January 24, 2022

Halkhabar kura

Entertainment Site

नेकपामा सभामुख चयन प्रक्रियालाई लिएर दुई अध्यक्षबीच तीव्र ध्रुवीकरण, सचिवालय बैठक आज

1 min read

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ वजे बस्दैछ । सचिवालय बैठकले सभामुख छान्ने जिम्मा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाललाई दिएपनि आ–आफ्नै अडानमा कायम रहेपछि पुनः सचिवालयमै छलफल हुन लागेको हो ।

नेकपामा सभामुख चयन प्रक्रियालाई लिएर दुई अध्यक्षबीच तीव्र ध्रुवीकरण भएको छ । प्रधानमन्त्री ओली संसदीय दलका उपनेता सुभास नेम्वाङलाई सभामुख बनाउने पक्षमा हुनुहुन्छ भने दाहालले देव गुरुङ वा अग्नि सापकोटा मध्ये १ लाई अघि सार्नुभएको छ ।

दुईको आ– आफ्नै अडानको प्रभाव पार्टी संञ्चालनमा समेत परेको छ । यो बीचमा उपसभामुख शिवमाया तुम्वाहाम्फेले समेत आफ्नो दावी कायमै राख्नुभएको छ ।

प्रतिनीधिसभामा उपसभामुखले राजिनामा नदिएसम्म सभामुख चयन प्रक्रिया शुरु नहुने भएपछि सत्तारुढ दललाई थप सकस भएको छ । यसैबच, नेकपा ले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा संसद् बैठक अनिश्चित बनेको छ ।

भोली दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको भए पनि अहिलेसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा बैठक बस्ने नबस्ने अनिश्चित बनेको हो ।

यसअघि सभामुख चयनमा कुरा नमिल्दा गएको पुस ११ गते र १६ गतेका लागि बोलाइएको बैठक स्थगित गरेर भोलीका लागि सारिएको छ ।

यसअघि हिजो उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामाका कारण सत्तारुढ दलमा सभामुख चयनको विषय पेचिलो बनेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको चयन भन्नेमा समस्या देखिएको छ । जसका कारण नयाँ सभामुख चयनको विषय नै अन्योलमा परेको नेकपा श्रोतको दाबी छ ।

अध्यक्ष प्रचण्डसहित पूर्व माओवादी पक्षले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ सभामुख चयनको बाटो खुल्ने तर्क गरेको र प्रधानमन्त्री ओली पक्षले पहिला सभामुख चयन त्यसपछि उपसभामुखको राजीनामाको बाटो उपयुक्त हुने बताउँदा सभामुख चयन थप पेचिलो बनेको स्रोतको दाबी छ ।

प्रचण्ड निकट नेताहरुले भने अर्का अध्यक्ष ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिनबाट रोकेको भन्दै संशय व्यक्त गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने बताउँदै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भने उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु पर्ने लिवङ गरेको नेकपा निकट श्रोतको दाबी छ । आज उपसभामुख तुम्बाहाङ्फेले प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच भेटवार्तासमेत भएको छ । भेटमा उपसभामुख तुम्बाहाङ्फेले नयाँ सभामुखको चयन नगरी आफूले राजीनामा नदिने अडान राखेको बताइएको छ ।

तुम्बाहाङ्फे राजीनामा नदिएका कारण सभामुख चयन प्रक्रिया जटिल बनेको पूर्वमाओवादीका केही नेताहरुको भनाईप्रति समेत उपसभामुख तुम्बाहाङ्फेले असन्तुष्टि जनाउनुभएको छ ।

उपसभामुख तुम्बाहाङ्फेले तत्कालिन सभामुख कृष्णबहादुर महराको दोषको आफू भागिदार नबन्ने र आफ्नो कारणले सभामुख चयनमा कुनै अवरोध नभएको बताएको स्रोतको दाबी छ ।

उपसभामुख तुम्बाहाङ्फेसँगको छलफल पछि प्रधानमन्त्री ओली र प्रचण्डबीच पनि छलफल भएको थियो । तर छलफलले केही निचोड भने निस्कन सकेन ।

Leave a Reply

Your email address will not be published.