November 28, 2021

Halkhabar kura

Entertainment Site

उपसभामुख शिवमाया तुम्वाहाम्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्याय, राजीनामा नदिने तुम्वाहाम्फेको अडान

1 min read

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको छ । बालुवाटारमा शनिबार अपरान्ह बसेको बैठकले पार्टीका तर्फबाट उपसभामुख पदमा निर्वाचित डा. तुम्वाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीले सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेकाले त्यसका लागि उपसभामुखको राजीनामा माग्ने निर्णय भएको बैठकपछि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले हाल उपसभामुख रहनुभएकी शिवमायाले राजीनामा नदिएसम्म नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । उपसभामुख तुम्वाहाम्फेले भने आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि नेकपाले सचिवालय बैठकबाटै उहाँलाई राजीनामा गराउने निर्णय गरेको हो ।

तर सचिवालयले निर्णय गरेपनि उपसभामुख तुम्वाहाम्फेले भने आफूले राजीनामा नदिने र आजको संसद बैठक पनि आफैले सञ्चालन गरेर सुभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने दाबी गरेका विवरणहरु सञ्चार माध्यमहरुमा प्रकाशन भएका छन् ।

सबै कुरामा योग्य हुँदाहुँदै पनि अरु कसैले गरेको गल्तीको भागेदार आफू नबन्ने शिवमायाको अडान छ । तर शनिबार नेकपाको सचिवालय बैठकले नै उहाँको राजीनामा माग्ने निर्णय गर्नु नेपालमा महिला आन्दोलन र महिला नेतृत्वप्रतिको अपमान रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाको भनाई छ ।

बलात्कार अभियोग लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख बिहीन छ । नेकपाभीत्र नयाँ सभामुख पूर्व माओवादी कि पूर्व एमाले खेमाले पाउने भन्ने लडाइँले संसद बन्धक बनेको छ । शक्तिशाली प्रधानमन्त्री ओलीले एक थान सभामुख पदका लागि टाउकै फुटाउने खालको लडाइँ गर्नु शोभनिय विषय नरहेको राजनीतिक विश्लेषक लोकराज बरालको भनाई छ ।

हिजो पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा राजीनामा दिन गरेको आग्रह उपसभामुख तुम्बाहाम्फेले अस्वीकार गरेपछि शनिबार नेकपाले सचिवालय बैठकबाटै उहाँको राजीनामा माग्ने निर्णय गरेको हो । यदि अब पनि शिवमायाले राजीनामा नदिए उहाँलाई महाअभियोग लगाएर हटाउने एक मात्रै विकल्प नेकपासँग बाँकी रहने छ ।

Leave a Reply

Your email address will not be published.