November 28, 2021

Halkhabar kura

Entertainment Site

लकडाउनको समयमा युट्युवमा यी उत्कृष्ट हिन्दी फिल्म हेर्नुस

1 min read

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणको लागि यतिबेला देशभर लकडाउन छ । यो लकडाउनको समयमा घरमै बसिरहेकाहरुको लागि दिन बिताउने सहज माध्यम चलचित्रपनि हो । आवाजविहीन राजा हरिशचन्द्र (सन् १९१३) लाई पहिलो मान्दा भारतीय फिल्म यही मेमा १०७ वर्ष पुग्दैछ। राजा हरिशचन्द्र बनेको १८ वर्षपछि १९३१ मा पहिलो पटक बोल्ने फिल्म आलमआरा बन्यो। बेलायती उपनिवेशबाट मुक्त भएको पहिलो दशकभित्रै भारतमा हिन्दी, बंगाली, मलयालमलगायतका स्तरीय सिनेमा बन्न थाले।

व्यवसायिक र कलात्मक दुवै खालका सिनेमा बन्ने भारतमा बेलायती उपनिवेशबाट मुक्त भएको पहिलो दशकमै विश्वस्तरीय फिल्म बन्न थालिसकेको थियो। हिन्दी फिल्मको स्वर्णकाल पनि भारत स्वतन्त्रभएछिको दुई दशककै समयलाई मानिन्छ। सत्तरी र असीको दशकमा यथार्थवादी र प्रयोगवादी कलात्मक फिल्मको अर्को लहर आयो।

पछिल्लो एक डेढ दशक यता बनेका केही हिन्दी फिल्महरूले कलात्मक र व्यवसायिक फिल्म अलग नभई सँगसँगै जान सक्छ भन्ने सम्भावना बलियो देखाएका छन्। यो सूचीमा परेका फिल्म पनि धेरै त्यस्तै छन्, जसमा दुवै पक्षको समायोजन भएको छ।

विषय र समयको अन्तरसमेतलाई ध्यान दिई पछिल्लो सात दशकमा बनेका हिन्दी भाषाका यी दश फिल्म निर्देशन, कलाकारको अभिनय वा फिल्मको विषयवस्तु कुनै न कुनै हिसाबले वा सबै हिसाबले राम्रा छन्।

समीक्षकहरूको प्रशंसा जित्न सफल यी फिल्महरूले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितेका छन्।

मसान (२०१५), निर्देशक निरज घेवान

मसानले देवी र दीपक नामका दुई पात्रको समानान्तर कथा भन्छ। देवी (ऋचा चढ्ढा) को कथा दुर्घटनाबाट सुरू हुन्छ। आफ्नो प्रेमीसँग होटलमा बस्न गएकै बेला प्रहरीले छापा मार्दा उनको प्रेमीले आत्महत्या प्रयास गर्छ। प्रहरीका लागि भने यो घटना देवी र उनका बुबा विद्याधरमार्फत पैसा धुत्ने माध्यम बन्छ।

आफ्नो नजरमा दोषी नभए पनि समाजको नजरमा गलत देवीको जीवन यो घटनापछि कता मोडिएला? सुरूका केही मिनेटमै दर्शकलाई सोच्न बाध्य बनाउँछ। अवकाश प्राप्त संस्कृत शिक्षक बुबासँग देवीको सम्बन्ध कसरी अगाडि बढ्ला? स्वभाविक रुपमा यो प्रश्न पनि जाग्छ।

दीपक (विक्की कौशल) को कथा भने हरिश्चन्द्रघाटको परिवेशमा छ। दीपक आफ्ना बुबा, काका र नातेदारहरूजस्तै मुर्दा पोल्न दाउरा बटुल्ने काम गर्दै हुर्केको पात्र हो। सधैं मान्छे जलेको देखेर हुर्केको, त्यही कठोर काम गर्दै इन्जिनियरिङ पढेको दीपक आफैं भने कोमल छ। ‘तल्लो जात’ मानिने दीपक कथित माथिल्लो जातको परिवारकी केटीसँग प्रेममा परेपछि दीपकको जीवनले कोल्टे फेर्छ।

