October 19, 2021

Halkhabar kura

Entertainment Site

शुभ शनिबार – बदलाको भोकको थ्रिलर कथा ‘द हंग्री’, हेर्नुस् भिडियोसहित

1 min read

सेक्सपियरको नाटक ‘टाइटस एन्ड्रोनिकस’मा आधारित हिन्दी फिल्म ‘द हंग्री’ तुलसी जोशी र तथागत अहुजा परिवारको वरिपरि घुम्छ।

तुलसी जोशीका छोरा अंकुर नयाँ वर्षको पूर्वसन्ध्यामा भइरहेको पार्टीमा महत्वपूर्ण बिजनेस डिल गर्न लागिरहेका छन्। अंकुर तथागतकी छोरी लभ्लीका प्रेमी हुन्।

मन्त्रीसँग मिटिङ चलिरहेका बेला अंकुरले एउटा गल्ती गर्छन्। त्यही गल्तीका कारण अंकुरको हत्या हुन्छ। तर हत्यारा अंकुरलाई सुसाइड नोट लेख्न लगाएर यो हत्यालाई आत्महत्याका रुपमा आँखामा छारो हाल्न सफल हुन्छन्।

अरूका नजरमा आत्महत्या भए पनि अंकुरकी आमा र उनका भाइ भने यो मान्ने पक्षमा हुँदैनन्। उनीहरू यो हत्यामा तथागतको हात हुने कुरामा कुनै प्रमाणबिनै विश्वस्त हुन्छन्।

हत्याको घटनापछि फिल्मको कथा दुई वर्ष अगाडि बढ्छ। तथागतका ड्रगिस्ट छोरा र अंकुरकी आमा तुलसीबीच भव्य रूपमा बिहेको तयारी चलिरहेको छ। एकअर्काप्रति प्रतिसोधको भावना भएका अहुजा र जोशी परिवार औपचारिक नाता गाँस्दैछन्।

उनीहरू एकअर्काका नजिकै छन् तर खुलेर बोल्दैनन्। बोलेका कुरा पनि मन खोलेर भन्दैनन्। संकेत र आँखाको भावबाटै उनीहरूका धेरै कुरा बुझ्नुपर्ने हुन्छ। सुरूदेखि अन्तसम्मै फिल्मका पात्रहरू रहस्यमयी लाग्छन्। यही रहस्यले फिल्मका पात्र चिन्ने र बुझ्ने हुटहुटी जगाउँछ।

तथागतको भव्य महलमा बिहेकै तयारी भइरहँदा भित्रभित्रै षड्यन्त्रको प्रपन्च पनि चलिरहेको हुन्छ। यो षड्यन्त्र रच्नमा तुलसी र तथागत दुवै कोही भन्दा कम हुँदैनन्।

अंग्रेजी शब्द ‘हंग्री’ले भोक जनाउँछ। फिल्मको शीर्षकले पेटको भोकभन्दा बदलाको भोक संकेत गर्छ। तर बदलाको भोकको यो कथामा मीठा परिकार पनि छुटेको छैन। कथाका महत्वपूर्ण घुम्ती थरीथरीका परिकार पनि आउँछन्।

भारतमा सेक्सपियरका नाटकमा आधारित कमेडी, लभ स्टोरी, थ्रिलर सबै विधाका फिल्म बनेका छन्। द हंग्री चाहिँ थ्रिलर फिल्म हो।

रहस्यमयी बनाउने धूनमा फिल्ममा द्वन्द्वपक्ष कहीँकतै कमजोर लाग्न सक्छ। तर त्यो कमजोरीलाई यसका कलाकारको अभिनय, संवाद, संगीत, ध्वनि र कथामा आउने ट्विस्ट र टर्नले भुलाइदिन्छ।

नसिरुद्दीन शाहको डायलग डेलिभरीको ओज अनि अभिनय क्षमता महसुस हुने धेरै दृश्य छन् फिल्ममा। फरक धारका लामा छोटा फिल्म खेलेर पहिचान बनाएकी टिसका चोपडा आफूलाई नसिरुद्दीनको प्रतिस्पर्धी पात्रका रूपमा खरो उभ्याएकी छिन्।

फिल्मको एउटा दृश्यमा तथागतले एउटा सायरी सुनाउँछन्। तुलसी र तथागतको भोगाइसँग मेल खाने त्यो कविता अंशको भाव यस्तो छः

बडा मजा आउँथ्यो

जब सानोमा अरुको पसलको गिलास फुटाउँदै हिँड्दा

तर आज आफ्नै गिलास टुट्दा

शिशा यसरी फुट्यो कि सम्हाल्नै सकिएन….

बदला र प्रतिसोधका धेरै कथा हेरिसकेका दर्शकलाई यो फिल्मको कथा नयाँ नलाग्न सक्छ। स्क्रिनप्ले पनि ठाउँठाउँमा खुकुलो लाग्न सक्छ। तर सुरूदेखि अन्तसम्मै फिल्मको सिनेमाटोग्राफीले दर्शकको आँखा लोभ्याइरहन्छ। बेलायत र भारतको संयुक्त निर्माणमा बनेको यो फिल्म निक कुकले खिचेका हुन्। रहस्य र दुविधाग्रस्त पात्रका मनोदशा उतार्ने कुकको शैली प्रशंसनीय छ।

द हंग्री टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल २०१७ मा प्रिमियर भएको थियो।

प्रभाकर गौतम/सेतोपाटी

Leave a Reply

Your email address will not be published.