October 28, 2021

Halkhabar kura

Entertainment Site

बरु हाम्रो प्राण दिन्छौ तर कालीनदी दिदैनौं !

1 min read

-विष्णु भक्त सिग्देल / तनहुँ

नेपाल-चीन सिमा तिव्वत नजिकै नेपालको भू–भागबाट उद्गमस्थल बनाएर कल्पितहुँदै हिमालय श्रृङ्खलाबाट शुरु भएर मुस्ताङ जिल्लाको मुक्तिनाथबाट आएको काक खोलासँग कागबेनीमा मुस्ताङखोला मिसिएपछि कालीगण्डकी नदी बन्छ।

यो हिमालयन श्रृंखलाबाट शुरु भएर विभिन्न खोंच, थुप्रै समथर फाँटहरु छिचोल्दै विश्वकै धार्मिक अस्मिता बन्दै भारतको गंगा–ब्रहमपूत्रसम्म अविछिन्न र अविचलित रुपमा बहदै गएको संसारकै पवित्र, कञ्चन, शुद्ध र सुन्दर नदीको नाम कालीगण्डकी (कृष्ण गण्डकी) हो भन्नेकुरा विभिन्न धार्मिक पुराण र ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ।

देवी भागवतमा उल्लेख भए अनुसार संसारकै सबैभन्दा महान र पवित्र नदि कालीनदी हो गया नदीमा गएर सय पटक स्नान गरेको भन्दा कालीगण्डकी नदीमा एक पटक स्नान गरेमा बढी पुण्य हुने भनिएको छ। अन्तर्राष्ट्रिय धार्मिक संस्कृतिक महत्वपूर्ण विरासत बोकेको यस नदी भगवान नारायण विराजमान भएको नदीको रुपमा पनि व्याख्या गरिएको पाईन्छ।

यो नदी पाल्पा र स्याङ्जाको सिमाना राम्दीबाट अगाडि बढ्ने क्रममा स्याङ्जा, पाल्पा, तनहुँ, नवलपुर र चितवनहुँदै नारायणी नदीको मुख्य नदीको रुपमा बहदै गरेको नेपालको प्रमुख नदीहरु मध्येको एक हो।

यो सुनखानी र भगवान नारायणरूपी शालिग्रामको उत्पत्तिस्थल हो। यस नदीको परिसरा प्राचीन ऋषिमुनिको जन्म, कर्म, तपोभूमि हो भने, गण्डकी सम्यता र सृष्टिको भूमि पनि हो। यस नदीमा हिमाल देखि पहाडको खोंच र पहाडका फाँटहरु पार गर्दै चितवन राष्ट्रिय निकुञ्जसम्म जोडेर दक्षिण एशियाको सर्वाधिक महत्वपूर्ण जलयात्रा र कालीनदी र्‍याफ्टिङ्ग विकासको प्रचुर संभावना रहेको, अध्ययन अनुसनधानले पुष्टि गरेको छ।

यस नदीको मीठो पर्यावरणका कारण ममतामयी काली नदीलाई जनताले अभिश्रान्त रुपमा माया स्नेहका साथ प्रातः कालमा स्नान गरि धार्मिक लाभको आनन्दमय अनुभूति गर्दै गौरवताका साथ जीवन विताईरहेका छन्। यहाँको थुप्रै धार्मिकस्थलको महत्व बढाउन कालीनदीको गौरवगाथा भनि– साध्य छैन।

लोमाङथाङ, मुक्तिनाथ क्षेत्र, जोमसोम, बेनी, वाग्लुङ–कालिका, कुस्मा, तातोपानी कुण्ड, पर्वत, राम्दीघाट, हुगी धार्मिक स्थल, मणीमुकुण्देश्वर मन्दिर, रामपुरको रामघाट–राममन्दिर क्षेत्र, स्याङजाको केलादीघाट, राधादामोदार मन्दिर, निम्र्वाक पीठको केन्द्रिय कार्यालय सहितको तपोभुमि हो।

