January 21, 2022

Halkhabar kura

Entertainment Site

कांग्रेस सभापति र पूर्वप्रधानमन्त्रीबिच छलफल, मुलुकलाई संकटबाट जोगाउन ऐक्यबद्ध भएर कार्य गर्न देउवाको आग्रह

1 min read

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग मुलुकलाई संकटबाट जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले आज दिउँसो पाँच जना पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्षसँग फोन गरेर संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गर्नुभएको हो ।

उहाँले सामाजिक सन्जाल ट्विटरमार्फत् आफूले मुलुकको पछिल्लो अवस्थाका बारेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेको उल्लेख गर्नुभएको हो ।

सभापति देउवाले आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपिल गरेको छु भन्दै लेख्नुभएको छ । यता काँग्रेस जिल्ला सभापतिहरुले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् ।

काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने भन्दै कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुनेगरी बढाउन माग गरेका हुन् ।

काँग्रेस जिल्ला सभापतिले देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन सरकारको ध्यानाकर्षण समेत गरेका छन् ।

काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भारत–नेपालको सिमानामा अलपत्र परेका नेपाली र तेस्रो मुलुकमा रहेका सबैलाई नेपाल ल्याई क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

मुलुकमा रहेका श्रमजीवी मजदुर र विपन्न वर्गलाई तत्काल खाद्यान्नलगायतका राहत सामग्रीको वितरणको व्यवस्था मिलाउन काँग्रेस जिल्ला सभापतिले माग गरेका हुन् ।

यस्तै काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको अहिलेको माग चुनाव नभएका् प्रष्ट पार्नुभएको छ । प्रवक्ता शर्माले ट्विटरमा लेख्दै व्यक्तिगत मतहरु व्यक्तिगत नै हुने भन्दै यस्ता मतलाई पार्टीसँग जोडेर हेर्न नमिल्ने बताउनुभयो ।

शर्माले संकटको घडीमा जिम्मेवार ढंगले सरकारलाई साथ दिने तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार विरुद्ध खरो उत्रने पनि उल्लेख गरेका छन् । यसअघि वरिष्ट नेता रामचन्द्र पौडेलले सहमतिय सरकार र सह महामन्त्री प्रकाशशरण महतले मध्यावधि निर्वाचनको कुरा सार्वजनिक गरेका थिए ।

यस्तै काँग्रेस नेता डा. शेखर कोइरालाले यतिवेला पार्टी राजनिति भन्दा माथि उठेर जनसेवा गर्नुपर्ने बताउँदै अहिले मध्यावधि निर्वाचन माग गर्नु ठिक नभएको बताउनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा आज लेख्दै यतिबेला देश कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित भएको बेला राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कामलाई सहयोग, नराम्रा कामलाई आलोचना र जनतालाई सुसुचित गर्ने प्रतिपक्षको काम भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.