October 29, 2021

Halkhabar kura

Entertainment Site

प्रत्येक महिलाले पढ्नै पर्ने डा.अरुणा उप्रेतीको स्वास्थ्य सुझाब – महिलाको हाड र अस्वस्थ जीवनशैली

1 min read

अक्टोबर २० मा विश्वभरि नै ‘अस्टियोपोरोसिस दिवस’ मनाइन्छ । यो शब्द (Osteoporosis ) ल्याटिनको दुई शब्द मिलेर बनेको हुन्छ । अस्टियो (Osteo) अर्थात् हाड र पोरोसिस (Porosis) अर्थात छिद्र–छिद्र भएको हुनु ।

नेपालीमा यसलाई ‘फुसफुसे हाड’ पनि भनिन्छ । प्रजनन उमेरका महिलालाई उनीहरूको शरीरमा भएका विशेष हर्मोनहरूले प्राकृतिकरूपमा नै हाड फुसफुसे हुने समस्याबाट बचाएका हुन्छन् ।

उमेर बढेसँगै शरीरमा एस्ट्रोजोन हर्मोनको मात्रा कम हुँदै जान्छ । हाडहरूको घनत्व पनि कम हुने सम्भावना बढ्छ । हाडको घनत्व कम भए पनि बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन । हाडको घनत्व कम भएमा सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना धेरै हुन्छ ।

हाडमा यो समस्या बढेपछि नाडी, पुठ्ठा र मेरुदण्डको हाड भाँचिने सम्भावना बढ्छ । साथै उमेर बढ्दै जाँदा शरीर कुप्रिन्छ । कतिलाई त दैनिक काम र अन्य क्रियाकलाप गर्न पनि गाह्रो हुन्छ । यसरी हाडको घनत्व कम हुँदै जाँदा पनि लामो समयसम्म थाहा नहुने भएकाले यसलाई ‘मौन रोग’ (साइलेन्ट डिजिज) पनि भनिन्छ । यो समस्या धेरैजसो लडेर, ठोक्किएर वा कुनै कारणले हाड भाँचिएपछि एक्सरे गराउँदा निदान हुन्छ ।

हाडको घनत्व राम्रो हुनको लागि एस्ट्रोजोन हर्मोनका साथै भिटामिन ‘डी’ को पनि भूमिका हुन्छ । रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जीर्णोद्धार गर्ने प्रक्रियामा मद्दत पु¥याउँछ । तर भोजनमा क्याल्सियमको मात्रा कम भयो भने हाडमा पनि क्याल्सियम कम हुन्छ र घनत्व कम हुन जान्छ ।
अमेरिकाको एक अनुसन्धानअनुसार त्यहाँका झन्डै २५ प्रतिशत महिला अर्थात् ७० लाख महिलालाई फुसफुसे हाडको समस्या छ ।

भारतमा भएको एक अनुसन्धानमा झन्डै ६ करोड जनतालाई यो समस्या भएको पाइयो । ती मध्ये ७० प्रतिशत महिला नै थिए ।
प्राकृतिकरुपमा महिलाको हाडको घनत्व पुरुषको भन्दा कम हुन्छ । महिलाहरू प्रजनन उमेरमा रहुन्जेल उनीहरूको शरीरमा रहेको हर्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ । महिनावारी सुक्ने समय नजिक हुँदै जाँदा उनीहरुको शरीरमा हर्मोनहरूको मात्रा पनि कम हुँदै जान्छ र हाडको घनत्वमा समेत कमी हुन्छ ।

अति शारीरिक परिश्रम गर्ने, अत्यन्तै दुब्ला र धूमपान गर्ने महिलामा पनि यो समस्या बढी हुन्छ । हुन त नेपालमा यो समस्याबाट प्रभावित भएका कति छन् भनेर कुनै अध्ययन भएको छैन । केवल भारतमा भएको अनुसन्धानलाई आधार मानेर नेपालमा पनि यस रोगबाट पीडितहरू धेरै हुनसक्ने अनुमान गरिएको छ ।

