थप दुई जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४ पुग्यो
1 min readकाठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमित बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। कैलालीकी ६५ वर्षीया र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षका किशोरमा पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। यससँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ।
आइतबारमात्र तीन जना भारतीय नागरिकमा संक्रमण देखिएको थियो। तीन जना संक्रमितहरु ३७, ४४ र ५५ वर्षको उमेर रहेका छन्। उनीहरु एक जना दिल्ली र दुई जना उत्तर प्रदेशका वासिन्दा रहेको खुलेको छ।
अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। एकदिनमा ५ सय १९ जनाको परीक्षण भइरहेको पनि प्रवक्ता देवकोटाले बताउनुभयो।
हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
यता पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए । अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो ।
सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो ।
सनसीटीमा बस्ने एकजनाले अनलाइनखबरसँग भने, ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने हुन् कि भन्ने डर हामीलाई लागिरहेको थियो, आज त अस्पताल लगिएछ ।’
तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।