November 28, 2021

Halkhabar kura

Entertainment Site

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

1 min read

काठमाडौँ । प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसदमा जारी अवरोध र अबलम्बन गर्नुपर्ने कदमका विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय दल कार्यसमितिको बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको जनाएको छ । मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

कांग्रेसले यसअघि गत बिहीबार, शुक्रबार र आइतबार संसद बैठक अवरुद्ध गरिसकेको छ । संसदीय दलका उपनेतासमेत रहेका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढंगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै कांग्रेस असन्तुष्ट छ ।

यसैबीच उपसभापति गच्छदारको मुद्दा अदालतमा गइसकेकाले संसद अवरुद्ध गर्न नहुने भन्दै पार्टीभित्र विरोध हुन थालेको छ ।

दोस्रो तहका नेताहरुले अदालत प्रवेश गरेको विषयमा पार्टीले विरोध गर्न नहुने भन्दै सदनको अवरोध खुलाउन नेतृत्वलाई दबाब दिन थालेका छन् ।

यस्तै हिजो सोमबार बसेको केन्द्रीय समिति बैठकले ललिता निवास प्रकरणमा अख्तियारले सरकारको दबाब र प्रभावमा मुद्दा दायर गरेको निष्कर्ष निकालेको छ। कांग्रेसले लगातार केही दिनदेखि अवरुद्ध संसद बैठक मंगलबारदेखि खोल्ने सहमति पनि गरेको छ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार कांग्रेसले अवरुद्ध संसद भोलि मंगलबारदेखि खोल्ने सहमति गरेको हो।

केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा अख्तियारले ललिता निवास प्रकरणमा अभियुक्त बनाएका नेता विजय गच्छदारले उक्त प्रकरणमा आफूले तत्कालीन प्रधानमन्त्रीको मास्टरप्लानअनुसार काम गरेको बताए। करिब पौने दुई घन्टासम्म बोलेका उनले प्रधानमन्त्री निवास विस्तार गर्ने मास्टर प्लानअनुसार आफूले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको र अहिले आफूलाई बद्‌नियत राखेर फसाउन खोजेको बताए।

यद्यपि कांग्रेसका अर्का नेता गगन थापाले भने पार्टीले गच्छदारलाई किन मुद्दा लगाइयो भन्दा पनि अख्तियारको निष्पक्षतामा प्रश्न गर्नुपर्ने बताए। ‘हामीले विजय गच्छदारलाई किन मुद्दा लगाए भन्दा पनि अख्तियारको निष्पक्षतामाथि प्रश्न गर्नुपर्छ। विजय दाइ, अख्तियारबाट सफाइ पाएर आउनुस्, हाम्रो शुभकामना छ।’

कांग्रेसका भातृसंगठनहरुले सडकमा अख्तियारले सत्तारुढ नेकपाका नेतालाई चोख्याउने गरी पक्षपाती रुपमा मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।

यसैगरी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संवैधानिक आयोगहरुलाई सरकारको छायाँ बनाउँदा खोज्दा आन्दोलनमा जानु परेको जिकिर गर्नुभएको छ । नेपाल प्रेस युनियनको ललितपुर अधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले अख्तियारले एउटै निर्णयमा जोडिएका कम्युनिस्टहरुलाई छोडी कांग्रेसलाई मात्र मुद्दा चलाउने काम बद्नियतपूर्ण रहेको आरोप लगाउनुभयो ।

कांग्रेस भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा रहेको भन्दै एउटै निर्णयमा सहभागी एउटालाई कारबाही हुने र अन्यलाई उन्मुक्ति दिन नहुनेमा आफुहरुको जोड रहेको उल्लेख गर्नुभयो । यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले आफूअनुकूल नभएकालाई सरकारले दुःख दिने काम गरेको आरोप लगाउनुभएको छ ।

आफ्नै निवास बाँसबारीमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । सह–महामन्त्री महतले सरकारको अहिलेको शैलीविरुद्ध नेपाली कांग्रेस एक ढिक्का भएर लड्ने पनि बताउनुभयो ।
यस्तै कांग्रेस भ्रातृ संगठनहरुले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

नेपाल महिला संघले आज माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभामा बोल्ने भ्रातृ संगठनका नेताहरुले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धानको पछिल्लो कदमको विरोधमा आयोजित विरोध सभामा उनीहरुले पूर्वमुख्यसचिव लीलामणी पौडेललाई पनि अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका छन् ।

मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री र मुख्यसचिवलाई उन्मुक्ति दिएर मन्त्री र सचिवलाई मात्रै दोषी देख्नु आपत्तिजनक भएको उनीहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.