विक्की कौशलको पहिलो भए पनि हरेक दृश्यमा सहज अभिनय गरेर मन जित्छन्।

निरज घेवानको पहिलो निर्देशनको यो फिल्मले सरल तर गहन कथा भन्छ। सुन्दर ढंगले खिचिएको घाट वरपरका दृश्यले मृत्युलाई प्राकृतिक र यथार्थका रूपमा स्वीकार्न बाध्य पार्छ। पृष्ठभूमिमा बजिरहने रेलको छुकछुकले परिवेशलाई झनै जीवन्त बनाएको छ। रातको समयमा गंगावारि साथीहरूमाझ भक्कानो फुट्ने गरी रोइरहेको दीपक अनि नदीपारि पृष्ठभूमिमा झिपझिपे प्रकाशमा गुडिरहेको रेल फिल्मको एउटा निकै सुन्दर दृश्य हो।

ठाउँठाउँमा कविताका अंश प्रयोग भएका छन्। चर्चित कवि दुष्यन्त कुमारको कवितामा आधारित गीत ‘तु किसी रेल सी गुजरती है’ बाहेक इन्डियन ओसन ब्यान्डको ‘भोर’ र ‘कस्तुरी’ पनि कथाकै हिस्सा बनेर आएको छ।

फिल्मका यी दुवै मुख्य पात्रको सामान्य दैनिकी क्रमभंग भएको छ। दुवैको मन चोइटिएको छ। मसान मन चोइटिएका मान्छेको कथा हो। देवी र उनका बुबाले साँध्ने मौनता र उनीहरूको अनुहारमा देखिने अन्यौलले उकुसमुकुस बनाउँछ। घरीघरी ऐठनै पार्छ।

लन्च बक्स (२०१३), निर्देशक रितेश बत्रा

लन्च बक्स फिल्मभित्रै एउटा हिन्दी कहावत आउँछ– कहिलेकाहीँ गलत रेलले पनि सही ठाउँ पुर्याइदिन्छ। यस फिल्मका साजन (इरफान खान) र इला (निमरत कौर) त्यस्तै पात्र हुन्।

इलाले उनको श्रीमानका लागि भनेर पठाएको लन्च बक्स गल्तीले साजनको टेबुलमा आइपुग्छ। श्रीमानको मन तान्न छिमेकी आन्टीको सुझावमा मीठा परिकार पकाउने इलाले पकाएको लन्चको स्वादले साजन लठ्ठिन्छ। एक दिन, दुई दिन गर्दागर्दै यी दुई पात्र लन्च बक्स भित्रै चिठी राखेर भावना साट्न थाल्छन्। ती चिठी नै दर्शकलाई ती दुई पात्रको जीवनको नजिक पुर्याउने माध्यम बन्छ। केटाको चिठी अंग्रेजीमा र केटीको चिठी हिन्दी भाषामा आउँछ।

श्रीमती गुमाएर रित्तिएका साजन र श्रीमान भएर पनि नभए झैं स्थितिमा पुगेकी इला आफ्नो कुरा पोख्न नपाएर गुम्सिएका पात्र हुन्। हरेक दिन साजन अफिस आउँदा जाँदाका दृश्यले मुम्बई सहरको भिड र उसको एक्लोपनले बोकेर हिँड्छ।

योभन्दा अगाडिको कथा फिल्मले भनिहाल्छ। यति चाहिँ भनौं, फिल्मको कथाभन्दा कथालाई बुन्ने शैली तारिफयोग्य छ। मुम्बईका साइकल र रेलमा देखिने डिब्बावालाहरूको समूहलाई फिल्ममा सुन्दर ढंगले खिचिएको छ। लन्च बक्सले ती डिब्बावालाको कथा नभनिकनै मुम्बई सहरको दैनिकीमा उनीहरूको महत्वपूर्ण योगदान देखाएको छ।

पटकथा, सम्पादन, अभिनय र निर्देशन सबै चुस्त लाग्ने लन्च बक्स मन अघाउने स्वादिलो सिनेमा हो। यो कान फिल्म फेस्टिभलमा क्रिटिक्स विक भ्युअर्स च्वाइस अवार्ड जित्न सफल फिल्म हो।