तनहुँको वैडी, अत्रौली, पुट्टार, वालीघाट, नवलपूरको डेड्गाउँदेवी मन्दिर, घुमारीघाट, गढगडीघाट, देवघाटधाम जस्तो ऐतिहासिक धार्मिक महत्व यसै नदीको प्रभावले गर्दा नै भएको हो।

साथै नारायणघाटहुँदै वागमिकी क्षेत्र त्रिवेणी, मटिहानी, सोनपुर, गंगा–ब्रह्मपुत्र हुँदै संसारकै उत्कृष्ट मानिने धार्मिक स्थल हरिहर क्षेत्रका साथै चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मिकी नेशनल पार्कमा समेत कालीनदीको प्रभाव छ।

यो नदी त्रिवेणी हुँदै वग्दै गएर भारतको गंगा नदीमा मिसिन्छ। गंगा नदीमा मिसीदा नदीको लम्बाई ६२० कि.मी. हुन्छ भने, त्यस मध्ये ३३० कि.मी. नेपालमा पर्छ।

यो कालिगण्डकी नदीको उदगम स्थल, यस अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्दछ। यसै अन्नपूर्ण सर्किट भित्र आएर यहाँको मनोरम दृष्यहरुको प्रत्यक्ष अवलोकन गर्न संसार भरिका लाखौ पर्यटक आउने गर्दछन्। जसका प्रभावले यस क्षेत्रका मानिहरुको आर्थिक उपार्जनमा व्यापक वृद्धि र परिवर्तनहरु देखापरेको पाईन्छ। सँगसँगै ट्रान्स हिमालयन व्यापारको उत्तिकै महत्व छ।

यो कालीगण्डकी घाँटी शताब्दीऔदेखि भारत र तिव्वत विच एक लोकप्रिय व्यापार मार्गको रुपमा प्रयोग गरिदै आएको ईतिहास वर्तमान सम्म स्मृतियोग्यनै छ।

‘कालीगण्डकी– तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना’ स्याङजाको गल्याङ नगरपालिका वडा नं. १ मा रहेको मालुङगा र पाल्पाको रम्भा गाउपालिका ३ पिपलडाँडा क्षेत्रमा बाँध बनाएर त्यहाँको पानी तिनाउमा झार्ने परियोजनानै कालिगण्डकी तिनाउ डाइभर्सन परियोजना हो।

यसलाई सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी पुलबाट झन्डै २ंं.५ कि मी पर पिपलडाँडा वाट तिनाउमा खसाल्ने योजना रहेको पाइन्छ। रुपन्देही र कपिलवस्तुका खेतमा सिंचाई पुर्‍याउने र १२६ मेगावाट विद्युत निकाल्ने यस योजनाको लक्ष्य राखिएको पाईन्छ। तिनाउको दोभानमा विशाल जलासय निर्माण गरी केहि भाग पानी तिनाउ नदीमा बगाईने र केही पानी बुटवलको वेलवास सम्म ३ कि.मी. सुरुङ्ग मार्फत पठाएर विद्युत उत्पादन गरिने योजना रहेको छ।

कालीनदीको पानीलाई २७ र ७ कि.मी. मा दुई वटा सुरुङ्ग मार्फत तिनाउ नदीमा पानी खसालिने उक्त आयोजनाका लागि अनुमानीत लागत ४० अर्व अनुमान गरिएको छ। १ खर्ब ३८ अर्बको लागत अनुमान गरिएको आयोजनाबाट कुल १२६ मेगावाट विद्युत उत्पादन गर्ने तथा १०७ हजार हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुर्‍याउने उल्लेख छ। विद्युत उत्पादनका लागि ६४ अर्ब र सिँचाई तथा सिंचित क्षेत्र विकासका लागि ७४ अर्ब लागत अनुमान गरिएको पाईन्छ।

