October 19, 2021

Halkhabar kura

Entertainment Site

महँगीले आक्रान्त जनतालाई ओली सरकारको उपहार – फेरि बढायो पेट्रोलको मूल्य, कति पुग्यो ?

1 min read

महँगीको मारले आक्रान्त नेपाली जनतालाई ओली नेतृत्वको सरकार मातहतको नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएर अर्को घाउ दिएको छ।

पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ कायम भएको छ ।

हवाई ईन्धन (आन्तरिक उडानतर्फ) साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेर ७४ रुपैयाँ कायम भएको छ ।

एलपी ग्यास तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान तर्फ) को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ९.३५ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३९२.८२ रुपैयाँ घाटा कायम रहने उनले बताएका छन् ।

अर्धमासिक रुपमा निगमलाई करीब १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहिरहने उपाध्यायले बताएका छन् ।

घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने गरिने उनले जानकारी दिए ।

पछिल्ला महिनामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै आएको जनाइएको छ ।

नेपाल आयल निगमले विश्व बजारलाई पछ्याउदै तेलको मुल्य वृद्धि गरेसँगै त्यसको चर्को बिरोध भएको छ । तर स्वचालित मूल्य प्रणाली भनिएपनि सोही अनुसार बढाउनुपर्ने मुल्य नबढाईएको निगमले जनाएको छ ।

करिब ६ बर्ष अगाडी २०७१ साल असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार कायम हुने गरी नेपालमा पनि स्वचालित मूल्य प्रणाली कायम गरिएपनि विश्व बजारमा पछिल्लो मूल्य वृद्धिअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य कायम नभएको निगमको दाबी छ ।

२ वा ५ प्रतिशतसम्म मुल्य बढाउने अधिकार निगमलाई भएपनि सर्वसाधारणलाई राहत दिने उदेश्यले स्वचालित मूल्य प्रणाली अर्थात अन्तराष्ट्रिय मुल्यअनुसार नेपालमा तेलको मुल्य नबढाईएको निगमका महानिर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा ५ प्रतिशत नाफा कायम हुने गरी तेलको मुल्य वृद्धि गरिएको भए १६ फेब्रुअरी २०२१ सम्ममा नेपाली बजारमा पेट्रोलको मूल्य प्रति लिटर १२७ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर १७ सय ६७ रुपैयाँ हुन्थ्यो ।

महानिर्देशक पौडेल भन्छन्, ‘तर नेपाली बजारमा महँगी नबढोस् र सर्वसाधारणलाई राहत मिलोस् भन्ने उदेश्यले निगमले घाटा खाएर नै आजको दिनमा पेट्रोल प्रति लिटर ११४ रुपैयाँ, डिजेल र मट्टितेल ९७ रुपैयाँ र खाना पकाउने ग्याँस १४ सय रुपैयाँमा बिक्रि गरिँदै आएको छ ।’

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै डलरको मूल्य पनि बढेकाले पेट्रोलियम पदार्थको भाउ थोरै भएपनि वृद्धि गर्नलाई निगम बाध्य भएको महानिर्देशक पौडेल बताउँछन् । निगमले सर्वसाधारणको हितलाई मध्यनजर गरेर अन्तराष्ट्रिय बजार मूल्यअनुसार मूल्य नबढाएको भएपनि बजारमा मूल्य वृद्धि गरियो, निगम नाफामुखी भयो भनेर आलोचना गरिएकोप्रति महानिर्देशक पौडेलले असन्तुष्टि जनाए ।

महानिर्देशक पौडेलकाअनुसार बिगतमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर हुँदा पनि निगमले तेलको मूल्य वृद्धि गरेको थिएन तर, अहिले कच्चा तेलको मूल्य वृद्धिसँगै अमेरिकी डलर पनि महँगो भएकाले तेलको मूल्य बढाउन निगम बाध्य भएको हो ।