उडान (२०१०), निर्देशक विक्रमादित्य मोटवानी

माया गर्न नजान्ने मान्छे अभिभावक भयो भने कति रुखो हुन्छ, उडानमा देखिन्छ। मायाको भोकले छटपटाउने पात्र कस्ता हुन्छन्, उडानले देखाउँछ। मान्छेको सपनाले बन्धनको चारदिवार नाघ्ने घरिघरि दुस्साहस किन गर्छ, यो पनि उडानमै हेर्न पाइन्छ।

चार साथीहरू ‘अश्लिल’ सिनेमा हेर्न होस्टलबाट भागेर सिनेमा हल पुग्छन्। हलकै पछाडि कुनामा बसेर रोमान्स गरिरहेका जोडीलाई जिस्काएको व्यक्ति आफ्नै स्कुलका वार्डेन परेपछि उनीहरू भाग्छन्। यही घटनाले उनीहरू स्कुलबाट निकालिन्छन्।

रोहन आठ वर्षसम्म स्कुलमा भेट्न नआएका बुबासँग बस्नुपर्ने कल्पनाले नै आत्तिएको छ। आमाको निधन भइसकेक रोहन बुबाले आफूलाई माया गर्दैनन् भन्नेमा स्पस्ट छ। घर पुग्दा बुबाको दोस्रो बिहा भएको र छोरा पनि भएको कुराले उसलाई एकै पटक अचम्मित र दुःखी बनाउँछ।

छोरालाई फ्याक्ट्रीमा काम गराउँदै इन्जिनियरिङ पढाउने बुबाको सपना र लेखक बन्ने सपना देख्ने छोराको सपना। त्यसपछिका घटनाक्रममा बुबा र छोराबीचको द्वन्द्व मत्थर हुँदै जाला वा अझै चर्केला? यही कुराले दर्शकमा जिज्ञासा बढाउँछ।

फरक उमेरका पात्रको मनोविज्ञानको सूक्ष्म चित्रण गरिएको उडानमा बुबाको भूमिकामा रौनित रायले बुलन्द अभिनय गरेका छन्। रोहनको आँखामा किशोरवय आवेग फिल्मभरि देख्न सकिन्छ। अमित त्रिवेदीको संगीतले फिल्मलाई भावनाको बेग्लै उडानमा पुर्याउँछ।

कमै महत्व पाउने किशोरवय उमेर समूहको मनोविज्ञानलाई महत्व दिएको यो फिल्म कान फिल्म्स फेस्भिलमा अन सर्टेन रिगार्ड पाउन सफल फिल्म हो।

१९४७ अर्थ (१९९८), निर्देशक दीपा मेहता

भारत अढाइ सय वर्ष लामो बेलायती राजबाट स्वतन्त्र हुनु अनि भारत र पाकिस्तान विभाजन हुनु एउटै सिक्काका दुई पाटा हुन्। यी दुवै घटनाले भारतमा मात्रै नभई दक्षिण एसियाकै राजनीतिमा दीर्घकालीन असर छोडेको छ।

स्वतन्त्रता र विभाजन वर्ष १९४७ मा मान्छेहरूले हजारौंहजारको संख्यामा हत्या, हिंसा, बलात्कार र विस्थापनजस्ता समस्या झेल्नु पर्यो। यसको दाग भारतीय र पाकिस्तानी मान्छेको मनबाट सायदै मेटिएला। इतिहासको त्यही घाउमा मल्हम लगाउन यो विषयको वरिपरि धेरै फिल्म बनेका छन्। धेरै किताब लेखिएका छन्। निर्देशक दीपा मेहताले विभाजनकै विषयमा लेखिएको बाप्सी सिधवाको उपन्यास ‘क्र्याकिङ इन्डिया’लाई ‘१९४७ अर्थ’ नाम दिइन्।

सम्पन्न पारसी परिवारकी सदस्य लेन्नी, आया शान्ता (नन्दिता दास), दिलनवाज (आमिर खान) र हसन (राहुल खन्ना) बीचको मित्रता र प्रेमको वरिपरि कथा घुम्छ।

