October 17, 2021

Halkhabar kura

Entertainment Site

राजनैतिक सोर्स वा चिनजानको व्यक्ति नभइ राम्रो उपचार नपाइने हाम्रो ‘वाह गणतन्त्र’ !

1 min read

केशवप्रसाद भट्टराई

१. हिजो फेसबुकमा सिन्धुलीका एमाले नेता एवं सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लादकुमार पोखरेलले एक जना रहरलाग्दो युवकको फोटो राखेर लेख्नुभएको थियो- ‘५ दिनअघि म टिचिङ्ग भर्ना भएको छु दाइ, चिनजानको कोही छ भने भन्दिनुस् न भन्ने बोली सायद अब कहिले सुन्न नपाउने भैयो । अल बिदा तिलक ।’

तिलक नाउका ती युवकको निधनअघिको उनको पीडाबारे केही नभनीकन नै प्रह्लाद पोखरेलते उक्त स्ट्याटसमा धेरै भने ।

आफैँ जिल्लाको मूख्य सरकारी अस्पतालका अध्यक्ष र एमालेका नेता भएका पोखरेलले भन्ने र सुन्ने कोही टिचिङ अस्पतालमा थिए-थिएनन्, थाहा भएन । तर अस्पतालमा बिरामी भएर भर्ना भएका ती युवकलाई कोही चिनेको मानिस नभएको पीडा त खट्किएको रहेछ नि ।

सवाल एउटा बिरामीले देशको मूख्य र प्रतिष्ठित सरकारी अस्पतालमा आफू उपेक्षित भएको अनुभव गरे र प्रह्लाद पोखरेललाई अनुनय-विनय गरे ।

अस्पतालले उनलाई उपेक्षा गऱ्यो कि गरेन त्यो अर्को कुरा हो, तर तिलकले त्यो अनुभव गरे र आफूमाथि कुनै उपेक्षा कसरी भएको थियो त्यो बताउन उनी जीवित रहेनन् ।

नेपालका सरकारी अस्पतालहरूको आम चरित्र बताएर तिलक यो धर्तीबाट बिदा भएर गए ।
कोरोनाका कारण समाचारपत्र र सामाजिक संजालमा दिनहौँ पढिने मृत्युका समाचार र समवेदना पढ्दा पढ्दा उद्विग्न मलाई प्रह्लाद पोखरेलको हिजोको पोस्टले बढी नै ब्यथित बनायो ।

रोगले मात्रै नभएर स्वास्थ्यकर्मीहरू समेतको उपेक्षाको पीडाले निधन भएका ती युवकको चित्र मनमा आएको आयै छ ।

अस्पतालमा औषधि र अन्य सामग्री त बिरामीले किन्नै पर्दछ अब अक्सिजनको सिलिन्डर समेत बिरामीले आफैँले लिएर नगइ अस्पतालले भर्ना नै नगर्ने कस्तो अमानवीय स्थितिमा छौँ, हामी !

२. कुनै डाक्टर, नर्स वा कमसेकम अस्पतालमा काम गर्ने कुनै सहयोगी वा सफाई कर्मचारीसम्म चिनेको मानिस भए बिरामीले पाउने व्यवहार र त्यस्ता कोही नभएका मानिसले अस्पतालहरूमा पाउने व्यवहारको मात्रै कुरा नगरौँ ।

कुनै पनि सरकारी कार्यालय वा संस्थानमा आफूले चिनेको सानो-ठूलो ओहदाको व्यक्ति छ वा छैन भने सेवाग्राहीले पैसा तिरेर खरीद गरेर पाइने व्यवहारमा कत्तिको भेदभाव र पक्षपात हुन्छ, नेपालमा कसैले कसैलाई भन्नै पर्दैन ।

तिमीलाई म कर तिर्छु भनेर कर बुझाउन जाने मानिसले पनि उपेक्षा खेप्नुपर्ने, जसको करले उसको जीविका धानिएको छ उसबाट हेपाइचो ब्यहोर्नुपर्ने करदाता हुन् हाम्रा, अझ घुस खुवाएर कर तिर्नुपर्ने !

