October 28, 2021

Halkhabar kura

Entertainment Site

मच्छिन्द्रनाथ र होमो सेपियन्स

1 min read

इजरायली लेखक युवल नोह हरारीका अनुसार विगत ७० हजार वर्षमा वर्तमान मानव अर्थात् होमो सेपियन्समा रहस्यमय तरिकाले संज्ञानात्मक क्षमताको विकास भएको छ । जसमा प्रमुख उपलब्धिहरू भनेका कुनै पनि चिज वा स्थितिको बयान गर्न सक्ने विशिष्ट भाषा, कल्पनाशील र सहकार्यको क्षमता हुन् ।

यिनै गुणहरूले होमो सेपियन्सलाई अरू जनावरभन्दा पृथक र शक्तिशाली बनाएको हो । अनि यिनै उपलब्धिका कारण संसारमा भएका सबै सांस्कृतिक र वैज्ञानिक विकास सम्भव भएका हुन् । यद्यपि, विशिष्ट भाषा, कल्पनाशील र सहकार्यजस्ता क्षमताहरूले नै होमो सेपियन्सलाई अप्राकृतिक रूपमा क्रुर र अविवेकी पनि बनाएको छ । कल्पनाशीलता र सहकार्यको परिणामको रूपमा आज संसार सभ्य र वैज्ञानिक भएको छ ।तर इतिहासमा भएका भयानक महायुद्ध, नरसंहारहरू र विध्यमान आर्थिक तथा सामाजिक असमानताहरू पनि होमो सेपियन्सको संज्ञानात्मक क्षमताकै देन हो भन्नुपर्छ ।

साँस्कृतिक सम्पदा सभ्यताको धरोहर हो । सम्पदाहरू कुनै पनि शहरको गौरवमय चिनारी पनि हुन् । सम्पदाको अभावमा शहर विल्कुल यान्त्रिक र संवेगहीन बन्दछ । त्यसैले सम्पदाहरूलाई शहरको धमनीमा प्रवाहित हुने प्राण भने पनि हुन्छ ।

यो लेखले एक प्राचीन शहरको शाब्दिक यात्रा गर्छ । त्यही शहर, जो यल, पाटन वा ललितपुर आदि इत्यादि नामहरूले परिचित छ । त्यही शहर जुन आफ्नो आङमा असङ्ख्य मूर्त अमूर्त साँस्कृतिक सम्पदाहरूको गहना भिरेर अनवरत मुस्कुराइरहेछ ।प्राचीनकालदेखि यस शहरमा बसोबास गर्ने होमो सेपियन्सहरूले यसलाई जीवन्त राख्नका निमित्त अनेकन कथा र प्रथाहरूको सिर्जना गरे । तिनैलाई व्यवहारमा उतारे, तिनैमा रमाए । र, कहिलेकाहीँ आफैँले बनाएको कथा अनि प्रथामा पिल्सिएर दुःखी पनि भए । जसरी होस्, कालान्तरमा पाटनका होमो सेपियन्सहरू संस्कार, संस्कृति र सम्पदामा धनी बन्दै गए । शायद ती संज्ञानात्मक उपलब्धिका सकारात्मक उदाहरणहरू थिए । तर कहिलेकाहीँ तिनै होमो सेपियन्सहरू आफ्नो नकारात्मक क्षमता र सम्भावनाको निकृष्टतामा ओर्लिएर आफैँमाथि उपहास गर्न पनि पछि परेनन् ।

उदाहरणको रूपमा एउटा दृश्य देखियो, केही दिनअघि ललितपुरको पुल्चोकमा । अग्लो र भव्य मच्छिन्द्रनाथको रथ तल सडकमा भेला भएका अनेकन रङका वस्त्रधारी होमो सेपियन्सहरू एकआपसमा क्रोध, असंयमता, निर्लज्जता र असहिष्णुताको अस्त्र प्रहार गरिरहेका थिए ।

शायद ती अस्त्रहरू पनि सेपियन्सभित्रै लुकेर बसेका नकारात्मक गुणहरू थिए । जसले त्यस दिन बाहिर निस्कने बाटो पाए, मौका पाए ।