लेन्नीको परिवारका लागि काम गर्ने अरू पात्र पनि यी पात्रसँग जोडिएका छन्। उनीहरूबीच आत्मीय सम्बन्ध छ। विभाजनको संघारमा यी पात्रको दिनचर्या, दिल र दिमाग सबै फेरिन पुग्छ। वर्षौंसम्म मिलेर बसेका हिन्दु, मुस्लिम र सिखहरूलाई विभाजनको राजनीतिले अर्कै बनाउँछ। उनीहरूको सम्बन्धमा विभाजनको घटनाले पारेका सूक्ष्म दरार देखापर्छ।

विभाजनअघिको लाहोर परिवेशमा खिचिएको यो फिल्मका घटनालाई लेन्नी पात्रको माध्यमबाट भनिएको छ। यो फिल्म विभाजनलाई महिलाको आँखाबाट हेर्ने प्रयास पनि हो।

निर्देशक दीपाले ‘फायर’, ‘१९४७ अर्थ’ र ‘वाटर’ शृंखलाबद्ध फिल्म बनाएकी छिन्।

हजार चौरासी की माँ (१९९८), निर्देशक गोविन्द निहलानी

कुनै धार्मिक फिल्मको नामजस्तो लाग्ने ‘हजार चौरासी की माँ’ चर्चित लेखक महाश्वेता देवीको उपन्यासमा आधारित फिल्म हो। सुजाता चटर्जी (जया बच्चन) लाई मध्यरातमा आकस्मिक फोन आउँछ। झस्किँदै बिउँझिएकी उनलाई त्यो फोनले झनै व्याकुल बनाउँछ। त्यसपछि सुजाताले जुन कथा दर्शकलाई सुनाउँछिन्, त्यो कथाले दर्शकलाई पनि व्याकुल बनाउँछ।

आमाले आफ्नै अतीततिर फर्केर छोरा ब्रतीलाई बुझ्न गरेको कोशिसको कथा हो, हजार चौरासी की माँ। यो कोशिसमा उनले छोराको जीवनका नयाँ नयाँ पत्र भेट्दै जान्छिन्।

फ्ल्यासब्याक र वर्तमानलाई जोड्दै भनिने कथाको केन्द्रमा नक्सलाइट आन्दोलन छ। तर यो फिल्मलाई आमा छोराबीचको सम्बन्धको कथा भन्न मिल्छ। यो फिल्ममा जया बच्चनले निर्वाह गरेको आमाको भूमिका संवेदनशील छ। यति बलियो चरित्र कमै देख्न पाइन्छ।

आक्रोश, द्रोहकाल, अर्धसत्यजस्ता सशक्त फिल्म बनाउने गोबिन्द निहालानीको हजार चौरासी की माँ अर्को मथिंगल हल्लाउने फिल्म हो। यसमा अनुपम खेर, नन्दिता दास, सीमा विश्वास र मिलिन्द गुणाजीजस्ता कलाकार पनि छन्।

ब्यान्डिट क्विन (१९९४), निर्देशक शेखर कपुर

फुलनदेवी सानै उमेरमा आफूभन्दा धेरै जेठो मान्छेसँग बिहा, जातीय हिंसा र सामूहिक बलात्कारको शिकारसमेत भएकी पात्र हुन्। पछि, विख्यात डाकुदेखि भारतकी सांसदसम्म बन्न पुगेकी उनको जीवन आफैंमा कुनै फिल्मभन्दा कम छैन। उनकै जीवन कहानीमा निर्देशक शेखर कपुरले फिल्म बनाए, ‘ब्यान्डिट क्विन’।

ब्यान्डिट क्विन फुलनदेवीले मसहुर डाकुका रुपमा कमाएको उपमा हो। फुलनदेवीको जन्मथलो उत्तरप्रदेशको एउटा सानो गाउँबाट सुरू भएको यो फिल्ममा फुलनको बाल्यकालदेखि उनको आत्मसमर्पणसम्मको कथा समेटिएको छ।

भारतका डाकुहरूको जीवनशैलीलाई नजिकबाट उतार्ने यो फिल्म मुख्य रुपमा शोषण र प्रतिशोधको कथा हो। निर्दोष बालिकाबाट रुपान्तरण भएकी एउटा बागी पात्रको भोगाइ हो। दर्जनौं हत्याको अभियोगमा जेलनेल भोगेकी फुलनदेवी किन र कसरी ब्यान्डिट क्विन बनिन् भन्ने कथा फिल्मले भन्छ।

