July 28, 2021

Halkhabar kura

Entertainment Site

अध्यक्षबाट ओलीलाई फालेर साविककै एमाले हाक्ने माधवपक्षको तयारी, होला त सफल ?

1 min read

काठमाडौं ।

नेकपा (एमाले)को माधव नेपाल समूहमा साविकको पार्टी भित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए।

‘केन्द्रीय सदस्यहरुको राय सुन्दा १५ दिन भित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ,’ संवाददाताहरुसँग उनले भने ।

सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरे । उनले भने, ‘हिजो मदान गरेका साथीहरु देखिहाल्नु भयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।’

चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानुन व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताए । ‘सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्छौं,’ उनले भने, ‘कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको छ । कानुनले दिन्छ भने त्यहाँसम्म पनि जान्छौं ।’

सरकारमा सहभागिताबारे भने कानुनी परामर्श भइरहेको र सरकारमा गए वाफत सांसद पद नजाने कुराको ग्यारेन्टी भयो भने मात्रै यस विषयमा निर्णय हुने चौधरीले बताए ।

अर्की सांसद राकुमारी झाँक्रीले सरकारमा जाने भन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशिल कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइन् । उनले भनिन्, ‘अर्को दलले नेतृत्व गरेको सरकारमा जाने कुरै भएन । सरकारमा जाने भन्दा पनि पुरा अवधि संसद क्रियाशिल कसरी बनाउने भन्ने बारेमा छलफल भयो ।’

नेपाल पक्षले आफू पक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरुसहितको बैठक भोलि ११ बजे बोलाएको छ। पार्टी विभाजन गर्ने या नगर्ने विषयमा उक्त बैठक निर्णायक हुने बताइएको छ।

-नेपाल प्रेस बाट