November 28, 2021

Halkhabar kura

Entertainment Site

धादिङको विकट क्षेत्र क्युङ गाउँ : “सकियो खाद्यान्न, ५ परिवार भोकै”

1 min read

धादिङ । उत्तरी धादिङको विकट क्षेत्र मानिने खनियाबास गाउँपालिका–२, क्युङ गाउँमा खाद्यान्न सकिएको गुनासो स्थानीयले गरेका छन् । खाद्यान्न सकिएपछि ज्याला गरेर परिवार पाल्नेहरू समस्यामा परेका छन् ।

६१ घर रहेको क्युङ सबै तामाङ समुदायको बसोबास क्षेत्र हो । अधिकांश भारतमा रोजगारीका लागि जाने र परिवार पाल्ने गरेका तामाङ समुदायको गाउँ यस वर्ष भारत जानुअघि नै लकडाउन भएको र केहीअति गरीब परिवारले ज्याला गर्ने अवसरसमेत नपाएकाले खानेकुरा नभएको गाउँका चोक्ता तामाङले टेलिफोनबाट जानाकारी दिए ।

कामका लागि बाहिर जाने र गाउँमा उधारो सामान लिएर परिवार पाल्दै आएका गाउँबासी काममा नगएको र लकडाउन भएको भन्दै व्यापारीले समेत चामललगायत खाद्य सामग्री नदिएपछि सबैको घरमा खानेकुरा नभएको अम्बर तामाङको भनाइ छ । गाउँमै ज्याला गरेर खानुपर्ने परिवारको त चार दिनअघिदेखि नै खानेकुरा सकिएको छ । बाह्र दिनसम्म काम नपाएको तथा गाउँमा एकापसमा ज्याला नहुने र पर्म मात्र हुने भएकाले ज्याला गर्नसमेत समस्या आएको छ ।
चार दिनअघिदेखि खानेकुरा सकिएकाहरुमा तङ्दोल तामाङ, कान्छा तामाङ, बलराम भनिने चोक्ता तामाङ, अम्बर तामाङ र टेकबहादुर तामाङको परिवार छन्। उनीहरुलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकबहादुर तामाङले यही चैत १९ गते गाउँपालिका कार्यालयमा लिखित जानाकारीसमेत गराइसकिएको बताए ।

गाउँबासीसँंग खानेकुरा छैन । गाउँमा उत्पादन हुने जग्गा छैन । धादिङबेंसीबाट डुनडुरेसम्म कच्ची सडकमा गएपछि ६ घण्टा हिँडेर मात्र पुग्न सकिने विकट गाउँ भएकाले भनेकै समयमा कोही मानिससमेत जान सक्दैन । त्यसैले सो गाउँलाई सहयोग अत्यावश्यक रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

गाउँपालिकाले कोरोना भाइरसको महामारी रोक्नका लागि प्रभावकारी योजना नबनाएको र गाउँपालिका अध्यक्ष गाउँ घुमे पनि केही सहयोग नपाएको सो क्षेत्रका नागरिकको गुनासो छ । चैत १९ गते इन्सेक प्रतिनिधि र पत्रकारले गाउँपालिका अनुगमन गर्दा प्रतिकार्ययोजना नै नबनेको तथा गाउँपालिकाले एउटा क्वारेन्टाइन बनाएको भए पनि गाउँमा अलपत्र परेका मजदूरले सहयोग नपाएको गुनासो गरेको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published.