January 21, 2022

Halkhabar kura

Entertainment Site

ललिता निवास जग्गा प्रकरणको मुद्दा दायरमा कसैलाई विभेद भएको छैन: सञ्चारमन्त्री बास्कोटा

1 min read

काठमाडौं । सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको छानविनदेखि मुद्दा दायरसम्ममा कसैलाई विभेद नगरेको दाबी गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा ‘लाल फित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार’ नगरेको दाबी गर्नुभयो ।

कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथिको कारबाही पूर्वाग्रही भएको भन्दै कांग्रेस आन्दोलित बनेको बेला मन्त्री बाँस्कोटाले उनीमाथि विभेद नभएको दाबी पनि गर्नुभयो । यहाँ लालफित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार नभएको बताउँदै उहाँले कानुन प्रयोजनको कुरा रहेको स्पष्ट पार्नुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै दुरुपयोग गरेको आरोप लगाएको छ । पार्टीका उसभापति विजय गच्छदारलाई बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता काण्डमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आक्रोशित बनेको कांग्रेसले यस्तो आरोप लगाएको हो ।

खख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति गच्छादारसहित १७५ जनाविरुद्ध हालेको मुद्धाका बिषयमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई मुद्दा नचलाइनु राज्य शक्तिको प्रभावमा अख्तियारले निर्णय गरेको स्पष्ट भएको बताउनुभयो ।

उहाँले सरकारले ‘आफ्नालाई जोगाउने–अरुलाई फसाउने’ गरेको देखिएको उल्लेख गर्दै सरकारको त्यही नियतको प्रभाव र दबाबमा अख्तियार पर्नु नै दुखद भएको टिप्पणी गर्नुभएको छ । एउटै मुद्दामा मन्त्री र सचिव तानिनु, तर प्रधानमन्त्रीलाई उन्मुक्ति दिइनु राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको कांग्रेसको ठहर छ ।

जग्गा फिर्ता गर्छु भनेपछि मुद्दा नचलाउने गरी नेकपा महासचिव विष्णु पौडेलका पुत्रको पक्षमा गरिएको पद्धति संसारमै नभएको समेत कांग्रेसले बताएको छ ।

यस्तै, कांग्रेसले अख्तियारको विरोधमा सडक आन्दोलन गर्ने घोषणा गरेको छ । जसअन्तर्गत भोलि दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा प्रदर्शन गर्ने भएको छ, भने आइतबार नेपाल तरुण दलको नेतृत्वमा दिउँसो १ बजे माइतीघरमै प्रदर्शन गरिने भएको छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले अख्तियारले बदनियतपूर्ण ढंगले गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा दायर गरेको विरोधमा सडक आन्दोलन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यसअघि बिहान सभापति निवासमा बसेको कांग्रेसका वर्तमान र पूर्व पदाधिकारी बैठकले अख्तियारको पछिल्लो कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने र भातृसंगठनलाइ सडकमा उतार्ने निर्णय गरेको थियो । अख्तियारले हिजो जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको हो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Leave a Reply

Your email address will not be published.