January 24, 2022

Halkhabar kura

Entertainment Site

कोरोना भाइरसः हजार बढीको ज्यान गएपछि चिनियाँ वरिष्ठ अधिकारीलाई कारवाही

1 min read

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण हजार बढीको ज्यान गएपछि चीनले आफ्ना वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । आफ्नो जागिर गुमाउनेमा हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखसमेत रहेका छन् ।

उनीहरु अहिलेसम्म पद घटुवा गरिएको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । स्थानीय रेडक्रसका डेप्युटी जनरललाई पनि कर्तव्यबाट पछि हट्दै चन्दा संकलनमा सक्रिय रहेको भन्दै हटाइएको छ । हुबेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । मृतकको संख्या अहिलेसम्म १ हजार १६ पुगेको छ ।

यद्यपि, देशव्यापी रुपमा संक्रमितको संख्यामा भने २० प्रतिशतको कमी आएको छ । आइतबार संक्रमितको संख्या ३ हजार ६२ थियो जुन सोमबार घटेर २ हजार ४ सय ७४ पुगेको छ ।

हुबेईको स्वास्थ्य आयोग अनुसार सोमबार उक्त प्रान्तमा २ हजार ९७ नयाँ संक्रमित भेटिएको छ । अघिल्लो दिन संक्रमितको संख्या २ हजार ६ सय १८ थियो । सरकारी मिडियाका अनुसार कोरोनाको संक्रमण देखिएयता हुबेईमा हज्जारौंको बर्खास्ती, थुप्रैमाथि अनुसन्धान र धेरैलाई चेतावनी दिइएको छ ।

तर केही निश्चित दायित्वबाट हटाउनु भनेको उक्त व्यक्तिलाई पूर्ण रुपमा बर्खास्ती गरिनु नभई यसलाई पद घटुवाको रुपमा पनि हेर्नु पर्ने बताइएको छ । जसलाई आफ्नो पदबाट हटाइएको छ, ती अधिकारीलाई सत्ताधारी कम्युनिष्ट पार्टीले पनि सजाय दिने बताइएको छ ।

उदाहरणका लागि, रेड क्रसका उप–प्रमुख झाङ्ग क्विनलाई ‘एक गम्भीर अन्तर पार्टी चेतावनी दिनुका साथै एक प्रशासनिक दोषी’ को संज्ञा दिइएको सरकारी मिडियाले बताएको छ ।

यस महिनाको सुरुमा बुहान तथ्याङ्क ब्यूरोका उप–प्रमुखलाई मास्क वितरणमा उचित नियम अवलम्बन नगरेको भन्दै गम्भीर अन्तर पार्टी चेतावनी दिइएको थियो भने उनलाई प्रशासनिक दोषीसमेत बताइएको थियो । हालै, कोरोना भाइरसमा उचित ध्यान नदिएको भन्दै चिनियाँ अधिकारीको व्यापक आलोचना हुँदै आएको छ ।

यस्तै चिनियाँ राष्ट्रपति सी चिन फिङले कोरोना भाइरसविरुद्ध लड्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुन आग्रह गरेका छन् । चीनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएसकेको छ ।

चीनले भाइरसको महामारी नियन्त्रण गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो । अहिलेसम्म ४२ हजार भन्दान बढी प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले पनि महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न र सर्तकता अपनाउन सरकार चुकेको स्वीकार गरिसकेको छ । भाइरसको महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनको विशेष टोलीले चीन पुगेर काम सुरु गरिसकेको छ ।

चीनको वुहान र यसको आसपासमा मात्र एक हजार जनाको मृत्यु भइसकेको छ भने हङकङ र फिलिपिन्समा एक एक जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भाइरसको संक्रमण विश्वका २५ भन्दा बढी देशमा फैलिएको बताइएको छ । अधिकांश देशहरुले चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगिसकेका छन् ।

त्यसैगरी भाइरसको महामारी फैलन नदिन चीनको भ्रमण गरेर अन्यत्र जाने पर्यटकलाई विमानस्थाल तथा नाकाहरुमा कडा चेकजाँच गरेर क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको छ भने चीनको भ्रमण नगर्न आफ्ना नागरिकलाई सूचना पनि ती देशले जारी गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.