कालिगण्डकीनदीको बहाब हिउँदको समयमा १०२ घनमिटर प्रति सेकेन्ड पानी बग्छ, यद्यपी ८२ घन मिटर प्रति सेकेन्ड दरमा पानी तिनाउमा खसालीने योजना रहेको छ। १० देखि २० घन मिटर प्रति सेकेन्ड पानी मात्र कालिनदीमा छाडिने छ। यो ६६‍.६६ प्रतिशत पानी तिनाउमा लगिने र वांकी ३३.३३ प्रतिशत पानी कालीनदीमा छाडीनेछ। जस्ले गर्दा नदी कटीय क्षेत्रमा जलमार्गको कल्पना गर्नु नै पर्दैन र वातावरण, पर्यावरणमा र जैविक विविधतामा प्रत्यक्ष्य गंभीर संकट उत्पन्न हुनेछ।

यो कालीगण्डकी – तिनाउ डाईर्भसन आयोजना लामो समय देखि चर्चा भए पनि सरकारी दस्तावेजमा स्थान पाएको त्रिवर्षीय आयोजना वि.सं. २०७०÷०७१ देखि २०७२/०७३ मा राखिएको र वि.सं. २०७१ मा तत्कालिन अर्थमन्त्री रामशरण महतले यो आयोजनालाई बजेटमा समाबेश गरेका थिए। त्यस पछि अर्थमन्त्री भएका विष्णु पौडेलले वि.सं.२०७२ को बजेटमा यो आयोजनाको घोषणा गरे।

त्यसबेला घोषणा गरेको आयोजना पौडेलले अहिले पुनः अर्थमन्त्री भएपछि अघि बढाएका हुन। यस योजनालाई गण्डकी प्रदेश सरकारको पनि महत्वपूर्ण र गम्भीर चासोको विषय भएको हुनाले गण्डकीका तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ, तथा आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङलगाएतको नेतृत्वमा गण्डकी प्रदेश सरकारले यो आयोजनालाई अगाडि नबढाउन र रोक्न निर्णय र पहल कदमीका कारण अगाडि बढेको थिएन। गण्डकी प्रदेशमा पृथ्वि सुब्वा गुरुङ्गको नेतृत्वाको सरकार ढल्नु र केन्द्रमा विष्णु पौडेल अर्थमन्त्री हुनु संयोग मिलेको छ।

नेपाली जनताको महत्वपूर्ण कार्यभार र आर्थिक सामाजिक रुपान्तरण सहितको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारालाई सार्थकता प्रदान गर्न, विशेषगरी जलक्रान्ति, कृषि क्रान्ति र पर्यटनको विकास लाई प्रयोगमा ल्याउनु अनिवार्य छ।

यो विषय यस राम्दी–देवघाटसम्मको यस नदीको जलधार क्षेत्रको उपयोग उत्तिकै आवश्यक छ। कालीगण्डकी नदीको अभावले र अनुपस्थितिले यस भेगका जनता मरुभूमितुल्य अवस्थाको चित्रण गरी रुघ्ण परिस्थितीको कल्पना सहजै गर्छन्। अहिले पनि यस क्षेत्रमा थुप्रै सुख्खा फाँटहर सिँचाई बिहीन छन्। केही ठाउँमा प्रयाप्त सिँचाईको अभाव छ। यी सुख्खा फाँटहरुमा कालीनदीको पानीले सिंचित गर्न जरुरी छ। थुप्रै गाँउ बस्तीहरुमा विद्युतिकरणको अभाव कायमै छ। कालीगण्डकी नदीबाट विद्युत उत्पादन गरी विद्युतिकरण गर्न जरुरी छ।

