October 19, 2021

Halkhabar kura

Entertainment Site

सर्वोच्चको फैसलासँगै सूर्य चिह्न ओलीको पोल्टामा !

1 min read

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिकै अवस्थामा कायम रहने फैसला सुनाएको छ ।
यससँगै तत्कालीन एमालेको अध्यक्षको हैसियतमा सूर्य चुनाव चिह्न केपी शर्मा ओलीसँगै रहने पक्का भएको छ ।

नेकपा विभाजनको कसरतका बीच सर्वोच्च फैसलाले २०७५ जेठ २ कै स्थितिमा पुर्‍याइदिएको हो । २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा जन्मिएको थियो ।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिँदै साविक एमाले र माओवादी केन्द्र ब्युँताइदिएको हो । पुन: एकीकरण गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रक्रिया पुर्‍याएर एकीकरण गर्न पनि सर्वोच्चले भनेको छ ।

फैसलामा भनिएको छ- निर्वाचन आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक के अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ। आदेशको प्रतिलिपि साथै राखी सो को जानकारी विपक्षीहरुलाई दिनु र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू।