November 28, 2021

Halkhabar kura

Entertainment Site

मानवताका प्रेरक दृश्यदेवको उपाधि प्राप्त डा. सन्दुक रुइतको जीवनी बजारमा आयो !

1 min read

सरोज जीसी – “मानव कल्याण कार्य सगरमाथाको पूर्वी मोहडाबाट आरोहण गर्नुभन्दा साहसीपूर्ण हो”, स्टानफोर्ड विश्वविद्यालयका प्रोफेसर जेफ ट्याविन भन्छन् । एउटा यस्तै साहसी हुन्, डा. सन्दुक रुइत । अली ग्रिपरद्वारा लिखित तथा खगेन्द्र संग्रौलाद्वारा नेपालीमा अनूदित सन्दुक रुइत पुस्तक यही अभूतपूर्व साहस र चुनौतीको अभिलेख हो ।

म्यागासेसे पुरस्कार विजेता रुइत माथिको यो पुस्तकले उनको व्यक्तिगत संघर्षको कथा मात्रै भन्दैन, सपना सफल बनाउन गरेको त्याग, तपस्याको रटान मात्रै पनि लगाउँदैन बरु पुस्तकले हाम्रो सामाजिक, सांस्कृतिक र राजनीतिक प्रवृत्ति उजागर गर्छ ।

पश्चिमा देशमा सहजै निको हुने क्षयरोगबाट मिजासिली बहिनीलाई गुमाउनु परेपछि सन्दुक रुइतमा आफ्नो नियति र मुलुकको अवस्था दुवैप्रति ठूलो वितृष्णा जाग्यो । तर, यसले उनमा अवशाद होइन, अठोट जगायो– जसरी भए पनि डाक्टर बन्ने । कोलम्बो प्लानको छात्रवृत्ति यो यात्राको पहिलो खुड्किलो थियो ।

तर, सपना पछ्याउनु सजिलो थिएन । बाल्यकालमा ओलाङचुङगोलाको वालुङ छोडेर जानुपर्दा होस् वा दार्जीलिङमा एक्लै पढ्दा, रुइतले सपना प्राप्तिका लागि जातीय, भौगोलिक थुप्रै विभेद सहे, ठक्कर खाए ।

सन् २००७ मा प्रतिष्ठित जर्नल अफ अप्थाल्मोलोजी मा प्रोफेसर एलन रोबिनको शोधमूलक लेख प्रकाशित भयो जसमा भनिएको थियो– ‘नेपालको ग्रामीण भेगमा गरिएका लेन्स प्रत्यारोपणका दीर्घकालीन नतिजा पश्चिमी अस्पतालमा गरिने प्रत्यारोपण जत्तिकै प्रभावकारी छन् ।’ र, यसको श्रेय डा. रुइतलाई दिइएको थियो । यसले रुइतलाई मात्र चिनाएन, आँखाको शल्यक्रियाका लागि नेपाललाई पनि संसारमा चिनायो ।

परिणाम, फ्रान्सेली बौद्धमार्गी, लेखक म्याथ्थियु रिकाले ९३ वर्षीया आमालाई आँखाको शल्यक्रियाकै लागि पेरिसबाट काठमाडौं ल्याए । पेरिसभन्दा काठमाडौंमै आँखाको उपचार राम्रो हुनेमा उनी विश्वस्त देखिए । त्यसैगरी, मदर टेरेसाकी ‘अवतार’ मानिने स्विस–फ्रेन्च जनस्वास्थ्यविज्ञ डा. निकालो ग्रास्सेट जेनेभाबाट सन्दुककै ‘सुनौला हात’ बाट मोतियाविन्दुको शल्यक्रिया गराउन जेनेभाबाट सीधै काठमाडौं आइन् ।

“विकसित पश्चिमा देशहरूको चमक, आकर्षक प्रस्ताव र पदवीले रुइतलाई पनि नलोभ्याएको होइन, तर आत्मीयताको चुम्बक तथा मानवतावादी सोचले उनलाई स्वदेशतिरै खिचिरह्यो। रुइतको जीवनी पढिरहँदा बुझिने अर्को महत्वपूर्ण कुरा नेतृत्व विकास हो।”

