October 17, 2021

Halkhabar kura

Entertainment Site

प्राचीन सम्पदा कमलपोखरीमाथी जब रातारात डोजर चल्यो (भिडियोसहित)

1 min read

ऐतिहासिक महत्वको कमलपोखरीमा सोमबार राति डोजर चलाइएको छ । कमलपोखरीमा निर्माण कार्य रोक्न पुरातत्व विभागले आदेश दिएपनि निर्देशनविपरीत रातारात डोजर चलाइएको हो । राती नै कमलपाखरीमा डोजर चलेपछि सम्पदाप्रेमीहरुल महानगर घराउ समेत गरेका छन् ।

काठमाडौँको ऐतिहासिक सम्पदा कमलपोखरीको पुनर्निर्माणका लागि भन्दै पोखरीको पानी सुकाइएको छ । वरिपरि कंक्रिटको संरचना र बीचमा पनि कंक्रिटकै कमलको फूल राख्ने योजनाका लागि महानगरले झण्डै १० करोड रुपैयाँ खर्च गर्दैछ ।

पोखरीको मौलिकता नै नामेट हुनेगरी महानगरपालिकाले डोजर चलाएको भन्दै यहाँका बासिन्दा र विशेषगरी संस्कृतिका अभियन्ताहरूले यसको विरोध गरेका छन् । पोखरीको ऐतिहासिकता र मौलिकता कायम राख्दै परम्परागत शैलीमै पुनर्निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।

प्राचीन सम्पदाको संरक्षणमा पुरातत्व विभागको निर्देशन नै आधिकारिक हुन्छ, तर उसको निर्देशन समेत महानगरपालिकाले लत्याएको पाइएको छ । विभाग भने कमलपोखरीको मौलिकता जोगाउन कुनै कसर बाँकी नराख्ने बताउँछ ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी पनि कमलपोखरीमा भइरहेको क्रियाकलापबारे आफू अनभिज्ञ रहेको बताउँछिन् । महानगरप्रमुख विद्यासुन्दर शाक्यको सम्पदाविरोधी कार्यको विपक्षमा उभिँदै आएकी खड्गीलाई कमलपोखरीमा के–के हुँदैछ भन्ने केही जानकारी रहेनछ ।

यसअघि रानीपोखरीको मौलिकता मास्ने चाहना पूरा नभएका कारण महानगरप्रमुख शाक्य त्यो रहर कमलपोखरीमा पूरा गर्न तल्लीन रहेको विश्लेषण गर्न थालिएको छ । संस्कृतिविद्को आग्रह र पुरातत्व विभागको सुझावलाई समेत लत्याउने कार्यकोे चौतर्फी विरोध भइरहेको छ । तर यसलाई महानगरले टेरपुच्छर लगाएको छैन ।