January 24, 2022

Halkhabar kura

Entertainment Site

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुग्यो

1 min read

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको हो ।

यस्तै, ३१ हजार २ सय जनामा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ । चीन बाहिर २५ देशका २ सय ७० जनामा पनि कोरोना को संक्रमण भएको पाइएको छ ।

यसैबिच, हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई आजदेखि १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । चीनमा फैलिरहेको कोरोना भाइरसका कारण एकजनाको ज्यान गएको र २६ जनामा संक्रमण देखिएकाले शनिबारदेखि चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हङकङले जनाएको हो ।

यो निर्णय नमाने जरिवाना र जेल सजाय हुनेछ । हङकङ पुग्ने आगन्तुक १४ दिन होटलभित्रै वा सरकारले संचालन गरेको क्वारेण्टाइनमा जानुपर्नेछ भने हङकङका नागरिक आफ्नै घरभित्र बस्नुपर्ने नियम आजदेखि लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबिच चीनको वुहानमा सबैभन्दा पहिला कोरोना भाइरसको चेतवानी दिने चिनियाँ चिकित्सकको मृत्यु भएपछि जनताहरु आक्रोशित बनेका छन् । बिरामीको उपचारकै क्रममा कोरोनाको संक्रमित भएका डा. लि वेनलियाङको बिहीबार मृत्यु भएको थियो ।

चिनियाँहरुले कोरोनाको पहिलो पहिचान गर्ने र चेतावनी दिने चिकित्सकको मृत्युपछि सरकारविरुद्ध सामाजिक सञ्जाल विबोमार्फत् आक्रोश पोखिरहेका छन् ।

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ डा. वेनलियाङले ३० डिसेम्बरमा जानकारी गराएको भएपनि स्थानीय प्रहरीले यसबारे नबोल्न र भ्रम नफैलाउन चेतावनी दिएको थियो । ३४ वर्षीया डाक्टर वेनलियाङलाई चिनियाँ सामाजिक सञ्जालमा केही दिनदेखि ‘हिरो’ का रुपमा प्रस्तुत गरिएको छ ।

हिजो डा. वेनलियाङको मृत्युले सरकारविरुद्धको चिनियाँ जनआक्रोश चर्किएको छ । उनीहरुले अभिव्यक्ति स्वतन्त्रता नहुँदा समयमै सूचना पुग्न नसकेको भन्दै विबोमार्फत् आक्रोश पोखेको बीबीसीले जनाएको छ ।

त्यहाँ अहिलेसम्म ६३७ जनाको मृत्यु भइसकेको छ भने ३१ हजारभन्दा बढीमा संक्रमण फैलिएको छ । विश्वका विभिन्न २५ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको बताइएको छ ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ । यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

Leave a Reply

Your email address will not be published.