November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा क्रमिक सुधार

1 min read

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा लगातार सुधार हुँदै गएको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् । जोन्सनमा अति राम्रो मनोबल रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन्। आइसियूबाट बाहिर रहेका जोन्सनको उपचार लण्डन स्थित सेन्ट थोमस हस्पिटलमा भइरहेको छ ।

जोन्सनलाई अक्सिजन दिइएको छ । उनलाई बिहीबार सघन उपचार कक्षबाट निकालिएको थियो । गएको आइतबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यसको भोलिपल्ट उनलाई आइसियूमा राखिएको थियो । कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । जोन्सनलाई आइसियूमा राखिए पनि भेन्टिलेटरमा भने नराखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या एक लाख कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १७ लाख पुग्न लागेको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । त्यहाँ १८ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
१७ लाख कोरोनाबाट संक्रमित भएकामा तीन लाख ७६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार ८ सयभन्दा धेरै छन् भने स्पेनमा १६ हजार नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५८ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४७ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १३ हजार १ सय नाघेको छ । बेलायतमा करिब ९ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४२ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३६ मा रोकिएको छ । जर्मनीमा मृत्यु हुनेको संख्या २७ सय नाघ्दा बेल्जियममा ३ हजार नाघेको छ भने नेदरल्याण्डस्मा २५ सय नाघेको छ ।

भारतमा २४९ जनाको मृत्यु हुँदा ७ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published.