November 28, 2021

Halkhabar kura

Entertainment Site

नेपाल ल्याइएका १७५ जनामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि

1 min read

काठमाडौं । कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिएको चीनको हुबेइबाट उद्धार गरी ल्याइएका सबै नेपालीमा संक्रमण नरहेको पुष्टि भएको छ ।

भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनाको नमूना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको हो । सबै १७५ जनाको ‘थ्रोट स्वाव’ तथा ‘नेजल स्वाव’ को नमूना संकलन गरिएको थियो ।

सबै नमूनाको परीक्षण मंगलबार बेलुका सकिएको र नतिजा नेगेटिभ अर्थात उनीहरुमा कोभिड–१९ को संक्रमण नरहेको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रयोगशालाले जनाएको छ ।

यो पनि पढ्नुस, चीनको वुहानबाट ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दालाई सचेत बनाउन घरदैलो अभियान सुरु भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको टोली घरदैलो अभियानमा खटिएको छ ।

प्रजिअ पाण्डेले स्थानीयको लागि छुट्टै ‘हेल्थ डेक्स’ राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै समस्या देखिए जाँच गराउन सक्नेबारे जानकारी गराउनुभयो ।

चीनको वुहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा संक्रमणको त्रासले स्थानीयले घर छोड्न थालेको र उनीहरू त्रासमा रहेको सुनिएपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको पाण्डेले बताउनुभयो ।

टोलीले घर घरमा पुगेर क्वारेन्टाइनका नेपाली सुरक्षित रहेको, उनीहरूमा कोरोनाको संक्रमण नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुने लगायतका बारेमा जानकारी गराएको छ ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.