October 28, 2021

Halkhabar kura

Entertainment Site

केपी ओली निकट अर्यालले ‘केरा समूह’ छाडे !

1 min read

प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका बर्दियाका दामोदर अर्यालले प्रतिनिधिसभा विघटनको विरोध गर्दै ओली गुटको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

ओलीसँग २०४५ सालदेखि सहकार्य गर्दै आएका अर्याललाई ओलीले मदन भण्डारी फाउण्डेशनको केन्द्रीय सदस्यको पनि जिम्मेवारी दिएका थिए । लामो समय फाउण्डेशनको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका अर्यालले उक्त फाउण्डेशनको पनि केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

२०४५ सालमा रत्नराज्य क्याम्पसको स्ववियू सभापति समेत रहेका अर्याल विद्यार्थी नेताका रूपमा परिचित छन् । नेकपा भेरि अञ्चल कमिटीका युवा विद्यार्थी इन्चार्ज समेत रहेका अर्यालले ओलीको कदमलाई प्रतिगामी भन्दै सामाजिक सञ्जालमा आफु केपी ओली र रामबहादुर थापा ‘केरा समूह’बाट अलग हुने घोषणा गरेका छन् ।

गत प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट बामदेव गौतमलाई हराउन ओलीले अर्याललाई प्रयोग गरेका थिए । निर्वाचन हारेपछि अर्याललाई कारवाही गर्न गौतमले ओलीसामु लिखित उजुरी गरेका थिए ।

यसैबीच, मदन भण्डारी फाउण्डेशन बर्दिया शाखा पनि विघटन भएको छ । फाउण्डेशनका जिल्ला अध्यक्ष इन्द्रबहादुर रावलले पनि प्रधानमन्त्री र राष्ट्रपति मिलेर प्रतिगामी कदम चालेको प्रति आपत्ति जनाउँदै फाउण्डेशन विघटन गरेका हुन ।

-दृष्टीन्युजबाट