युरोपमा लगाइएको भ्याक्सिन प्रायः दीर्घरोगी, अतिवृद्ध र जोखिम समूहका लागि हो । तिनमा मृत्युदर यसै पनि उच्च छ । भ्याक्सिन लगाउनासाथ कोही चिरञ्जीवी हुने होइन । भ्याक्सिनले काम गर्न २-३ हप्ता लाग्ने र यसबीच सङ्क्रमण भएर या अन्य कारणले मृत्यु हुन सक्ने अवस्थासँग भ्याक्सिनको कुनै दोष हुँदैन । त्यसमा पनि अहिलेसम्म धेरैलाई प्रायः पहिलो डोजमात्रै दिइएकाले भ्याक्सिनबाट पूर्ण सुरक्षा हासिल नभएको हुन सक्छ ।

४-पछि पनि मास्क लगाउनुपर्ने भए भ्याक्सिनको के काम भन्नु त मूर्खतामात्रै हो । तपाईंलाई भ्याक्सिनले सुरक्षा देला, तर नलगाएकाहरूलाई सुरक्षा दिने दायित्व तपाईंको पनि त हो नि । त्यसका लागि मास्क चाहिने हो । भ्याक्सिन लगाएको व्यक्तिमा भाइरसले असर नगर्ने हो, उसले अन्यलाई सार्न सक्छ कि सक्दैन भन्नेमा पर्याप्त तथ्य नभएकाले मास्कको कुरो आएको हो ।

भ्याक्सिनबारे कुतर्क गर्नुअघि कम्तिमा आफ्ना हजुरबुबासँग आफ्नो वंशमा क्षयरोग, पोलियो, धनुषटङ्कारलगायतका रोगले पारेको क्षतिबारे सोध्नुहोस् र आजको अवस्थासँग तुलना गर्नुहोस् । झन्डै २२ लाख मान्छेले कोभिड़बाट ज्यान गुमाएको अहिलेको तथ्य विश्वास नलागे आफ्ना छिमेकी या आफन्त सम्झिनुहोस्, जसले भर्खरै यसको चपेटामा आफन्त गुमाएका छन् । मलाई लागेको छैन भनेर यो महामारी भ्रम हो भन्ने भ्रममा नबाँच्नुहोस् । भ्याक्सिन लगाउन चाहनेलाई त पुगेको छैन, अनिवार्य भन्ने त कुरै आएन । नचाहे नलगाउनुहोस् तर भ्याक्सिनबारे फेसबुकमा दुई-चार पोस्ट पढेकै भरमा नकारात्मकता फैलाउनु पनि त जरूरी हुँदैन ।

 

-नारायण गाउँलेको फेसबुकबाट