यातायातको सुविधाबाट वन्चित थुप्रै बस्तिहरु छन्। यद्यपी यस क्षेत्रमा सहज र सुविधाजनक राजमार्ग र सडकको अभाव व्याप्त छ। यसका साथै पर्यटनको प्रचुर संभावना बोकेको यस कालीनदीमा जलयातायातको प्रचुर सम्भावना छ। जलयातायात मार्फत नारायणी, देवघाट हुँदै राम्दीसम्मको जलयातायात तथा रामम्दी – देवघाट र्‍याफ्टिङ्गको विकास गर्न सकेमा धार्मिक पर्यटनको ठूलो महत्व बढ्ने र यस भेगका जनाताको आयआर्जन र जिविकोपार्जनमा उलेख्य वृद्धि हुने निश्चित छ।

विशेषगरी संसारभरिका हिन्दु धर्मालम्बी तथा पर्यटकलाई मुक्तिनाथमा स्नान गरी कालीगण्डकी नदीको किनारै किनार देवघाटधामसम्म पुर्‍याई धार्मिक पर्यटन तथा कालीनदीको महिमाका बारेमा संसारभरी प्रचार–प्रचारमा ठूलो टेवा पुग्ने ज्वलन्त आश्यकता हुँदा हुँदै सम्पूर्ण रुपमा गण्डकी प्रदेश सरकार, कालीनदी प्रभावित क्षेत्रका स्थानीय सरकार, जलाधार क्षेत्रका जनता र सरोकारवालाहरु कसैसँग पनि सरोकार नराखी जवजस्ती षड्यन्त्र र दादागिरी पूर्ण शैलीमा गरिएको, साेंच चिन्तन र व्यवहार किमार्थ सहय छैन।

हिउदमा कालीगण्डकी नदीको बहाब १२० प्रतिसेकेन्ड घनमीटरले बग्छ। यद्यपी ८२ धनमिटर प्रतिसेकेन्डका दरमा पानी तिनाउमा खसाल्ने विषय यो रामदीदेखि तल कालिनदीलाई सुकाउने मरुभूमी बनाउने र कालीनदीको पवित्रता समाप्त पार्ने षड्यन्त्र हो। यसर्थ यो ‘घरका मान्छेले हाम्रो हो भन्न नपाउने, बाहिरीयाहरुले सबै हडप्ने’ प्रवृति सरासर अवैधानिक र अवस्तुवादी छ। सँगसँगै के पनि आशंका जन्मिएको छ, भने, अहिले रूपन्देही र कपिल्वस्तुलाई देखाउने, दीर्घकालिन रुपमा भारत लैजाने षडयन्त्र हो भन्ने आसङका समेत श्रृजना भएको छ।

यो भारतीय शासकहरुले नेपालको कञ्चन, पवित्र, शुद्ध पानीलाई आफ्नोभूमिमा प्रयोगका लागि कुटिलचाल समेत रहेको अनुमान गर्न सकिन्छ। भारतीयहरुको ‘सियो बनेर पस्ने मुसल बनेर निस्कने’ अंग्रेजको प्रवृति यहानिर मेल खान सक्ने सम्भावना देखिन्छ।

जसका प्रभावले राम्दीतल देखि देवघाटसम्मका जग्गाहरुलाई मरूभूमिकरण गर्ने, धार्मिक अस्मिताको चिरहरण गर्ने, र्‍याफ्टीङ तथा जलयातायातको सम्भावनालाई समाप्त गर्ने षडयन्त्र हाम्रा लागि किमार्थ स्वीकार्य छैन। हाम्रा लागि निन्दनीय छ।

केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, सरोकारवाला सम्पूर्ण संघ संस्थाहरु र सम्पूर्ण जनतालाई सचेत हुन, एकता प्रर्दशन गर्न र कालीगण्डकी नदीलाई संरक्षणका लागि एकजुट हुन आवश्यक देखिन्छ।

