October 17, 2021

Halkhabar kura

Entertainment Site

झन्डै ४० वर्षदेखि हराएका छोरा दिपकलाई पर्खिरहेकी ८१ वर्षीया धनमाया (भिडिओ)

1 min read

पत्ता लाग्यो ४० वर्षदेखि भारतीय जेलमा रहेका दीपकको परिवार,  हुँदैछ उद्धारको पहल

तुफान न्यौपाने-इलामको माई नगरपालिका वडा नम्बर १०, लुम्बाक गाउँकी ८१ वर्षीया धनमाया तिम्सिनाले आफ्नो हराइरहेको छोरो फर्किएर आउने बाटो हेर्न थालेको ४० वर्ष भयो।

उनका जेठा छोरा दीपक भनिने दुप्तप्रसाद भारतको कलकत्तास्थित दमदम सेन्ट्रल करेक्सनल होममा कैद छन्। ३९ वर्षदेखि जेलमा परेका उनी पछिल्लो १५ वर्षदेखि कलकत्ताको यही कारागारमा छन्।

हिमालखबरमा दीपक कलकत्ताको जेलमा रहेको समाचार प्रकाशित भएपछि दीपकको उद्धारको प्रयास पनि भइरहेको छ। त्यसबारे सामान्य जानकारी पाएकी दिपककी आमा धनमायाले अब भने छोरा फर्किआउनेछन् भन्ने आशा गरेकी छन्।

पहिले नै पति गुमाएकी धनमायाले दुर्घटनामा परी दाहिने हात गुमाएकी थिइन्, २०३८ मा । त्यसै साल उनका जेठा छोरा दीपक घर छोडी हिंडे।

बुबा बितेपछि पारिवारिक जिम्मेवारी सम्हाल्न कामको खोजीमा घरबाट निस्केका दीपक त्यसपछि फर्किएका छैनन्। हुर्किसकेका जेठा छोरा बेपत्ता भएपछि धनमायाले एउटा हातको सहाराले स–साना केटाकेटी हुर्काइन्। आफूले पाएको दुख भगवानलाई मात्र थाहा भएको बताउँदै उनी भन्छिन्, “मानिसले दुःखको यो भवसागर पनि सहनैपर्ने रहेछ।”

अहिले ८१ वर्ष पुगेकी धनमाया कान्छा छोरा धर्मानन्दसँग बस्दै आएकी छन्। धर्मानन्द पनि आफ्ना दाजु थुनामा रहेको कारण जान्न पाउनुपर्ने बताउँछन्।

सन् १९८१ देखि भारतका विभिन्न जेलमा थुनिइरहेका दीपक त्यसयता परिवारको सम्पर्कमा थिएनन्। महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका प्रमुख रहेका दीपकका भान्जा दिलनाथ फुयाँलले आफ्ना मामाको स्वदेश फिर्ती र पुनर्स्थापनामा सरकारको भूमिका खोजिरहेको बताए। उनले भने, “कुनै पनि मानिस अभियोजन विना ४०औं वर्षसम्म थुनामा रहेको कुरा सामान्य होइन, उहाँलाई जेलबाट छुटाएर क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारले सहजीकरण गर्नुपर्छ।”

दीपकको थुनाबारे सबैभन्दा पहिले भारतको कलकत्तास्थित ‘वेस्ट बंगाल रेडियो क्लब’का पदाधिकारीले जानकारी पाएर उद्धारको पहल गरेका थिए। उनीहरूले दीपकको परिवारको पहिचानका लागि नेपालको उच्च अदालतका पूर्व मुख्यन्यायाधीश विदुरविक्रम थापा र वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेललाई सम्पर्क गरे।

त्यसपछि थापा र खरेलले नेपालमा दीपकको परिवारको खोजी र भारतमा उनलाई छुटाउने कानूनी पहल एकैपटक थालेका थिए। त्यसैक्रममा इलाममा बस्दै आएका लेखक केदार शर्माको पहलमा दीपकको परिवार पत्ता लाग्यो।

दीपकलाई के आरोपमा पक्राउ गरिएको हो र त्यो आरोपमाथि अदालतमा स्वच्छ सुनुवाइ भयो कि छैन भन्नेबारे अहिलेसम्म स्पष्ट छैन । कलकत्ता र काठमाडौंका कानून व्यवसायीले उनको रिहाइको पहल गरिरहेका छन् ।

-हिमालखबरबाट

Leave a Reply

Your email address will not be published.