प्रजनन एवं हर्मोन विशेषज्ञ डा. उमा श्रीवास्तवका अनुसार ‘४० वर्षको उमेर नाघेका ढाड दुख्ने समस्या लिएर जँचाउन आउने महिलामध्ये झन्डै ७५ प्रतिशतमा हाड फुस्फुसाउने समस्या हुन्छ । तनाव हुँदा पैदा हुने ‘कर्टिजोल’ नामक हर्मोनले गर्दा पनि हाडको स्वास्थ्य र घनत्वमा नकारात्मक असर पर्छ ।

क्याल्सियमयुक्त खानाको कमी, रक्तअल्पता, अस्वस्थ जीवनशैली, धेरै चिनी र नून हालेको पत्रु खाना, धेरै गुलियो पेयपदार्थहरूले हाडको मात्र होइन सम्पूर्ण शरीरको स्वास्थ्य खराब गर्छन् । त्यसैले चाउचाउ, चिजबलजस्ता तयारी खाद्यपदार्थ तथा कोक, फ्यान्टाजस्ता पेयपदार्थले नोक्सान नै बढी गर्छन् भन्ने बुझ्नुपर्छ ।

गर्भवती र दूध ख्वाइरहेकी महिलालाई दिइने भोजनमा लौहतत्व र क्याल्सियम होस् भनेर चाकु, सख्खर आदिको प्रयोग गर्न सकिन्छ । खानामा भएको क्याल्सियम पेटमा गएर राम्रोसँग शोषण हुनु पनि जरुरी छ । त्यसको लागि खाना खाँदा मरिचको धूलो खानामा हालेर खानु उपयुक्त हुन्छ । मरिचमा रहेको ‘पिपेराइन’ नामक रसायनले शरीरमा खाएको भोजनबाट भिटामिन ‘ए’, ‘डी’ र ‘के’, को साथै म्यग्नेसियम र पोटासियम पनि शोषण गर्न मद्दत गर्छ । पिपेराइनको अनुपस्थितिमा यी वस्तुहरू राम्रोसँग शोषण नहुन सक्छन् । साथै पिपेराइन नामक तत्वमा संक्रमण कम गर्ने र शरीरका कोषहरूलाई चाँडो बूढो हुने प्रक्रियाबाट बचाउने गुण पनि हुन्छ

‘भोजनबाट मात्र तपाईंको शरीरमा क्याल्सियम प्राप्त हुन सक्दैन’ भन्ने भ्रमपूर्ण विज्ञापनले ‘क्याल्सियमको चक्की’ खाने सल्लाह दिन्छन् । तर स्वस्थ जीवनशैली, योगासन, व्यायाम, स्वस्थकर भोजन भयो भने क्याल्सियम चक्कीको जरुरत पर्दैन ।

हड्डीे अस्वस्थ भएर ‘फुसफुसे हाड’ हुने कारणहरूमध्ये अल्छीपन, कुपोषण, एकदम थोरै वा बढी मोटोपन, पत्रु खाना, खाएको खानाको राम्रोसँग पाचन नहुनु, अति तनाव वा चिन्ता, विभिन्न किसिमका संक्रमण पनि हुन् ।

पहिलेको तुलनामा स्वस्थकर खाना खाने शैली बदलिएको छ । अफिसमा र घरमा काम गर्दा शारीरिकरुपमा बढी चलायमान भइन्न । एकै ठाउँमा बसेर धेरै समय काम गर्ने, वातानुकूलित कोठामा बस्ने, घाममा नबस्ने आदि विभिन्न कारणले हाडको स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

यसले गर्दा सम्पूर्ण स्वास्थ्यमा नै नराम्रो असर पर्छ । विभिन्न जोर्नी, ढाड, कम्मर आदि दुख्नुको अर्थ हाडको स्वास्थ्य नराम्रो हुनु हो भन्ने बुझ्नुपर्छ ।