October 17, 2021

Halkhabar kura

Entertainment Site

५०० सय नेपाली केयरगिभर पठाउन प्रोटोकल तयार, इजरायलले स्वीकृत गरेपछि श्रमिक लैजाने

1 min read

पाँच सय श्रमिक लैजाने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकल तयार भएको छ । प्रोटोकललाई नेपालको मन्त्रिपरिषदले स्वीकृत गरेर हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाललाई अख्तियारी दिइसकेको छ ।

गत असोज १४ गते श्रीमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । पाँच सय नेपाली केयर गिभर लैजाने गरी भएको यो सम्झौता अनुसार श्रमिक पठाउन दुई देशले छलफल गरेर प्रोटोकल तयार गरेका हुन् । यसअनुसार अब इजरायलले पनि त्यसलाई स्वीकृत गरेपछि हस्ताक्षरको मिति तय हुनेछ ।

त्यसलगत्तै इजरालयमा केयर गिभरका रुपमा श्रमिक लैजान विज्ञापन हुने छ ।

इजरायलमा यो समझौता अनुसार ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभर इजरायल जानेछन् । यसरी जाने केयर गिभरले त्यहाँका स्याहार केन्द्रहरुमा काम गर्नेछन् । न्युनतम तलब १५ सय डलर हुनेछ । त्यसमध्ये ३१० डलर खाना र आवास सुविधाबापत रोजगारदाताले कटौती गर्नेछ ।

एसएलसी उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी विषय पढेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालिम लिएका, अंग्रेजी र हिब्रु भाषा बोल्न सक्नेलाई यो रोजगारीमा जान अवसर दिइनेछ । कामदार छनोट नेपाल सरकार नै गर्नेछ ।

सरकारले यसअघि सन् २०१५ मा इजरायलसँग गरेको केयर गिभर पठाउने श्रम समझदारीबाट पर्याप्त श्रमिकले लाभ उठाउन पाएका थिएनन् । थोरै मागमा धेरै आवेदन परेपछि छनोटमा चिठ्ठा प्रणाली लागू गरिएको थियो । जसले गर्दा भाषा सिकेर पनि धेरैले काम गर्न जान पाएनन् । म्यानपावर कम्पनीहरुले नै इजरायलमा केयर गिभर पठाउने गरेका थिए ।

इजरायल जाने श्रमिकले भिसा शुल्क, मेडिकल शुल्क, टिकट, बिमा लगायतका खर्च आफैंले ब्यहोर्नुपर्नेछ । सरकारले म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउँदा सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा त्यहाँका कम्पनीले तिर्नुपर्ने नीति लिएको छ । म्यानपावर कम्पनीले तोकिएको सेवा शुल्क मात्रै लिन पाउने नीति छ ।

-अनलाइनखबरबाट