October 17, 2021

Halkhabar kura

Entertainment Site

बर्दियामा फेला परेका ५ वर्षीय बालकको अभिभावक भेटिएन, खोजीकार्य जारी

1 min read

गुलरिया : शनिबार दिउँसो २ बजे बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका ८ मा फेला परेका एक ५ वर्षीय बालकको अभिभावकको खोजी भइरहेको छ । प्रहरीले फेला पारेको ती बालक हाल गुलरिया नगरपालिकाको सेवा केन्द्रमा आश्रय लिइरहेका छन् ।

प्रहरी टोलीले फेला पारेको बालकलाई सेवा केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । उनले भने,’ हामीले मातहतका प्रहरी ईकाई तथा चौकीहरुमा अभिभावकको खोजीका लागि खबर सर्कुलर गरेका छौं । अझै बालकको अभिभावक पत्ता लागेको छैन ।’

अनुप गुरुङ नाम बताउने ती बालकले आफ्नो बावुको नाम गोविन्द गुरुङ र आमाको नाम आशा गुरुङ बताएका छन् । सेवा केन्द्रमा रहेका बालकले ठेगाना बताउन नसकेको गुलरिया नगरपालिका ६ का वडा अध्यक्ष निरज कुमार शर्माले बताए । बालकको तस्बीर देखेर कसैले चिन्न सके अभिभावक वा आफन्तलाई खबर गरिदिन वडा अध्यक्ष शर्माले आग्रह गरेका छन् ।

बालकको ठेगाना, अभिभावक वा आफन्त फेला परे ०८४–४२११२३ नम्बरमा वा जिल्ला प्रहरी कार्यालय बर्दियामा सम्पर्क गर्न सकिने छ ।