November 29, 2021

Halkhabar kura

Entertainment Site

विश्वकप लिग २ : अमेरिकाविरुद्ध नेपालको सानदार जित, कुशल मल्लद्धारा अर्धशतक बनाउने विश्व कीर्तिमान कायम

1 min read

काठमाडौं ।  नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो ।

नेपालको १९० रन: खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा ‘अलआउट’ हुनुपूर्व १९० रन बनाएको थियो ।

विश्व कीर्तिमान: नेपालका लागि विनोद भण्डारीले ७९ बलमा सर्वाधिक ५९ रनको योगदान गरे । जसमा ६ चौका र एक छक्कासमेत सामेल थियो ।

यस्तै, कुशल मल्लले ५१ बलमा ५० रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको ‘डेब्यु’ खेल थियो । उनको नाममा विश्व कीर्तिमानसमेत बन्यो ।

कुशलले सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका हुन् । १५ वर्ष ३४० दिनमा अर्धशतक बनाउँदा उनको नाममा विश्व कीर्तिमान बनेको हो ।

यसअघि, अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो ।

चलेन ब्याटिङ: यसबाहेक अमेरिकाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ३९ बलमा २१ रन बनाए । पारस खड्काले ५२ रनमा १९ रन, करण केसीले २१ बलमा १२ रन र सुशन भारीले १९ बलमा ११ रन जोडे । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर सुवास खकुरेल ३ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने कुनै रन नबनाइ पवेलियन फर्किए ।

यस्तै, आरिफ शेख व्यक्तिगत २ रनमा आउट भए । अविनाश बोहरा ५ रनमा अविजित रहे । अमेरिकाका लागि क्यामरुन स्टेभेन्सनले सर्वाधिक ३ विकेट लिए ।

अमेरिका १५५ रन अलआउट: जवाफमा अमेरिकाले ४४ ओभर १ बलमा सबै विकेट गुमाएर १५५  रनमात्र बनाउन सक्यो ।

अमेरिकाका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका इयान होल्यान्डले सर्वाधिक ७५ रन बनाए । १११ बल खेलेका उनले त्यसक्रममा ७ चौकासमेत प्रहार गरे ।

अमेरिकाका अरु खेलाडीलाई नेपाली बलरले लामो समय क्रिजमा टिक्न दिएनन् ।

करणले लिए ४ विकेट: नेपालजस्तै अमेरिकाको पनि सुरुआतबाटै विकेट पतन सुरु भएको थियो । अमेरिकालाई सस्तैमा रोक्नेक्रममा नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । ७ ओभर १ बल बलिङ गरेका उनले १५ रनमात्र खर्चिए ।

यस्तै, सुशन भारीले ३, सन्दीप लामिछानले २ र कुशल मल्लले एक विकेट झारे । करण खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।

नेपालको तेस्रो खेल आइतबार ओमानसित: शृंखलामा नेपालको यो पहिलो जित हो । घरेलु भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमासमेत नेपालको पहिलो विजय हो । अमेरिकाले भने लगातार दोस्रो हार व्यहोर्‍यो ।

त्रिकोणात्मक एकदिवसीय शृंखलाको अर्को टोली ओमान हो । नेपाल पहिलो खेलमा ओमानसित १८ रनले पराजित भएको थियो । अमेरिका पहिलो खेलमा ओमानसितै ६ विकेटले हारेको थियो ।

यही माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टोलीले आपसमा दुई-दुई खेल खेल्नेछन् । नेपालले अब तेस्रो खेल आइतबार ओमानसित र अन्तिम खेल अमेरिकासित माघ २९ गते खेल्नेछ ।

विश्वकप क्रिकेट लिग–२ लाई सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमासमेत हेरिएको छ ।

७ टोली सहभागी यो प्रतियोगिताका शीर्ष तीन टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

अंकतालिका: नेपाल दुई खेलबाट २ अंकसहित तालिकाको छैटौं स्थानमा छ । १० खेल खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । ८ खेलबाट १२ अंक नै जोडेको ओमान दोस्रो, समान खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड तेस्रो, ७ खेलबाट ८ अंकसहित नामबिया चौथो स्थानमा छन् ।

युएई ७ खेलबाट ७ अंकसहित पाँचौं स्थानमा छ । ८ खेल खेलिसकेको पपुवा न्यूगिनी पुछारमा छ । उसले अंक जोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published.