कालीगण्डकी – तिनाउ डाईभर्सन परियोजनाले संसारकै पवित्र नदी, शालिग्रामको संकट देखापर्छ। जसले गर्दा कालीनदीको धार्मिक महत्व र अस्मिता माथी गम्भीर खलल पुर्‍याउँछ।

जलाधार क्षेत्रका स्थानीय तह र जनतालाई बीना जानकारी, बीना सल्लाह र परामर्स बीना शुरू गर्न लागिएको यस परियोजनाको विषयमा आफ्नो हकाधिकार, भोगाधिकार र जीवन पद्दतिमा ठूलो अधात पुगेको र मर्माहित भएको अवस्थामा यहाँका जनताहरु एकताबद्ध भएर जुनसुकै मुल्य चुकाउन परे पनि यस कालीगण्डकी तिनाउ डाईभर्सन परियोजनालाई अगाडि बढाउन नदीने कुरामा दृढ संकल्पीत हुँदै दवाव अभियान संचालन गर्न लागि परेको अवस्था छ।

राज्य पूर्नसंरचनामाः पाल्पा जिल्लाको, पूर्वी पाल्पा विशेष गरीकन गण्डकी प्रदेशतर्फ फर्केका रम्मा गाउँपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका लगाएतका पालीकाहरु गण्डकी प्रदेशमा रहन चाहन्थे। विशेषगरीकन स्याङजाको पूर्वी–दक्षिणी, तनहुँको दक्षिणी पश्चिम, पाल्पाको पूर्वी उत्तरी, नवलपरासीको पश्चिम उत्तरी भू-भागलाई समेटेर एउटा जिल्ला निमाण गरिएको भए भौगौलिक अवस्था, विकास र प्रशासनिक हिसावले उपयुक्त हुन्थ्यो।

तर यी सबै आ–आफ्नो जिल्लाको सदरमुकामबाट टाढा दुर्गम र हेपिएको ठाउँहरु हुन। प्रकृतिले वरदान दिएको यस क्षेत्र शासकको नजरमा ध्यान पुग्न सकेन। त्यसैले विकासको दृष्टिकोणबाट निकै पछाडी परेको अवस्था छ। यद्यपी हामीले यसक्षेत्रलाई विकासको माध्यमबाट अगाडि बढाउन ‘वृहत्तर कालीगण्डकी बेशी विकार परियोजना’ सञ्चालन गर्ने संकल्पका साथ गरेका छौ। भनेका छौ यस ‘कालीगण्डकी नदी पानीमा मात्र होईन, यो त हाम्रो सभ्यता हो।’

यसर्थ
कालीगण्डकी–तिनाउ डाईभर्सन आयोजना प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ। सृष्टिकालदेखि यो नदी उपयोग, उपभोगका हिसावले अन्यत्र मोड्न वेठिक छ।

संघीय शासन प्रणालीको मूल्य, मान्यता, विधि र पद्धतिलाई अवलम्बन नगरी, स्वच्छाचारी, हैकमबादी र दादागिरी प्रवृति हावि भएको छ। यो सरासर बेठिक छ। खासगरीकन कालीगण्डकी नदीको उद्गमस्थलदेखि रिडीसम्म, गण्डकी प्रदेशमा पर्छ। त्यसपछि रिडीदेखी पाल्पाको रामपुर नगरपालिकाको सिमाना सम्म दुवै प्रदेशको साझा र त्यस देखी त्रिवेणीसम्म गण्डकी प्रदेशको मात्र स्वामित्व छ।

मुहानदेखि पुछारसम्म गण्डकी प्रदेश पर्छ। यद्यपी लुम्बिनी प्रदेश भित्र जवरजस्ती पारीएको अथवा राज्य पुर्न संरचनामा गण्डकी प्रदेशमा समाहित हुन चाहने जनताको जनचाहना विपरित लुम्बीनी प्रदेशमा समाहित गरिएको, रम्भा गाउँपालिका, रामपुर नगरपालिका समेत यो परियोजनाको विपक्ष र विरुद्धमा छ र कालीगण्डकीनदी बचाउ अभियानमा छन्।

