January 24, 2022

Halkhabar kura

Entertainment Site

भारतमा कोरोना संक्रमितको संख्या ११ हजार भन्दा बढी, ३७७ जनाको मृत्यु

1 min read

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ ।

भारतमा अहिलेसम्म कोभिड–१९ बाट ३७७ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी २६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ।

यस्तै दिल्लीमा अहिलेसम्म १५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ।

यस्तै नोवेल कोरोना भाइरसको संक्रमण तथा त्यसबाट हुने कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा यसको कहर अझै कम हुने संकेत देखिएको छैन ।

मंगलबार एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ । मंगलबार २४ सय भन्दा बढीको मृत्यु भएसँगै कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या २६ हजार ४७ पुगेको हो ।

यस्तै संक्रमितको संख्या पनि ६ लाख भन्दा माथि पुगेको छ । अहिलेसम्म अमेरिकामा ६ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्ला धेरै दिनदेखि हरेक दिन २५ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।

इपिसेन्टर न्यूयोर्कमा मंगलबार थप ७७८ जनाको मृत्यु भएसँगै राज्यमा ज्यान गुमाउनेको कुल संख्या १० हजार ८३४ पुगेको छ । यस्तै त्यहाँ संक्रमितको संख्या दुई लाख तीन हजार भन्दा बढी पुगेको छ । यस्तै न्यू जर्सीमा अहिलेसम्म २८ सय पाँच, मिसिगनमा १७ सय ६८ तथा लुजियानामा एक हजार १३ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि बढी प्रभावित भएको इटालीमा अहिलेसम्म २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो । इटालीमा कुल संक्रमितको संख्या एक लाख ६२ हजार भन्दा माथि छ ।

यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार २५५ तथा संक्रमितको संख्या एक लाख ७४ हजार भन्दा धेरै रहेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म एक लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् ।

विश्वभर हालसम्म कोभिड–१९ बाट एक लाख २६ हजार ५९६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ९७ हजार ६२० रहेको छ । अहिलेसम्म विश्वभर चार लाख ७८ हजार ४२५ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.