October 19, 2021

Halkhabar kura

Entertainment Site

डा. केसीद्वारा माग सम्बोधन नभएसम्म स्वास्थ्य परीक्षण गर्न अस्वीकार

1 min read

जुम्ला । जुम्लामा अनशन बसेका डा. गोविन्द केसीले माग सम्बोधन नभएसम्म स्वास्थ्य जाँच नगर्ने अडान लिएका छन् । चन्दननाथ नगरपालिका– ६ रानीचौरस्थित मन्दिरको धर्मशालामा अनसन सुरु गरेका केसीलाई त्यहाँबाट अस्पताल लगिए पनि उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

डा. केसीको उपचारमा खटिएका चिकित्सक डा. प्रविणकुमार गिरीले दुई दिनदेखि उनले स्वास्थ्य परीक्षण गर्न नमानेको बताए । ‘हामीले स्वास्थ्य परीक्षणको प्रयास गरिरहेको छौँ तर उहाँले मान्नु भएन,’ उनले भने ।

डा. केसीलाई यथाशीघ्र सुरक्षित अस्पतालमा सार्न चिकित्सकले सुझाब दिएपछि प्रहरीले ३ असोज राति १०ः४५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियू कक्षमा लगेको थियो ।

उनका अनुसार रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा हुने सम्भावना रहन्छ ।

जीवन रक्षाको माग
नेपाल चिकित्सक संघ जुम्लाले अनशनरत डा. केसीको जीवन रक्षाको माग गरेको छ । सत्याग्रहको आठौँ दिनसम्म पनि सरकार र सम्बन्धित निकायबाट कुनै पनि सम्बोधनको प्रयास भएको छैन ।

डा.केसीको स्वास्थ्य स्थिति विग्रिदै गएको हुँदा नेपाल सरकारले गम्भीरतापूर्वक उनको जायज माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने माग गरिएको संघका सचिव चिकित्सक हरिहर देवकोटाले बताए ।

२९ भदौदेखि अनशनरत डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published.