November 29, 2021

Halkhabar kura

Entertainment Site

भारतीय पर्यटकको मृत्युका विषयमा छानबिन गर्न समिति गठन

1 min read

काठमाडौं । सरकारले दामनको एक रिसोर्टमा आठ जना भारतीय पर्यटकको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । पर्यटन विभागले हिजो सूचना जारी गरेर घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको हो ।

विभागको होटल शाखाका निर्देशक शुरेन्द्र थापाको संयोजकत्वमा समिति गठन भएको छ ।

घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्ने समितिका संयोजक थापाले बताउनुभयो ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र होटल संघ नेपालका एक–एक प्रतिनिधि, पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहनेछन् भने समितिका सदस्य सचिव होटल शाखाका शाखा अधिकृत रहनुभएको छ ।

अस्ती मंगलबार भारतको केरलबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्यान गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमा उनीहरुले अकालमा ज्यान गुमाएका हुन्।

चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरेपछि हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको हो। अचेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएएपछि चिकित्सकहरुले सबैलाई मृत घोषित गरिदिए। भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै मृत्यु भइसकेको जानकारी ह्याम्सका इमरजेन्सी विभाग प्रमुख डा। कमल थापाले बताए।

‘बिरामी भएको भन्‍ने खबर पाउनासाथ उहाँहरुलाई ल्याएका हौँ’, उनले भने, ‘अस्पतलाको हेलिप्याडमा ल्याएर चेकजाँच गर्दा ८ जनाकै मृत्यु भइसकेको रहेछ।’ प्रहरीका अनुसार उनीहरुले होटेलमा ग्यासबाट चल्ने हिटर बालेर सुतेका थिए। बिहान ७ बजे कोठामा गएर हेर्दा उनीहरुको मृत्यु भइसकेको थियो। चिसो ठाउँमा उनीहरुले हिटर आफैंले ल्याएका थिए। मदिरा पिएपछि हिटर बालेर सुतेकाले उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ।

दामन चिसो स्थानमा भएकाले भारतीय ती पर्यटक हिटर बालेर सुतेका थिए। सोमबार बेलुका करिब ९ बजेको समयमा १५ जनाको भारतीय टोली दामनस्थित उक्त होटलमा पुगेका थियो। उनीहरुले होटलमा ४ वटा रुम लिएका थिए। ‘तर, पारिवारिक भ्रमण भएको भन्दै उनीहरु दुईवटा रुममा सुतेका रहेछन्, धेरै चिसो नभए पनि उनीहरुले हिटर बालेर सुतेको रहेछन्’, महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले भने, ‘उनीहरुको त्यही कारणले मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

‘झ्याल ढोका सबै बन्द गरेर ग्याको हिटर बालेर सुतेको अनुसन्धानबाट देखिन्छ’, उनले थपे, ‘उनीहरुको अक्सिजनको कमीको कारणले मृत्यु भएको हुनसक्छ।’ चिसोबाट बच्न हिटर बालेकै कारण उनीहरुको मृत्यु भएको ह्याम्स अस्पतालका डाक्टर थापा बताउँछन्।

‘झ्याल ढोका बन्द गरेर सुत्दा अक्सिजनको कमी भयो। त्यहाँ कार्बनअक्साइट धेरै भयो’ डाक्टर थापाले भने, ‘धेरै मान्छे एउटै कोठामा सुतेका कारण उनीहरुको ज्यान गएको देखिन्छ।’ मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्। उनीनीहरु दुई परिवारका हुन्। दुई परिवारका बावु आमा र तिनका एक(एक छोरी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.