January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोना संक्रमणलाई विश्वस्वास्थ्य संगठनद्धारा विश्वव्यापी महामारीको घोषणा

1 min read

काठमाडौं । कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।

५३ हजार २ सय २७ जनाको उपचार जारी छ । त्यसमध्ये ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ । अहिलेस्म ३१ सय ६९ जनाको चीनमा मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको संक्रमणकै कारण इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३र३ जनाको मृत्यु भएको छ ।

यसैविच , १ सय २३ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको र ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएपछि कोरोनाभाइरसको संक्रमणलाई विश्वस्वास्थ्य संगठनले विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

यसैविच , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको फैलावटलाई रोक्न युरोपमा नयाँ यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। एक टेलिभिजन सम्बोधन मार्फत उनले आगामी ३० दिनसम्म युरोपबाट अमेरिकाका सबै नयाँ यात्रा स्थगित हुने घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्ले एक महिनाका लागि सबै युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका हुन् । कोरोना भाइरसका कारण लगाइएको यो प्रतिबन्धमा बेलायत छैन ।

उता , कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ ।विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या लगातार बढेपछि देशभरका खाद्यान्न स्टोर र फार्मेसीबाहेक सबै पसल बन्द गर्ने घोषणा गरिएको छ ।वार, रेष्टुरेन्ट बन्द हुने तर होम डेलिभरीलाई भने अनुमति दिइने छ । प्रधानमन्त्री ज्यूसेप्पी कोन्टेले यो कडा प्रतिबन्ध आजबाट मार्च २५ सम्म रहने बताउनुभयो ।

यसअघि देशभरका शैक्षिक संस्था, जिमखाना, संग्राहलय, नाइटक्लबहरु बन्द गरिसकेको छ । इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय २७ र संक्रमितको संख्या १२ हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published.