यद्यपी, फिल्मको कथा र फुलनदेवीको वास्तविक कथाबीच कतिपय कुरा मेल नखाएको भनेर विवाद पनि भएको थियो। हिंसात्मक दृश्य र अश्लिल शब्दका कारण यो फिल्म लामो समय विवादमा आइरह्यो।

भारतीय ग्रामीण समाजमा हुने विभिन्न खालका अन्यायको विरुद्ध बन्दुक बोकेको पात्रको भूमिकामा सीमा विश्वासले गरेको जीवन्त अभिनयका लागि मात्रै हेरे पनि ब्यान्डिट क्विन हेरे फरक पर्दैन। साथमा, निर्मल पाण्डे, मनोज बाजपेयीजस्ता कलाकारको अभिनय पनि छँदैछ।

सलाम बाँम्बे (१९८८), निर्देशक मीरा नायर

बम्बई भारतका सेलिब्रेटी बस्ने रंगीन सहर मात्रै हैन, यहाँ गाँसबासको ठेगान नहुनेको संख्या भारतका अन्य सहरभन्दा धेरै छ। गरिबीकै कारण सडकदेखि वेश्यालयमा जीवन बिताउन बाध्य बालबालिकाको संख्यो यो सहरमा धेरै छ। उनी कयौं अपराध र लागुपदार्थ सेवनको लतमा फसेका छन्। ‘सलाम बाँम्बे’मा यी सबै विषय कहीँ न कहीँ जोडिएर आउँछ।

फिल्मको केन्द्रीय पात्र करिब १० वर्षीय कृष्णालाई उनकी आमाले पाँच सय रुपैयाँ कमाएर मात्रै गाउँ फर्किन पाउने सर्त राखेकी छिन्। बम्बई आइपुगेको पहिलो दिन नै लुटिने कृष्णाले यहाँ आफूजस्तै साथीहरू पाउँछ। रेलवे स्टेसन नजिकै चिया बेच्ने काम गर्न थालेपछि कृष्णाबाट उसको नाम चायपाउ हुन्छ।

चिलम, मन्जुजस्ता साथी पाएको ऊ ‘सोला साल’सँग प्रेममा पर्छ। राति सुत्नेबेला आमाको यादले पिरोलिने कृष्णाको गाउँ फर्किने सपना, उसको मित्रता र प्रेमको कथा यसपछिका घटनाले देखाउँछ।

कृष्णा पाँच सय रुपैयाँ जम्मा गरेर घर फर्केला या बम्बई नगरीको हुलमा हराउने बालबालिका जस्तै कतै अल्झेला? बम्बईका सडकमा गुरिल्ला शैलीमा छायांकन गरिएको यो फिल्मका लागि निर्देशक मीरा नायरले वास्तविक सडक बालबालिकासँग लामो समय बिताएकी थिइन्। यही प्रयासले फिल्म यथार्थको नजिक देखियो र प्रशंसित भयो।

सडकमै हुर्के बढेका बालकलाकारलाई नै अभिनय गराइएकोले हुलिया, हाउभाउ र लवज आदि फिल्मको सशक्त पक्ष बन्यो। यस्तै धेरै विशेषताले सलाम बाँम्बेलाई ओस्कार र कानजस्ता प्रतिष्ठित महोत्सवमा पुर्यायो। कान महोत्सवमा दर्शकको नजरमा सर्वश्रेष्ठ बन्न सफल यो फिल्म ‘मदर इन्डिया’पछि अस्करमा विदेशी भाषातर्फ मनोनित हुने दोस्रो हिन्दी फिल्म हो।

फिल्ममा नाना पाटेकर, शबाना आजमीकी आमा र इरफानसमेतको अभिनय छ। मुख्यपात्र शाफिकले यो फिल्मका लागि उत्कृष्ट बाल कलाकारतर्फ राष्ट्रिय पुरस्कार पाएका थिए।

