January 21, 2022

Halkhabar kura

Entertainment Site

सरकारले अब कसैलाई क्वारेन्टाइनमा नराख्ने स्वास्थ्यमन्त्री ढकालको भनाई, आफैं बस्नुपर्नेमा जोड

1 min read

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब सरकारले कसैलाई क्वारेन्टाइनमा नराख्ने र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड अनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै आज मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब सरकारले कुनै पनि व्यक्तिलाई क्वारेन्टाइनमा नराख्ने स्पष्ट पार्नुभयो ।

यस्तै उहाँले ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्नेपनि बताउनुभयो । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने र ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उहाँको भनाइ छ । ज्वरो, रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्ने र परीक्षण गराउँदा पोजेटिभ देखिएमा अस्पतालमै राखेर उपचार गर्नुपरेमा त्यसको जिम्मा राज्यले लिनेपनि स्वास्थ्यमन्त्री ढकालले बताउनुभयो ।

यसका साथै उहाँले विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश पाउने बताउनुभयो । युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।

साथै संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने उपायहरुबारे प्रचारप्रसार गर्न आवश्यक पहलकदमी चाल्न समेत अपिल गरेको छ । यस्तै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विमानस्थलमा ५ वटा हेल्थ डेक्स राखिएको बताउनुभयो । उँहाले सबै नाकामा पनि हेल्थ डेक्स राखिएको जानकारी दिनुभयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रावतले नेपालमा कोरोना भइरस देखिए स्वास्थ्य संकटकाल घोषणाा गर्ने जानकारीसमेत गराउनुभयो ।

सरकाले कोरोना नियन्त्रण गर्न पूरा तयारी गरेको उँहाको भनाइ छ । उहाँले ७ सय ५३ वटै स्थानीय तहमा सावधानी अपनाइएको जानकारी पनि दिनुभएको छ ।

यता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले कोरोनाबारे सबैलाई सचेत रहन र अफवाह नफैलाउन आग्रह पनि गर्नुभयो ।

औषधि एवं अत्यावश्यक वस्तुको सहज आपूर्तिबारे सरोकारवालासँग सरकारले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गरेको छलफलपछि खतिवडाले कोरोनासँग सबै सचेत हुनुपर्ने बताउनुभयो । कोरोनाबारे सरकार र स्वास्थ्य मन्त्रालयले सूचना प्रवाह गर्ने बताउँदै उहाँले व्यक्ति पिच्छे डाक्टर नबन्न सबैलाई आग्रह गर्नुभयो ।

यस्तै, सरकार समक्ष ६ महिनालाई पुग्ने खाद्यान्न, ३ महिनालाई पुग्ने इन्धन र ४ महिनालाई पुग्ने औषधि रहेको जानकारी दिनुभयो । मन्त्री खतिवडाले भारतसँग अहिले हुने व्यापारमा कुनै बाधा अवरोध नभएको बताउनुभयो । चीनमा संक्रमण कम हुँदै गएकाले अब सरकारले उत्तरी नाकाहरुमा रहेका सामान ल्याउनेतर्फ सोच्ने उहाँको भनाई छ ।

यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा १५ हजार मास्क उपलब्ध गराएको जानकारी दिनुभएको छ । कोरोना भाइरसका कारण बजारमा मास्कको अभाव देखिपछि नेपाल चेम्बर अफ कमर्शले दैनिक २० हजार मास्क बजारमा पठाउने निर्णय गरेको उहााले बताउनुभयो ।

पहिलो दिन १५ हजार मास्क बजारमा पठाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अस्तीे १५ हजार मास्क उत्पादन गरेर दिएको बताउदै उहाँले होली भएकाले अब भोलि देखि काम सुरु हुने र मास्क उत्पादन हुने विश्वास दिलाउनुभयो । उक्त मास्कलाई उपभोक्ताले बजारमा सात रुपैयाँमा खरिद गर्न सक्ने उहाँको भनाई छ ।
यस्तै उहाँले बजारमा मास्कको अभाव भएपछि चेम्बरले संस्थागत रुपमा मास्क बजारमा पठाउने निर्णय गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.