November 28, 2021

Halkhabar kura

Entertainment Site

इरानको मिसाइलकै कारण युक्रेनको विमान दुर्घटनामा परेको दाबी

1 min read

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेऊलगायतका पश्चिमी दुनियाँका कतिपय नेताले गएको बुधबार बिहान तेहरानस्थित अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेको युक्रेनको विमान इरानको मिसाइलका कारण दुर्घटनामा परेको दाबी गरेका छन् ।

क्यानडाका प्रधानमन्त्रीले त आफूसँग प्रमाण रहेको पनि जनाएका छन् । उनले इरानको गल्तीका कारण सो दुर्घटना भएको उल्लेख गरेका छन् । क्यानडा र बेलायतले सो घटनाको पूर्ण जाँचको माग गरेका छन् ।

बुधबार बिहान तेहरान विमानस्थलबाट सो विमान उड्नासाथै दुर्घटनामा परेको बताइएको थियो । उक्त विमानमा रहेका १७६ मानिसको मृत्यु भएको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिनले आफूलाई कैयौं खुफिया सूत्रहरुले सो विमान इरानको जमिनबाट हावामा प्रहार गर्ने मिसाइल प्रहारका कारण भएको बताएको उल्लेख गरेका छन् ।

यो जानीबुझी नगरेको पनि हुन सक्ने उनको भनाइ छ । उनले सो घटनाको पूर्णजाँच आवश्यक रहेको बताउँदै भनेका छन्, “क्यानडाका मानिसको मनमा कैयौं सवाल छन् त्यसैले उनीहरुलाई त्यसको जवाफ मिल्न जरुरी छ ।”

जस्टिनले अहिले नै कसैलाई आरोप लगाउनु वा कुनै नतिजामा पुग्न हतार हुन सक्छ भनेका छन् । उनले प्रमाणको बारेमा चाहिँ थप बोल्न चाहेनन् । विमानमा क्यानडाका मात्रै ६३ नागरिक थिए । उनीहरु सबै टोरन्टो गइरहेका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि क्यानडाका प्रधानमन्त्रीको भनाइमा सहमति जनाएका छन् ।

उनले बेलायत र क्यानडा आपसी सहयोगका साथ त्यसबारेमा काम गरिरहेको उल्लेख गरेका छन् ।यो भन्दाअघि अमेरिकी मिडियाले इरानको गल्तीका कारण युक्रेनको विमान दुर्घटनामा परेको जनाएका थिए ।

अमेरिकी न्यूज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीले युक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ ७३७ विमान इरानको मिसाइलका कारण दुर्घटनामा परेको जनाएका छन् ।

इरानले चाहिँ यो आरोपलाई अफवाह भनेको छ । यद्यपि युक्रेनले संयुक्त राष्ट्रसंघ समक्ष विमान दुर्घटना जाँचको माग गरेको छ ।

युक्रेनले मिसाइल लागेका कारण विमान दुर्घटना भएको हो कि होइन भन्ने बारेमा आफूले जाँच गरिरहेको जनाएको थियो । सो आशंकालाई यसअघि नै इरानले अस्वीकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published.