स्पर्श (१९८०), निर्देशक साई पारान्जपे

१९७० र ८० दशकमा सबभन्दा राम्रा फिल्म खेल्ने कलाकार जोडीमा पर्छन्, नसरुद्दीन शाह र शबाना आजमी। यी दुईले अभिनय गरेका राम्रो फिल्मको सूचीमा ‘स्पर्श’ पनि पर्छ। दृष्टिविहीनको संवेदनालाई छोएको यो फिल्मले दर्शकको आँखासँगै मनमै स्पर्श गर्छ।

आज पनि अक्सर आँखा नदेख्ने पात्रलाई सहानुभूति जताउने हिसाबले प्रस्तुत गरिन्छ। तर ‘स्पर्श’ले त्यो परम्परा तोडेको छ। यसले दृष्टिविहीन पात्रको आत्मसम्मानको कुरालाई महत्व दिएको छ। फिल्ममा ब्रेललिपीमा बालबालिकाका लागि पाठ्यसामग्रीभन्दा बाहिरका साहित्यिक सामग्रीको खाँचोबारे पनि औंल्याइएको छ।

आँखा देख्न नसक्ने बालबालिका र आँखा देख्ने शिक्षिकाको अन्तक्रियाबाट दृष्टिविहीनका दिनचर्या, क्षमता र मनोविज्ञानबारे हामी सबैले थाहा पाउनै पर्ने धेरै कुराको जानकारी पाइन्छ।

स्पर्शमा नशरुद्दीन शाह दृष्टिविहीनहरूको विद्यालयका प्राध्यापक अनिरुद्धको चरित्र निर्वाह गरेका छन्। यही विद्यालयमा कविता (शबाना आजमी) शिक्षक बनेर आउँछिन्।

यी दुई पात्रको भेटले एकअर्काको जीवनमा क्रमशः हेरफेर ल्याउँछ। त्यो बदलाव पढ्नभन्दा हेरेरै स्पर्श गर्दा मजा आउँछ। विपरीत भोगाइको भेटले मान्छेलाई नयाँ कुरा सिकाउँछ भनिन्छ। अनिरुद्ध र कविता त्यस्तै पात्र हुन्, जसले एकअर्काको संगतबाट जीवनको नयाँ आयामलाई स्पर्श गर्छन्।

त्यो अद्भूत स्पर्शले दर्शकलाई पनि कतै न कतै छोएर जान्छ। सबभन्दा ठूलो कुरा फिल्मले, दृष्टिविहीनहरूप्रति सहानुभूति हैन, सम्मान र समान भाव जगाउँछ।

‘स्पर्श’ले उत्कृष्ट फिल्म, अभिनेता र स्क्रिनप्लेका लागि राष्ट्रिय पुरस्कार जितेको थियो।

शतरंज के खिलाडी (१९७७), निर्देशक सत्यजित राय

सामाजिक सञ्जाल र भिडिओ गेमको लतले आजका मान्छे बिग्रिए भन्ने धेरै सुन्न, पढ्न पाइन्छ। तर लखनऊ दरबारका मिर्जा सज्जाद अली (संजिव कुमार) र मीर रौशन अली (शईद जाफरी) आजभन्दा डेढ सय वर्षअघि नै बिग्रेका थिए। मोबाइल नभएको त्यो जमानामा उनीहरूलाई शतरंज (चेस) को नशा लागेको थियो।

नशा यतिसम्म कि, उनीहरूलाई राज्यका अरु मान्छेको त के, आफ्नै श्रीमतीको भावना बुझ्ने समय छैन। यी दुई पात्रजस्तै अवधका नवाब वाजिद अली शाहदेखि सर्वसाधारणसम्म त्यो समयमा विलासिताको रङमा डुबेका थिए।

त्यही भएर ब्रिटिस इन्डिया कम्पनी अवधमाथि आफ्नो नियन्त्रण बढाउने दाउमा रहँदा पनि राज्य बचाउने जिम्मेवार व्यक्ति भने शतरंज खेल्ने ठाउँ खोजीखोजी भड्किन्छन्। बंगाली मूलका निर्देशक सत्यजित रायले फिल्म शतरंजका खिलाडी फिल्ममा विलासीपन र विलासिताले निम्त्याउने परिणामलाई रोचक र सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

बंगाली भाषामा ‘अपु ट्रिओलोजी’जस्तो सशक्त फिल्मका निर्देशक रायले ओस्कारको लाइफटाइम अचिभमेन्ट अवार्डसमेत पाएका छन्। शतरंज के खिलाडी उनले निर्देशन गरेको पहिलो हिन्दी फिल्म हो।

