January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोनाको संक्रमण युरोप र अमेरिकामा जटिल बन्दै, चिनमा भने संक्रमीतदर घट्दै ‘कुन देशको अवस्था कस्तो ?’

1 min read

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना इपिसेन्टर चीनको हेबइ प्रान्तको वुहान पुगेका छन् । विश्वलाई चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको सन्देश प्रवाह गर्न आज उनले वुहान भ्रमण गरेको बताइएको छ ।

चीनमा कोरोनाका सबभन्दा कम १९ नयाँ संक्रमित भेटिएको दिन आज राष्ट्रपति सी वुहान पुगेका हुन् । चीनमा हालसम्म ८० हजार ७५७ लाई कोरोनाको संक्रमण भएकोमा हालसम्म ३ हजार १३६ जनाको मृत्यु भइसकेको छ भने ६० हजार ९५ जना भने निको भएका छन् । चीनमा संक्रमणदर पछिल्ला दिनहरुमा घटेको छ । यस्तै कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा जटिल बन्दै गएको छ ।

विश्वभर हालसम्म करिब एक लाख १५ हजारमा संक्रमण देखिएकोमा ६४ हजार २ सय ७२ जना निको भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
युरोपियन देशहरुमा इटाली, फ्रान्स, स्पेन, जर्मनी, बेलायत, स्विजरल्यान्ड, स्वीडेन, नेदरल्यान्ड्स, बेल्जियम, नर्वेमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ भने निको हुनेको दर निकै कम छ ।

इटालीमा ९ हजार एक सय ७२ जना संक्रमित भएकामा चार सय ६३ जनाको ज्यान गएको छ । सात सय २४ जना निको भएका छन् । फ्रान्समा एक हजार चार सय १२ जनामा संक्रमण देखिएकामा ३० जनाले ज्यान गुमाएका छन् भने १२ जनामात्र निको भएका छन् । स्पेनमा एक हजार २ सय ३१ जनामा संक्रमण देखिएकामा ३० जनाको मृत्यु भएको छ भने ३२ जना निको भएका छन् ।

यसैबिच जर्मनीमा एक हजार २ सय २४ जनामा संक्रमण देखिएको छ । तीमध्ये २ जनाको ज्यान गएको छ भने १८ जना निको भएका छन् । स्विजरल्यान्डमा संक्रमित हुनेको संख्या तीन सय ७४ छ । २ जनाले ज्यान गुमाएका छन् भने ३ जना निको भएका छन् ।

उता बेलायतमा तीन सय २१ जनामा संक्रमण देखिएकामा पाँच जनाको मृत्यु र १८ जना निको भएका छन् । नेदरल्यान्ड्समा तीन सय २१ जना संक्रमित भेटिएकामा चार जनाको ज्यान गएको छ । कोही पनि निको भएका छैनन् । स्वीडेनमा २ सय ६१, बेल्जियममा २ सय ३९ र नर्वेमा २ सय २७ जना संक्रमित भेटिएकामा कोही पनि निको भएका छैनन् । तीनवटै देशमा एक एक जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार हालसम्म एक सय १५ भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अन्य थुप्रै युरोपेली देशमा कोरोना संक्रमित भेटिएका छन् । अमेरिकामा सात सय ८ जनामा संक्रमण देखिएकामा २७ जनाले ज्यान गुमाएका छन् । १५ जनामात्र निको भएका छन् । एसियाली देशमध्ये इरानमा ७ हजार एक सय ६१ संक्रमित भेटिएकामा दुई सय ३७ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा सात हजार पाँच सय १३ जना संक्रमित भेटिएका छन् । यीमध्ये ५४ जनाको ज्यान गएको छ भने दुई सय ४७ जना निको भएका छन् । यस्तै लगभग २ सय उत्तर कोरियाली सैनिकको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ ले प्रकाशित गरेको छ ।

डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो । रिपोर्टमा १ सय ८० सैनिकले जनवरीमा कोरोना संक्रमणबाट ज्यान गुमाएको उल्लेख छ । त्यस्तै ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोनाको संक्रमण देखिएका ९० भन्दा बढी देशमा भने कसैको ज्यान गएको छैन । उता इरानको खुजेस्तान र अलब्रोज प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट बच्न विषाक्त मदिरा सेवनका कारण २७ जनाको मृत्यु भएको इरानी समाचार संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.