आफ्नै वजनको बोझले कोल्टे पर्दै आकाशतिर उचालिएको विशाल रथ मानव प्रजातिहरूलाई हेर्दै दुःखी भइरहेको थियो । सँगै दुःखी भइरहेका थिए, त्यसै रथमा विराजमान करुणामय अर्थात् मच्छिन्द्रनाथ । कारण ती मानव प्रजातिहरूले सिर्जना गरेका असभ्य र अमानवीय दृश्यहरूको मूल कारण त्यही अग्लो रथ हो भनेर बुझाइएको थियो वा बुझिएको थियो ।

बर्सेनि काँचुली फेर्दै शहरका प्राचीन गल्लीहरूमा विशाल पाङ्ग्राहरू गुडाउँदै हिँड्ने मच्छिन्द्रनाथको रथ यस वर्ष महिनौँदेखि एकै स्थानमा कुँजिएर बसेको छ । विचरा रथ आफैँ चलायमान हुन सक्तैन । होमो सेपियन्सहरूको सहकार्यको उपस्थितिमा मात्रै ऊ शहरको परिक्रमा गर्न सक्छ । तर यस बखत कोभिड–१९ नामक सूक्ष्म भाइरसले आकारमा आफूभन्दा असंख्य गुणा ठूला सेपियन्सहरूलाई निरीह बनाएर घरभित्र कोचिदिएका छन् । अतः अवलोकतेश्वरको रथसँग पनि निरीह भएर सडकछेउ शान्त उभिनुको विकल्प भएन ।

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि चलिआएको मच्छिन्द्रनाथको रथ तान्ने परम्परा उपत्यकाकै सबैभन्दा लामो र पुरानो जात्रा हो । पाटनदेखि दक्षिणतिर रहेको प्राचीन बस्ती बुङमतीको मन्दिरमा बास गर्ने मच्छिन्द्रनाथको मूर्तिलाई बोकेर रथले शहरको परिक्रमा सुरु गर्छ । अन्तिममा जाउलाखेलमा आएर भोटोजात्रासँगै एक वर्षका लागि फेरि मच्छिन्द्रनाथ बुङमती फर्कन्छन्, जात्रा सकिन्छ ।

जात्राको रीति, नियम र प्रक्रियासँग पाटनवासीको आस्था विश्वास र परम्परा जोडिएको छ । मच्छिन्द्रनाथलाई वर्षात् र सहकालका रूपमा पूजा गरिने भएकाले यससँग प्रकृतिको सम्मान र महत्त्व पनि जोडिएको छ । यी वर्षात्‌का देवता हुन् अनि वर्षात् किसानहरूका देवता । किसानले उत्पादन गर्ने अन्नले सबैको प्राण धान्ने भएकाले अन्न नै वास्तविक भगवान् हो भन्न मिल्ला ।

महामारीका कारणले रथलाई चलायमान गराउन नपाउँदा शहरवासीहरूको मनमा निराशा र आक्रोश बढ्नु स्वाभाविक हो । तर आक्रोश कोप्रति ? सरकार वा राज्य संयन्त्रप्रति ? रथ तान्न सहकार्यको व्यवस्था नमिलाउने गुठीप्रति ? वा कोभिड– १९ नामको भाइरसप्रति ? आक्रोश कोप्रति भन्ने मात्र प्रश्न होइन, मूल प्रश्न के हो भने मान्छेकै प्राण जोखिममा राखेर सम्पदाको नाममा गरिने असम्यमपूर्ण हठचाहिँ बुद्धिमानी काम हो वा होइन ?