यस फिल्ममा रायले सन् १८५० को दशकको लखनऊको परिवेश र राजा रजौटाको जीवनशैलीलाई चित्रण गर्न रायले दरबारीया भवन, भेषभूषादेखि तत्कालीन समयको शास्त्रीय संगीतसम्मलाई प्रयोग गरेका छन्। व्यंग्यात्मक तर सरल यो फिल्म एकातिर इतिहासको कथा हो भने अर्कोतिर अम्मल र अय्यासीले मान्छेको जीवनमा पार्ने असरमाथिको सूक्ष्म अवलोकन पनि हो।

अन्य मुख्य कलाकारमा सबाना आजमी र अमजद खानको भूमिका मुख्य छ। फिल्मको कथाको केही अंश अमिताभ बच्चनको स्वरमा वाचन गरिएको छ। रायको यो फिल्म साहित्यकार प्रेमचन्दको कहानी शतरंज के खिलाडीमा आधारित छ।

दो बिघा जमिन (१९५३), निर्देशक बिमल राय

आकाशमा कालो घनघोर बादल देखेर शम्भुको परिवारको अनुहार उज्यालो छ। लामो समयपछि पानी पर्न लागेकोले सारा गाउँ नै खुसी भएर नाचिरहेका छन्। तर यो हाँसो गाउँलेको अनुहारमा लामो समय टिक्दैन। गाउँको जमिनदार र सहरीया व्यापारीबीचको साठगाठले उनीहरू आफ्नो जीवनमा नयाँ संकट आउन लागेको महशुस गर्छन्।

जमिन्दार हरनाम सिंह फराकिलो जग्गामा ठूलो मिल खोल्न चाहन्छ। उसले मिल खोल्ने सपना बुनेको जमिनको बीचमा शम्भु महतोको जग्गा छ। जमिनदार चाहन्छ शम्भुले त्यो जमिन बेचोस् र मिल बनाउने बाटो खोल्दिओस्। शम्भुले नमानेपछि जमिनदारले उसलाई दुःख दिन थाल्छ।

जमिनदारले शम्भुलाई छल गरेर भएको भन्दा कयौं गुणा ऋणको भारत बोकाइदिन्छ। निरीह शम्भु पैसा कमाउने दबाबमा कलकत्ता जान्छ। आफ्नो दुई बिघा जमिन जोगाउन अदालतबाट उसले तीन महिनाको समय पाएको छ।

आफ्नो ऋण तिर्न कलकत्तामा उसले के गर्छ? ऋण तिर्न सक्छ कि सक्दैन भन्ने कुरा नै फिल्मको मुख्य कथा हो।

एउटा किसान परिवारले आफ्नो गुमेको जमिन जोगाउन गरेको संघर्षको कथा दो बिघा जमिन बहुप्रशंसित फिल्म हो। निर्दोष किसान शम्भुको भूमिकामा बलराज शाहनी र पारोको भूमिकामा निरुपा रायको अभिनय आज पनि प्रिय लाग्छ।

भारतीय किसानको समस्या र उनीहरुमाथि जमिन्दारको शोषणलाई जीवन्त ढंगमा देखाइएको यो श्यामश्वेत फिल्मले कान महोत्सवमा ग्रान्ड पिक्स इन्टरनेसनल अवार्डसमेत जितेको थियो।

रवीन्द्रनाथ टैगोरको बंगाली कविताको नाम राखिएको ‘दो बिघा जमिन’ बनाउनुअघि इटालियन निर्देशक भितोरियो डि सिकाको ‘बाइसाइकल थिफ्स’बाट प्रभावित मानिने बिमल रायको यो फिल्ममा त्यसको प्रभाव झल्किन्छ।

कान फिल्म फेस्टिभलमा ‘इन्टरनेसनल प्राइज’ जित्ने पहिलो भारतीय फिल्म बन्न सफल दो बिघा जमिनले पहिलो भारतीय फिल्म फेयर अवार्ड जित्ने फिल्मको इतिहास पनि बनाएको छ।

Leave a Reply

Your email address will not be published.