January 21, 2022

Halkhabar kura

Entertainment Site

डोल्पामा फैलिएको अज्ञात रोग कोरोना नभएको पुष्टि

1 min read

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना काठमाडौं ल्याएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रबार बेलुकी मात्रै रोगको पुष्टि भएको हो ।

गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा मेलिना हमालले जानकारी दिनुभयो । “शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरु बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ”, डा हमालले भन्नुभयो ।

दुई सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा मेलिना हमालले बताउनुभयो । चाररपाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थ्यकर्मी फेरि गाउँ पुग्ने बताइएको छ । उपचारका क्रममा १५० जनाबाहेक ४० जना बिरामीको जाँच गर्दा १० देखि १५ जना महिलामा पाठेघरको समस्या देखिएको र धेरैलाई पिसाबको समस्या देखिएको डा हमालले बताउनुभयो ।

करेलीकाँडाका स्थानीयलाई मास्क लगाउन सिकाएको स्वास्थ्यकर्मीले बताएका छन् । स्थानीयवासीले रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने थाहा भए पनि यस्तो अवस्थामा खोक्दा वा हाछ्यु गर्दा माक्स खोलेर गर्ने गरेको पाइयो डा हमालले बताउनुभयो । अबदेखि रुघाखोकी लाग्दा मास्कले नाकसम्मै छोपेर खोक्ने र हाछ्यँु गर्ने सरफाइमा उत्तिकै ध्यान दिने, पानी उमालेर प्रयोग गर्ने, झाडापखाला लाग्दा झोलिलो पदार्थ खाने भनेर सिकाएको हमालले बताउनुभयो ।

“सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौँ ।” अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको डा हमालले बताउनुभयो ।

पाँच जना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ । बिरामी स्वस्थ भएर पनि पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन् । दैनिक औषधि खाएपछि आफूहरु पहिलाको जस्तै स्वस्थ भएको एक सातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताउनुभयो ।

सरसफाइमा ध्यान नदिँदा गाउँभरिका सबै मान्छे बिरामी परेको स्वास्थ्यकर्मीले बताएकाले अबदेखि सधैँ आफू, आफ्नो परिवार, घर आँगन, गाउँघर सफा राख्ने बोहोराले बताउनुभयो । आफूहरु सञ्चो भएर पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उहाँले बताउनुभयो ।

करेलीकाँडाका स्थानीयलाई सरसरफाइसम्बन्धी त्यति ज्ञान नभएको स्वास्थ्यकर्मीले बताए । सरसफाइमा ध्यान नदिएकै कारण एकपछि अर्को गर्दै ५७ घरधुरी भएको गाउँभरि नै मौसमी रुघाखोकीको फैलिएको उनीहरुको भनाइ छ । “आफूहरुले सरसरफाइसम्बन्धी धेरै कुरा सिकाएका छौँ, यी कुरालाई ध्यान नदिए अब झाडापखालाको महामारी फैलन डर उत्तिकै छ”, स्वास्थ्य चौकी त्रिपुराकोटका अनमी लक्ष्मी न्यौपानेले भन्नुभयो ।

झाडापखाला मात्र नभई आँखा पाक्ने रोग फैलने सम्भावना पनि उत्तिकै रहेको स्वास्थ्यकर्मीले बताए । “बच्चाबच्चीलाई दिसापिसाब घरआँगनमै गराउने, ठूला मान्छेले पनि जथाभावी दिसापिसाब गर्ने, खोलाको पानी नउमालेरै पिउने, मासुजन्य वस्तु राम्रोसँग नपकाएरै खानेलगायतका कुरामा ध्यान नदिने गरको पाइयो ।” झाडापखाला लाग्दा के गर्ने के नगर्ने भनेर पनि सिकाएको न्यौपानेले बताउनुभयो ।

गाउँदेखि स्वास्थ्य चौकी डेड घण्टा टाढा भएकाले त्यहाँको स्वयंसेविकालाई तालीम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । “सामान्य सिटामोल, जीवनजल लिन पनि नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था छ, बिरामी पर्दा कसरी स्वास्थ्य चौकीसम्म पुग्न सकिएला, सिटामोल, जीवनजललगायतका सामान्य औषधि गाउँमै स्वयंसेविकाकै जिम्मा दिनुपर्छ, ताकि सामान्य औषधि लिन डेट घण्टा हिँड्न नपरोस्”, स्वास्थ्य चौकी त्रिपुराकोटका सिनियर अहेब शेरबहादुर कठायतले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.