शहर महामारीको त्रासमा अस्वस्थ बाँचिरहेछ । अनि अलिअलि गर्दै छेउकुनोबाट मरिरहेछ, एउटा विशाल शरीरको सूक्ष्म कोषिकाहरू क्रमशः खिइँदै गरेको अवस्थाजस्तै । संस्कृति र सम्पदाका संरचनाहरू आ–आफ्नै ठाउँमा जड भएर जमेका छन् । तर खुसीको कुरो, ती संरचनाहरू कुनै विषाणुको संक्रमणले मरेका छैनन् वा मर्ने तरखरमा ढल्दै गरेका पनि छैनन् । शायद तिनले भनिरहेका छन्:

हे हामीलाई निर्माण गर्ने होमो सेपियन्सहरू हो, तिमीहरू भाइरससँग लड । तिमीहरूको सहकार्य र विवेकमा तिमीहरूकै प्राणको रक्षा हुनेछ र तिमीहरूको रक्षा भएमा हाम्रो पनि रक्षा हुनेछ ।

वास्तवमा महामारी वा कुनै पनि प्रकोपले प्रथमत: मान्छेहरूलाई नै प्रहार गर्ने रहेछ । मान्छेहरू जोगिए सम्पदा पनि जोगिन्छ । पाँच वर्षअगाडि भूकम्पले मच्छिन्द्रनाथको मन्दिरलाई माटोको थुप्रोमा परिणत गर्‍यो, तानिदै गरेको रथलाई जमिनमा ढाल्यो । तर जात्रा ढलेन वा भनौँ परम्परा भत्किएन ।

मच्छिन्द्रनाथको मूर्ति मन्दिर र रथमा बस्ने भए पनि वास्ताविक करूणामयप्रतिको आस्था मान्छेको मनमा बस्छ । अनि मान्छेले नै सिर्जना गरेको कथामा बस्छ । त्यस बखत ढलेको रथ फेरि उठाइयो । केही महिनामा त्यही रथ पाटनका गल्लीहरूमा ताँनिदै थियो । भत्केको मन्दिर फेरि निर्माण हुनेरहेछ । संयमता र सहकार्य रहेसम्म सम्पदाका धरोहरहरू बनिरहने रहेछन् । बाँचिरहने रहेछन् ।

तर केही दिनअघि पुल्चोकमा सेपियन्सहरूले संयमता मिल्काए । त्यसैको अघिल्लो हप्ता वसन्तपुर दरबार क्षेत्रमा ईन्द्रजात्राले धैर्य र दूरदर्शीतासँग सम्झौता गरेको थियो । सेपियन्सकै तर्क कल्पनाले रचेको नियममा त्यो सम्भव भएको थियो ।

तर त्यही रचना पुल्चोकमा देखिएन । यदी पुल्चोकमा त्यसदिन मच्छिन्द्रनाथ सँगसँगै उनलाई आसामदेखि उपत्यकासम्म लिएर आउने किसान ललितज्यापु, तान्त्रिक बन्धुदत्त र कर्कोटक नाग पनि सँगै उपस्थित थिए भने तिनले के सोच्ने थिए होलान्, वा त्यो तमासा हेरेर के भन्ने थिए होलान् ?

हुन सक्छ किसानले भन्ने थियो, हे शहरबासीहरू हो तिमीहरूले अन्न उमार्ने भूमि त सखाप पारिसक्यौँ । अब के सहकालका देवताको नाउँमा पशुझैँ जुध्छौ ?’

शायद नागले भनिरहेको हुने थियो होला, ‘हे अविवेकी होमो सेपियन्सहरू, तिमीहरूले यस शहरमा नागहरू बस्न मिल्ने सबै जलाशयहरूको विनाश गर्‍यौ । यो प्रकृति तिम्रो मात्र थिएन । तर तिमीले एकलौटी ध्वस्त बनायौ ।’

सँगै उभिइरहेका तान्त्रिकले गुनासो गर्ने थिए होलान्, तन्त्र विद्यालाई त अवशानको अवस्थामा पुर्‍यायौ । अब के मनगढन्ते पूजा गरिटोपल्छौ ?’