यसको अर्थ कालीगण्डकीको प्रभावित क्षेत्र वा जलाधार क्षेत्रका सबै तहका सरकार, जनता र राजनितीक पार्टीहरु समेत एक ढिक्का हुँदै ‘हामी प्राण दिन्छौ तर कालीनदी दिदैनौ’ भन्ने नारामा गोलबद्ध हुँदैछन्।

नेपालको संविधानको अनुसूचि ६ को १८ नम्बर अनुसूची ७ को १३ नम्बरमा उल्लेख गरिएको हक अधिकारलाई वेवास्था गरी संघीय शासन प्रणालीको हक अधिकार र मुल्य मान्यतालाई उल्लङघन गरिएको छ। दुई प्रदेश बीचको नदी साझा हुन्छन्, दुई प्रदेशको बीचमा सहमति नगरी गरिएको यस परियोजनाको गण्डकी प्रदेश सरकार र जनताहरु विरुद्धमा छन् र यसलाई कार्यान्वयनमा अगाडि नबढाउन केन्द्रिय सरकारलाई अनुरोध समेत गरेको छ।

कालीगण्डकी नदीको जलाधारक्षेत्रमा पर्यावरणीय र वातावरणीय प्रभावकारीताको विस्तृत अध्ययन र अनुसन्धान विना गरिएको अवैज्ञानिक, अवस्तुवादी प्रकृति विरुद्धको यस परीयोजनाले वातावरणीय र पर्यावरणीय सन्तुलनमा अघात पुग्ने देखिन्छ। तसर्थ यो परियोजना किर्माथ विज्ञान सम्मत छैन यहाँको वातावरण, पर्यावरण र जैविक विविधतामा गम्भीर खलल पुर्‍याई प्रतिकुल असर पर्ने निश्चित छ।

जलक्रान्ति, कृषिक्रान्ति, र पर्यटनको विकास देश विकासको मूलआधार हो, यो विषय राम्दी–देवघाटसम्म भूभागमा पनि अति उपयुक्त हुने अवस्थामा, यस डाईभर्सनले ३ वटै पक्षमा भयङ्कार र खतरनाक एवं नकरात्मक असर पार्ने देखिन्छ। जसका कारण जलयातायात र्‍याफ्टिङ र धार्मिक पर्यटनमा गम्भीर संकट निम्त्याँछ र विकासको सम्भावना नै समाप्त हुनेछ। कृषियोग्य जमीनहरु मरुभूमिमा परिणत हुनेछ। विद्युत उत्पादनको काम समाप्त हुनेछ।

अन्त्यमा भन्न चाहान्छौं। कसैलाई लाग्न सक्छ डाईभर्सन अव ‘सपनाको विषय रहेन, हामी भन्छौ यो त दिवा सपना हो।’ कसैको लागि यो ‘रोलमोडल हो तर यस भेगको लागि गम्भीर पड्यन्त्र हो र गम्भीर दुर्भाग्य हो। ‘हामी भन्छौ हाम्रो गौरव हाम्रो अस्मिता हाम्रो जीवन काली गण्डकी नदी ‘सजिवलाई जीवन दिने, मुर्दालाई मुक्ति दिने’ यस नदीलाई संरक्षणका लागि सम्बन्धित निकाय र सरोकारवालाहरुले बेलैमा ध्यान दिन आवश्यक छ। यो सिङगो सभ्यता जोगाउन जरुरी छ। समग्रमा भन्न सकिन्छ कालीगण्डकी नदी बरदान हो – डाईभर्सन अभिशाप हो।

लेखकः कालीगण्डकी प्रभावित क्षेत्र घिरिङ्गका स्थानीयबासीन्दा तथा नेकपा एमाले तनहुँका उपसचिव हुन्।

-सेतोपाटीबाट