January 24, 2022

Halkhabar kura

Entertainment Site

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका ६ जनाको पीसीआर रिपोर्ट आज आउने

1 min read

काठमाडौं । र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका ६ जनाको पीसीआर विधिबाट गरिएको परीक्षण रिपोर्ट आज आउने भएको छ। र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका काभ्रे, धादिङ, सप्तरी र गोरखाका ६ जना नै विदेशबाट नेपाल फर्किएका हुन्। पोजेटिभ देखिएका काभ्रे र सप्तरीका दुई-दुई जना हुन् भने धादिङ र गोरखाका एक-एक जना छन्।

काभ्रेको बेथाञ्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक एक जनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो। बेथाञ्चोक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए।

किटमा पोजेटिभ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर मंगलबारबाटै पीसीआर विधिबाट स्वाब परीक्षण थालिएकाले आज पुर्नपरीक्षण रिपोर्ट आउने छ। यस्तै सप्तरीमा पनि दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएपछि मंगलबार नै उनीहरुको स्वाब परीक्षणमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिनुभयो। यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ। संक्रमण देखिएका युवा दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए।

उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो। गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा २७ वर्षीय युवामा पोजेटिभ देखिएको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो। गोरखाको आरुघाट गाउँपालिकामा पनि एक युवकमा आरडीटीले कोरोना पोजेटिभ देखाएको छ। विदेशबाट फर्किएका २० जनाको आरडिटी गर्दा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो।

ती युवक चैत १ मा बहराइनबाट फर्केका थिए। थप परीक्षणका लागि उनको नमुना पोखरास्थित प्रयोगशालामा पठाइएको छ। युवक आइसोलेसनमा रहेको बताइएको छ। उनको पीसीआर परीक्षण रिपोर्ट आजै आउने बताइएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकै आधारमा आत्तिन पर्ने अवस्था नरहेकाले पीसीआर रिपोर्ट आइन्जेल कुर्न आग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published.