डा. रुइतले विकसित गरेको, भित्र्याएको आँखाभित्रै मसिना कृत्रिम लेन्स लगाउने मोतियाविन्दु शल्यक्रियाको उपचार पद्धतिले असुविधाजनक, बाक्ला र गह्रौं चश्मालाई विस्थापित गर्‍यो । यसको प्रसिद्धि देशभित्र मात्र रहेन । शुरुमा साथीहरूको सम्पर्कबाट अनुदानमा आउने लेन्स तिलगंगा आँखा केन्द्र बनेलगत्तै नेपालमै बन्न थाले ।

डा. रुइतको परिष्कृत शल्यक्रिया सहितको सेवा भारत, भूटान, कम्बोडिया, म्यानमार, घाना र इथियोपिया लगायत टाढा टाढासम्म फैलियो । नेपालमा मात्र उनले एक लाख ३० हजारको शल्यक्रिया गरिसकेका छन् ।

यति गर्नु असाध्य बराबर थियो । किनभने, समाजमा व्याप्त ‘भ्रष्ट संस्कृति’ ले असल नियत र इमानदारीलाई जरैदेखि नामेट पार्ने प्रपञ्च रच्ने गर्छ । तिलगंगा आँखा अस्पताल स्थापना गर्दा होस् या इन्ट्राअकुलर लेन्स निर्माण प्रयोगशाला निर्माण, रुइतले आफ्नै देशका विकृतिसँग ठूलो संघर्ष गर्नुपर्‍यो, सास्ती झेल्नु पर्‍यो । तर, रुइतको अविचलित अडानले कहिल्यै हार मानेन ।

रुइत नेत्रविहीनलाई दृष्टि मात्र प्रदान गर्दैनन् सामाजिक न्यायमा पनि उत्तिकै विश्वास राख्छन् । “दोस्रो दर्जाको नेत्रज्योति भन्ने चिज हुँदैन । धनी होउन् वा गरीब, सबै मानिसले प्रथम दर्जाको नेत्रज्योति प्राप्त गर्छन्”, पुस्तकमा उनी भन्छन् ।

बिरामी जुनसुकै जात, धर्म, वर्ग वा भूगोलको होस्, रुइतको एकमात्र संकल्प भनेको उसको नेत्रज्योति फर्काउनु हो । शल्यक्रिया उनलाई साधना जस्तो लाग्छ र ज्योति पाएपछि धपक्क बलेका मानिसका अनुहार नै जीवनको सर्वाधिक उपलब्धि लाग्छ ।

आत्मकथा लेखनीमा मपाइत्व सर्वाधिक हुन्छ । तर रुइतको प्राप्तिको गणित अनि वजन यति पारदर्शी छ कि उनको कामको प्रभाव वस्तुतः देख्न, सुन्न र महसूस गर्न सकिन्छ । उनले पुस्तकमा खुलेर आत्मसमीक्षा गरेका छन् । कमजोरी र दुर्बल पक्ष स्वीकारेका छन् । जस्तो, उनलाई कर्पोरेट व्यवस्थापनमा आफू कुशल छैन भन्ने बोध छ ।

आफूलाई विभिन्न कठिन घडीमा सहयोग र साथ दिएका पात्रहरूप्रति ऋणी हुनुको आभास पनि छ । एकाध गल्ती बाहेक अनुवाद लयात्मक छ । अनुवादक संग्रौलाको भाषिक सीप, ठेट शब्द र शिल्पले कथांशलाई जीवन्त बनाएको छ ।

विकसित पश्चिमा देशहरूको चमक, आकर्षक प्रस्ताव र पदवीले रुइतलाई पनि नलोभ्याएको होइन, तर आत्मीयताको चुम्बक तथा मानवतावादी सोचले उनलाई स्वदेशतिरै खिचिरह्यो ।

रुइतको जीवनी पढिरहँदा बुझिने अर्को महत्वपूर्ण कुरा नेतृत्व विकास हो । व्यक्तिगत स्वार्थ, सुख–सुविधा, सयल त्याग्न सक्दा मात्र स्वच्छ नेतृत्व विकास गर्न सकिन्छ, नयाँ नेतृत्व उत्पादन गर्न सकिन्छ भन्ने कुराको रुइतबाट सिक्न सकिन्छ । यस अर्थमा रुइत मानव कल्याणका प्रमाण र प्रेरणा दुवै हुन् ।

पुस्तक सन्दुक रुइत (जीवनी) लेखक अली ग्रिपर अनुवाद खगेन्द्र संग्रौला प्रकाशक फाइनप्रिन्ट बुक्स पृष्ठ २३५, मूल्य रु.५५०

-हिमालखबर बाट

Leave a Reply

Your email address will not be published.