मच्छिन्द्रनाथको रथयात्रा त्यही एक वर्षका लागि मात्र कहाँ हो र ? सयौँ वर्षको निरन्तरता एक महामारीले केही दिन वा महिना अल्मल्याऊला तर रोक्न कहाँ सक्छ र ? त्यो विशाल संरचनालाई शहरवासीले महामारीसँगको युद्धको प्रतीकका रूपमा सडकछेउमा अझै केही दिन अडिइरहन दिएको भए के हुन्थ्यो र ?

कथनअनुसार पाटनवासीले मच्छिन्द्रनाथलाई रथमा राखेर घुमाउन नसके सो परम्परा र मच्छिन्द्रनाथको मूर्ति भक्तपुरलाई बुझाउनुपर्ने हो । तर अहिले भक्तपुरवासीले दाबी गर्ने अवस्था छ र ? विश्वव्यापी महामारीले भक्तपुरलाई अछुतो राखेको त छैन । यदि अहिले पाटनमा रथ स्थिर छ भने भक्तपुरमा पनि चलायमान बन्न सक्दैन ।

त्यसबाहेक रथ तान्ने हतार जो देखिन्छ, त्यो वास्तवमा सम्पदाप्रतिको मोह हो वा सेपियन्सहरूभित्र पलाएको अहम् हो वा महिनौँदेखि घरभित्र बन्दी भएर बस्नुपर्दा निस्किएको स्व:स्फूर्त आवेग हो । कहलिएका संस्कतिविद्हरूले यसबारेमा धारणा दिनु सान्दर्भिक देखिन्थ्यो । तर यहाँ त राजनीतिक स्वार्थ र अपरिपक्वताले पो आफ्नाे आवाज उठाउन थाल्यो ।

सरकार र विपक्षी दलहरू मच्छिन्द्रनाथको रथ तान्न र रोक्न क्रियाशील देखिए । राजनीति र धर्मलाई अलग राख्ने संविधानानको परिकल्पना गर्ने राजनीतिज्ञहरूले संविधानको धर्मनिरपेक्ष धारालाई अस्पष्ट परिभाषामा मुछेर धमिलो बनाइसकेका छन् ।

धमिलो र अस्पष्ट नीतिले तत्कालका लागि समस्यालाई लुकाउन सक्ला तर ढिलो चाँडो द्वन्द्व निम्त्याउने कुरामा दुई मत हुँदैन । राज्य संयन्त्र र धर्म संस्कृतिबीचको सम्बन्ध अस्पष्ट हुनुको परिणाम आउने दिनहरूमा अझै पनि देख्न सकिनेछ ।

अब महामारीबीच रथयात्राको प्रक्रिया वा स्वरूपले वर्षौँको रीतिलाई यस पटक निराश पार्न त सक्छ । तर सम्पूर्ण जात्राप्रेमी होमो सेपियन्सहरूलाई यो बोध होला कि जात्रा भनेको उत्सव हो । जहाँ उत्साह हुन्छ, स्वच्छन्दता हुन्छ । शान्त र शोकमग्न मलामीजस्तो यात्रा जात्रा बन्न सक्दैन ।

यो आकाश छुने भीमकाय रथ तानिरहँदा साँघुरा गल्लीहरूमा उपस्थित हुने हजारौँको भीडलाई कसले व्यवस्थित गर्न सक्ला ? प्रशासन र प्रहरीको हस्तक्षेपको नतिजा त आँखाअगाडि नै छ । त्यसो भए त्रासको माझ भैरवरूपी रथका पाङ्ग्राहरू सजिलै गुड्न सक्ने थिए त ? रथ तान्ने डोरीसँगै संक्रमणको लहरो पनि तानियो भने ? त्यसमाथि धार्मिक विश्वास जोडिएको विषय उसै पनि संवेदनशील हुन्छ । धार्मिक अन्धविश्वासले होमो सेपियन्सलाई सजिलै अविवेकी बनाएका घटनाहरू संसारमा दुर्लभ छैनन् ।

कुरा यति हो, सम्भावित दुर्घटनाको दोष विचरा अमुक मच्छिन्द्रनाथ वा उनलाई काखमा लिइरहेको निर्जीव रथलाई नलागोस् ।shilapatra

Leave a Reply

Your email address will not be published.