३. टिचिङ अस्पताल जस्तै अस्पताल हो अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज । ठ्याक्कै मिति त भन्न सकिएन म नेपाल शिक्षक सङ्घको अध्यक्ष थिएँ । शिक्षकहरूको एउटा सम्मेलन भाग लिन हाम्रो प्रतिनिधि मण्डल दिल्लीमा थियो ।

महाकाली अञ्चललाई प्रतिनिधित्व गर्ने नेपाल शिक्षक सङ्घका केन्द्रिय सदस्य हुनुहुन्थ्यो कृष्णचन्द्र पन्त ।

उहाँ पनि उक्त सम्मेलनको सहभागी (हाल कंचनपुरमा बस्नुहुन्छ ।)

रातको समय थियो , पन्तजी अचानक पेट दुखेर फत्र्याक फत्र्याक पर्नुभएछ !

धेरै समय हुँदा पनि उहाँको अवस्थामा सुधार नभएपछि मलाई खबर भयो, उहाँ झन्डै इन्तु न चिन्तुको अवस्थामा ।

राति ! कसलाई के भन्ने, कहाँ हारगुहार गर्ने ? न कोही चिनेको न जानेको !

आयोजक लोकल साथीहरूको न बसाइको पत्तो थियो न फोन नं ! सबै कुरा सोच्ने समय पनि भएन ! त्यत्रो विशाल दिल्ली !
अस्पताल कहाँ छ, थाहा छैन !

जे त पर्ला भनेर एउटा ट्याक्सी लिएँ र पन्तजीलाई पछाडिको सिटमा सुताएर ड्राइवरलाई अल इन्डिया मेडिकल इन्स्टिच्युटको नाऊँसम्म सुनेकोले त्यहाँ लैजान भनेँ । नौलो ठाउँमा एउटा सिकिस्त बिरामी साथी लिएर जाँदा मनमा उठ्ने कुराहरू बताउन सकिन्न ।

४. पन्तजीलाई सोझै इमर्जेन्सीमा लगियो । ह्वील चेयरमा राखेर यहाँबाट त्यहाँ त्यहाँबाट उता गर्दै पन्तजीको सबै जाँच भयो !
प्रक्रियागत हिसाबले सबै परीक्षण र उपचार हुने तर मैले हतार गरेर अनुनय विनय गरेर चाँडो गराउन ह्वील चेयरमा राखेर आफैँले यहाँ उहाँ पुऱ्याएको ।

तीन चार घण्टा डाक्टरहरूले उपचार गरे ।

त्यसपछि लैजान सकिने बताए !
पन्तजीले दुखाइ कम भएको र आराम हुँदै गएको बताउनुभयो । उहाँलाई पहिला जसैगरी ट्याक्सीमा सुताएँ र होटेलमा उहाँको कोठामा पुऱ्याएर म पनि होटेलको आफ्नो कोठामा फर्किएँ । अस्पतालभित्र भाषाको कारणले बाहेक म परदेशमा भएको मलाई अनुभव भएन ।

कुनै चिनजानको डाक्टर वा नर्सको खोजी आवश्यक नै देखिएन ! एउटा व्यवस्थित तरिकाले सबै काम भएको देखियो, भोगियो !
थाहा भयो उपचार गराउन त्यहाँ कुनै भनसुन नचाहिने रहेछ !

५. भारतका थुप्रै अस्पतालहरूमा हजारौँ नेपालीहरू उपचार गर्न एक्लै दुक्लै जान्छन्, को चिनेको पाइनु ? उपचार गर्छन् आउँछन्, कसैको निधन हुन्छ पनि ! तर चिनेको मानिसको खोजी आवश्यक हुने भए जाँदैनथे होलान् !

चिनजानको मानिस चाहिने, भनसुन आवश्यक हुने भए लर्को लागेर त्यता जाने थिएनन् होला ! पेशागत चेतना र पेशागत धर्मले काम गरेको होला त्यहाँ ! शायद अस्पतालमा र स्वास्थ्य प्रतिष्ठानहरूमा कार्यकर्ता भर्ना नगरिने भएर होला !
किन त्यता गएको भनेर सोध्दा उनीहरू त्यहाँ धेरै सजिलो र कम खर्चमा उपचार हुने बताउँछन् ।

६. प्रजातन्त्रले नपुगेर पनि लोकतन्त्रसहितको गणतन्त्रमा छौँ, हामी !

डेढ दशकभन्दा लामो समयदेखि कम्युनिस्टहरूको नेतृत्वको या उनीहरू निर्णायक हैसियतमा रहेको सरकार मुलुकमा छ । अझ कम्युनिस्टमा पनि सबैभन्दा क्रान्तिकारी माओवादीदेखि लेनिनवादीसम्मका दलहरू यो अवधिमा सबैभन्दा लामो समय सरकारमा ।

तर मुलुकको मूख्य सरकारी अस्पतालमा बिरामीले ?