October 29, 2021

Halkhabar kura

Entertainment Site

क्रिसमस डे: चीनका केही ठाउँमा क्रिसमस मनाउन नपाईने

1 min read

काठमाडौँ । चीनका चारवटा सहर र एक काउन्टीमा क्रिसमस मनाउन प्रतिबन्ध लगाइएको छ । क्रिसमसको पुर्वसन्ध्यामा स्थानीय अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धी सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति सी चीनफिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाइ अभियानलाई सहयोग गर्न क्रिसमस मनाउन प्रतिबन्ध लगाइएको उनीहरुले बताएका छन् । दक्षिण पश्चिमी सहर नान्याङ र राजधानी बेइजिङ नजिकैको करिब ४० लाख जनसंख्या भएको सहर लाङफाङमा क्रिसमसका सामान बेच्ने पसलहरुबाट सामान हटाउन लगाइएको छ । लाङफाङमा क्रिसमसको तयारीमा गरिएका सजावट र गरिएको रंगरोगन समेत हटाउन लगाइएको ’साउथ चाइना मर्निङ पोस्ट’ ले लेखेको छ ।

हुनान प्रान्तमा केही चर्च बन्द गरिएको र विश्वविद्यालयका विद्यार्थीलाई क्रिसमस नमाउने आचार संहितामा हस्ताक्षर गर्न लगाइएको समाचारमा जनाइएको छ । लाङफाङका अधिकारले जारी गरेको सुचनामा भनिएको छ ’कुनै पनि मानिसलाई क्रिसमस ट्री, टोपी र लुगा तथा सान्टा क्लजका मूर्ति बेचिरहेको भेटिएमा कारबाही गरिनेछ। पसलहरुलाई क्रिसमसका नाममा कुनै पनि गतिविधि नगर्न, सजावट नगर्न र सामानमा छुट नदिन पनि निर्देशन दिइन्छ।’

युनान प्रान्तको कुन्मिङ, क्वान्चाउ तथा हिवेइ प्रान्तको फुपिङ काउन्टीमा पनि यस्तै खाले प्रतिबन्धहरु लगाइएका छन्। संसारकै सबभन्दा धेरै जनसंख्या भएको चीनमा क्रिश्चियन धर्म मान्नेको संख्या निकै कम छ ।

धेरै एसियन मुलुकहरुमा जस्तै यहाँ पनि क्रिसमसको छुट्टी हुँदैन । तर, क्रिसमसको समयमा रमाइलो गर्ने, सांस्कृतिक पर्वका रुपमा यसलाई मनाउने युवाको संख्या भने बढ्दै गइरहेको छ । साथै, क्रिसमसको समयमा मानिसहरुले लुगा कपडा तथा सरसमामान किन्ने भएकाले बजारमा बेग्लै रौनक आउने गरेको थियो। नयाँ वर्ष र अन्य पर्वमा जस्तै सामानमा छुट दिइने भएकाले पनि यस अवधिमा बजार तात्ने गर्दछ ।

चीनको केन्द्र सरकारले भने क्रिसमस नमनाउनेबारे कुनै निर्देशन नदिएपनि पार्टीका स्थानीय कमिटीहरुले भने यस्ता निर्देशनलाई अबलम्बन गरेका छन् । ’स्थानीय अधिकारले दिएका यी निर्देशनहरु चीनलाई पश्चिमा प्रभावबाट मुक्त गर्ने र चिनियाँ संस्कृतिलाई फैलाउने भन्ने राष्ट्रपति सीको योजना अनुसारकै कदम हुन भनिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीलाई चिनियाँ संस्कृतिको संरक्षकका रुपमा स्थापित गरी राष्ट्रपति सी पार्टीको प्रभाव अझै बढाउन क्रिसमसजस्ता विदेशी सांस्कृतिक धार्मिक पर्वलाई बन्देज लगाउने रणनीति लिएको विज्ञहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.