November 28, 2021

Halkhabar kura

Entertainment Site

सभामुखका उम्मेदवार अग्नि प्रसाद सापकोटा पहिले सर्वोच्च र पछि संसद जाने

1 min read

काठमाडौँ। नेकपाका तर्फबाट प्रतिनिधिसभाको सभामुख बन्न लाग्नुभएका सांसद अग्नि प्रसाद सापकोटामाथि भोली आइतवार सर्वोच्च जाने कि संसदको निर्वाचन प्रक्रियामा सहभागि हुने भन्ने अन्यौलता बढेको छ ।

उहाँले आफु निकट कानून व्यावसायीहरुसँग यो विषयमा परामर्श लिइरहेनु भएको बताइएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुख चयन हुने दिन सभामुखको उम्मेदवार रहनुभएका सापकोटालाई १२ गते हाजिर हुन भनेको छ ।

विहान १० बजे सर्वोच्च हाजिर भएर दिउसो ३ बजे हुने सभामुखको निर्वाचनमा कसरी सहभागि हुने भन्ने विषयमा अहिले परामर्श जारी राख्नुभएको बताइएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत तारेखका लागि हाजिर हुन भनेको छ ।

अधिवक्ता त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै द्वन्द्वकालीन घटनामा कर्तब्य ज्यानको मुद्दा खेपिरहेका व्यक्ति (सापकोटा)लाई सभामुख चयन नगर्नका लागि आदेश माग गर्नुभएको थियो । उहाँले सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि मागदाबी गर्नुभएको थियो ।

त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवालय, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको छ ।

संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयनका लागि भोली निर्वाचनको तयारी गरेको छ भने निर्वाचन प्रक्रियाअन्तर्गत सापकोटाको मात्रै एकल उम्मेदवारी परेको छ ।

माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published.