November 29, 2021

Halkhabar kura

Entertainment Site

‘ए’ डिभिजनमा नेपाल पुलिस पराजित, एपीएफसँग च्यासलको बराबरी

1 min read

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा एनआरटीले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा दर्शनले निर्णायक गोल गरे । डिबक्स भित्रबाट उनको कडा प्रहार सिधै गोल भएको थियो ।

एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि पुलिसले गोल गर्न सकेन । खेलको ३७ औं मिनेटमा डिबक्स भित्रबाट पुलिसका सुमन लामाको कडा प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले पन्च गर्दै गोलको खडेरी टारेका थिए ।

त्यसअघि खेलको २५ औं मिनेटमा पुलिसका लेफ्ट ब्याक रबिन श्रेष्ठ चोटका कारण मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अन्जन राई मैदान छिरेका थिए ।

खेलको ४८ औं मिनेटमा पुलिसका मान बहादुर परियारको हेड बल एनआरटीका मिडफिल्डर एरिक बिष्टले गोललाइनबाट क्लिएर गरेका थिए ।

यस्तै खेलको अतिरिक्त समयमा पुलिसका अन्जन राईले डिबक्स बाहिरबाट हानेको लामो प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस बराबरी गर्न चुक्यो ।

एनआरटीले पनि केहि अवसर खेर फालेको थियो । खेलको ७८ औं मिनेटमा राजेश परियारले डिबक्स भित्रबाट हानेको कडा प्रहार पुलिस गोलरक्षक शत्रुधन चौधरीले बचाउ गरे ।

जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ ।

पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।

यस्तै सोमबारनै भएको पहिलो खेलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलले एपीएफसँग गोल रहित बराबरी खेलेको हो ।

एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिका सुधारको अवसर गुमाएको छ । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ । यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज संकटा क्लब र विभागीय टोली आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा जित निकाल्दै आर्मी शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.