January 24, 2022

Halkhabar kura

Entertainment Site

स्पेनका प्रधानमन्त्री सान्चेजकी पत्नीलाई कोरोना भाइरसको संक्रमण

1 min read

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नीलाई कोरोना भाइरसको संक्रमण भएको छ । स्पेन सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री पत्नी डोना बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसनमा राखेर उपचार गरिने जनाइएको छ ।

प्रधानमन्त्री पेड्रोले कारोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप देशभर आपतकालीन अवस्था लागु गरेको केही घण्टापछि नै पत्नी डोनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । डोनासँगै प्रधानमन्त्री सान्चेजलाई पनि आइसोलेसनमा राखिएको र उनीहरु दुवैको स्वास्थ्य राम्रो अवस्थामा रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप युरोपियन युनियनका दुई ठूला देश स्पेन र फ्रान्सले इटालीको रणनीतिलाई पछ्याउँदै आपतकालीन प्रतिबन्ध लागु गरेका छन् ।

स्पेनमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्न बाहेक घर बाहिर ननिस्कन भनिएको छ । घरायसी सामग्री तथा औषधि किन्न वा काममा जान बाहेक घर बाहिर निस्कन नपाउने नियम प्रशासनले लागु गरेको छ ।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १९१ जनाको मृत्यु भएको छ । स्पेनमा ६ हजार तीन सयजनामा संक्रमण भएको छ ।

यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भइसकेको छ । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा अधिकांश पसलहरु बन्द भएका छन् ।

युरोपको सबैभन्दा बढी प्रभावित देश इटालीमा आउँदो सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु हुनेछ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १४ सय ४० जना भन्दा बढीको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारीको ‘इपिसेन्टर’ अहिले युरोप रहेको बताएको छ।

यता, कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासमा रहेको अमेरिकाले युरोपका विभिन्न देशमा यात्रा प्रतिबन्ध लगाएको छ । अमेरिकाको यात्रा प्रतिबन्धको सूचिमा बेलायत र रिपब्लिक अफ आयरल्याण्ड पनि समावेश भएका छन् ।

बेलायत र रिपब्लिक अफ आयरल्याण्डमाथिको यात्रा प्रतिबन्ध आउँदो मंगलबारदेखि सुरु हुने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको यात्रा प्रतिबन्ध युरोपियन युनियनका २६ देशमा शनिबारदेखि लागु भएको छ ।

उपराष्ट्रपति पेन्सले सो सूचिमा बेलायत र आयरल्याण्ड पनि समावेश भएको बताएका हुन् । उनले कोरोना भाइरसको निशूल्क परीक्षण सबै अमेरिकीलाई उपलब्ध गराइने पनि बताएका छन् ।

माइक पेन्सले गरेको सोही पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसको परीक्षण गरेको र आफूमा संक्रमण नरहेको जानकारी दिए । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ५७ जनाको मृत्यु भएको छ । यस्तै २८ सयजनामा संक्रमण पुष्टि भएको छ ।

विश्वका १२३ देशमा अहिलेसम्म एक लाख ३२ हजार पाँच सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डब्लुएचओले जनाएको छ ।

अहिले भाइरसको इपिसेन्टर युरोप बनेको डब्लुएचओको भनाई छ । गएको डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले चीनमा अति कम भएको छ ।

अमेरिकाले युरोपका देशमा ३० दिनको यात्रा प्रतिबन्ध लागु गरेको हो । अमेरिकाले यात्रा प्रतिबन्ध लगाएका देशहरुमा अस्ट्रिया, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्याण्ड, इटाली, लात्भिया, लिचेस्टाइन, लिथुवानिया, लग्जेम्बर्ग, माल्टा, नेदरल्याण्डस, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्ड छन् ।

Leave a Reply

Your email address will not be published.