October 17, 2021

Halkhabar kura

Entertainment Site

नेपाललाई घाटा

1 min read

नेपालले घरेलु मैदानमा खेल्ने विश्वकप र एसियाकप छनोटका बाँकी सबै खेल कुवेतमा खेल्ने

नेपालले आफ्नै मैदानमा खेल्नुपर्ने विश्वकप २०२२ र एसियाकप २०२३ को एसियाली छनोटअन्तर्गतका बाँकी सबै खेल कुवेतमा खेल्नुपर्ने भएको छ । नतिजा र आम्दानीको दृष्टिकोणले यो निर्णयले नेपाललाई घाटा पुर्‍याउनेछ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार एसियाली छनोट चरणका बाँकी खेलका लागि केन्द्रीकृत ‘भेनु’ सार्वजनिक गरेको हो । यसको अर्थ ‘होम एन्ड अवे’ प्रणालीमा हुनुपर्ने सबै खेल अब एउटै भेनुमा हुने भएका छन् । यो निर्णयपछि नेपालले यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भनी तयारीसमेत थालिएका सबै खेल कुवेतमा सरेको छ ।

कुवेत नेपालकै समूहमा रहेको देश हो । यद्यपि, जारी छनोट प्रतियोगितामा नेपालले आफ्नो समूहअन्तर्गतका अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग मात्रै खेल्न बाँकी छ । नियमअनुसार यी तीनै खेल नेपालले आफ्नो मैदानमा खेल्नुपर्ने हो । अस्ट्रेलियाविरुद्धको खेल त यही १७ चैतमा दशरथ रंगशालामा हुने घोषणा गरिएको थियो । गत महिना महिला राष्ट्रिय लिगको समापन समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले अस्ट्रेलियाविरुद्धको खेलको नयाँ मिति सार्वजनिक गरेका थिए । त्यससँगै एन्फाले मैदानको तयारीलाई पनि निरन्तरता दिएको थियो । यद्यपि, कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समय प्रभावित भएको प्रतियोगितालाई एएफसीले एकै भेनुबाट सम्पन्न गर्ने निर्णय गरेपछि नेपालको अवसर खोसिएको हो ।

नेपालका लागि एएफसीको यो निर्णयले दोहोरो घाटा पुगेको छ । बलियो टोलीविरुद्धको प्रतिस्पर्धामा पनि घरेलु मैदानमा नेपाली टोलीबाट राम्रो नतिजाको अपेक्षा गर्न सकिन्छ । त्यसका साथै घरमै प्रतियोगिता आयोजना हुँदा टिकट बिक्रीबाट नेपाली फुटबललाई ठूलै आम्दानी हुने गर्थ्यो ।

कम्तीमा यो निर्णयपछि नेपाली फुटबललाई हुने आम्दानी गुमेको छ भने बलियो टोलीविरुद्ध विदेशी भूमिमा खेल्नुपर्दा नेपाली टोलीले ठूलै दबाब व्यहोर्नुपर्नेछ ।एएफसीले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार बाँकी खेल ३१ मेदेखि १५ जुनसम्म आयोजना हुनेछन् । एएफसीले आफ्नो पछिल्लो निर्णयअघि सदस्य राष्ट्रहरूसँग पर्याप्त छलफल र सहमति गरिएको जनाएको छ । एएफसीले सन् २०२२ मा कतारमा आयोजना हुने तय भएको फिफा विश्वकप र सन् २०२३ मा चीनमा आयोजना हुने तय भएको एसियाकपको छनोटका लागि एकै खेललाई आधार बनाएको छ । चार चरणमा सञ्चालन हुने विश्वकप छनोटअन्तर्गत नेपाल अहिले दोस्रो चरणको छनोटमा सहभागी भइरहेको हो ।

कुल ४० टोली सहभागी रहेको दोस्रो चरणको छनोट प्रतियोगितामा पाँच–पाँच टोलीको आठ वटा समूह छन् । समूह बीमा रहेको नेपालले दोहोरो राउन्ड रोविन प्रणालीमा हुने प्रतिस्पर्धाअन्तर्गत चार अवे र एक होम गेमसहित पाँच खेल खेलिसकेको छ । त्यसमध्ये चाइनिज ताइपेईलाई मात्रै पराजित गर्न सकेको नेपाल तीन अंकका साथ समूहमा चौथो स्थानमा छ । एएफसीले नेपालसँगै अन्य सात समूहको पनि केन्द्रीकृत भेनु सार्वजनिक गरेको हो । अन्य देशहरूले पनि नेपालले जस्तै अब एउटै भेनुमा खेल्नुपर्ने भएको छ । त्यसअनुसार सिरिया, फिलिपिन्स, माल्दिभ्स र ग्वाम रहेको समूह एको खेल चीनले आयोजना गर्नेछ ।

इरान, इराक, हङकङ र कम्बोडिया रहेको समूह सीको खेल बहराइन र उज्वेकिस्तान, सिंगापुर, ऐमन र प्यालेस्टाइन रहेको समूह डीको खेल साउदी अरेबियाले आयोजना गर्नेछ । यस्तै, कतारले ओमान, अफगानिस्तान, भारत र बंगलादेश रहेको समूह ई, जापानले कीर्गिस्तान, ताजकिस्तान, म्यानमार र मङ्गोलिया रहेको समूह एफको खेल आयोजना गर्नेछ । संयुक्त अरब इमिरेट्स (युएई)ले भियतनाम, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियासहितको समूह जी र दक्षिण कोरियाले तुर्कमिनिस्तान, लेबनान, उत्तर कोरिया र श्रीलंका रहेको समूह एचअन्तर्गतको खेलको आयोजना गर्नेछन् ।

– नयाँ पत्रिकाबाट